चीनको आर्थिक वृद्धि तीन दशककै कम

तस्बिर स्रोत, Getty Images
चीनको अर्थतन्त्र गत वर्ष झण्डै तीन दशककै सबैभन्दा सुस्त गतिमा वृद्धि भएको छ।
सरकारी तथ्याङ्कका अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्रको वृद्धिदर सन् २०१९ मा अघिल्लो वर्षभन्दा ६.१ प्रतिशत थियो।
जुन विवरण २९ वर्ष यताकै सबैभन्दा कमजोर तथ्याङ्क हो।
कारण
अमेरिकासँग झेलेको तिक्ततापूर्ण व्यापार युद्धका कारण निम्तिएका असर र देशको कमजोर आन्तरिक मागसँग यस्तो वृद्धिदरलाई जोडेर हेरिएको छ।
सरकारले पछिल्ला दुई वर्षदेखि आर्थिक वृद्धि बढाउने उपायहरू खोजिरहेको छ।
पछिल्लो विवरण दुई वर्षदेखि अमेरिकासँग सुरु भएको व्यापारसम्बन्धी तनावका माझ आएको हो।
यद्यपि अमेरिकासँग पछिल्लो समय राम्रो सम्बन्ध स्थापित हुने आसाहरू देखिएका छन।
खासगरी उत्पादन वृद्धि र गोप्य व्यापारिक विवरणका विषयमा सुधार देखिएका छन्।
सुधार हुने सङ्केत
यसै साता वासिङ्टन र बेइजिङले व्यापार सम्झौताको 'पहिलो किस्ता'मा हस्ताक्षर गरेका थिए।
जस अन्तर्गत चीनले अमेरिकी आयातलाई सन् २०१७ को भन्दा दुई सय अर्ब अमेरिकी डलरले बढाउनुका साथै बौद्धिक सम्पत्तिसम्बन्धी आफ्ना नियमहरू कडा बनाउने बाचा गरेको छ।

तस्बिर स्रोत, Getty Images
जसको बदलामा अमेरिकाले उसले चिनियाँ सामानमा लगाएका केही नयाँ करहरू कटौती गर्नेछ।
तर विश्लेषकहरू ती सुधारहरू जारी रहनेमा ढुक्क देखिँदैनन्।
कम वृद्धिदरलाई सम्बोधन गर्ने गरी बेइजिङले थप उपायहरू अवलम्बन गर्ने अपेक्षा गरिएको छ।
प्रयास
उसले करको दर घटाउने र स्थानीय सरकारहरूलाई पूर्वाधार कार्यक्रमका लागि ठूला बन्डहरू जारी गर्ने अनुमति दिएको छ।
देशका ब्याङ्कहरूलाई खासगरी साना उद्योगहरूलाई थप ऋण दिन प्रोत्साहन गरिएको छ।
गत वर्ष जारी भएका नयाँ ऋण स्थानीय मुद्रामा अहिलेसम्मकै सबैभन्दा उच्च २.४४ खर्ब अमेरिकी डलर पुगेको थियो।
अर्थतन्त्रको गति सुस्त हुनुमा लगानीको वृद्धि अहिलेसम्मकै कम विन्दुमा पुग्नु मानिएको थियो।

तस्बिर स्रोत, Getty Images
ऐतिहासिक रूपमा अर्थतन्त्र विस्तारका लागि चीन निकै बलियो शक्तिका रूपमा हेरिन्थ्यो।
एक्काइशौँ शताब्दीको पहिलो दशकमा उसले दोहोरो अङ्कको वृद्धि देखेको थियो।
अहिलेको ६.१ प्रतिशतको वृद्धिदर चीनको तीन दशककै कमजोर भए पनि यो अन्य मुख्य अर्थतन्त्रभन्दा निकै बढि हो।
अमेरिकी केन्द्रीय ब्याङ्कले यो वर्ष आफ्नो देशको अर्थतन्त्र २.२ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ।




















