बलात्कार मुद्दामा जापानी पत्रकारलाई ३०,००० डलर क्षतिपूर्ति दिन अदालतको आदेश

तस्बिर स्रोत, Getty Images
जापानको एउटा अदालतले बलात्कारको आरोप लागेका एक प्रभावशाली टीभी संवाददातालाई आरोप लगाउने अर्की पत्रकारलाई ३०,००० डलर बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।
शिओरी इटोले सन् २०१५ मा आफू अचेत भएको बेला नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।
अभियोजनकर्ताले भने उक्त आरोपलाई फौजदारी मुद्दा बनाउनका लागि पर्याप्त प्रमाण नभएको बताएका थिए। त्यसैले इटोले देवानी मुद्दा हालेकी थिइन्।
जापानमा यौन हिंसाबारे कमैले उजुरी गर्छन्। आफ्नो बलात्कार भएको कुरा उठाएपछि इटो यौन दुर्व्यवहारविरुद्ध चलेको #MeToo अभियानको जापानमा प्रतीक बनेकी थिइन्।
"म एकदमै खुसी छु," ३० वर्षीया इटोले भनिन्। अदालतले फैसला सुनाएपछि उनले "जित" को सङ्केत रहेको सङ्केत बोकेकी थिइन्।
तर पत्रकार सम्मेलनमा आरोप लागेका पत्रकार यामागुचीले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने बताए।
उनले आफूविरुद्ध लागेको बलात्कारको आरोप भने फेरि पनि अस्वीकार गरे।

तस्बिर स्रोत, Getty Images
इटोका अनुसार ५३ वर्षीय यामागुचीले सन् २०१५ मा आफूलाई जागिरको अवसरबारे छलफल गर्नका लागि बेलुकीको खाना खान बोलाएका थिए। यामागुचीको प्रधानमन्त्री शिन्जो आबेसँग निकट सम्बन्ध रहेको मानिन्छ।
त्यति बेला आफूलाई लागुपदार्थ दिइएको हुन सक्ने आशङ्का व्यक्त गर्दै इटोले होसमा आउँदा आफू "होटलको कोठामा रहेको र आफूमाथि यामागुची भएको" बताएकी थिइन्।
उक्त बलात्कारको आरोप लाग्दा इटो रोएटर्स समाचारसंस्थामा प्रशिक्षार्थीका रूपमा काम गर्थिन्।
यामागुची त्यति बेला जापानको एउटा ठूलो सञ्चारगृह टोक्यो ब्रोडकास्टिङ सिस्टमका लागि वाशिङ्टनस्थित कार्यालयका प्रमुख थिए।

तस्बिर स्रोत, Reuters
अनुसन्धान सुरु भए पनि प्रहरीले प्रमाणहरू अपुग भएको भन्दै थप प्रक्रिया अघि बढाएको थिएन।
इटोले आफूलाई प्रहरीले पुरुष अधिकारीहरूले हेरिरहेका बेला बलात्कार कसरी भएको थियो त्यो पूर्ण कदको पुतलीसँग देखाउन दबाव दिएको थियो।
सन् २०१७ को सरकारी सर्वेक्षणले बलात्कारका जम्मा चार प्रतिशत पीडितले मात्रै आफूमाथि भएको अपराधको उजुरी हाल्ने गरेको देखाएको थियो।

शिओरी इटो: आफ्नै शब्दमा
मैले लगाएको आरोपमाथि अनुसन्धान गर्ने क्रममा मलाई बलात्कारको रात जुन होटलमा लगिएको थियो त्योसँगै जोडिएको प्रहरी केन्द्रमा बोलाइएको थियो।
मलाई ढाडस दिन मेरा सबैभन्दा मिल्ने साथी पनि सँगै थिए। त्यहाँ मलाई माथिल्लो तल्लामा भएको जिम गर्ने ठाउँमा लगियो।
त्यहाँ के हुन सक्छ भन्नेबारे मैले सुनेकी थिएँ। त्यसैले मसँग मेरा साथी पनि आउन सक्छन् कि भनेर सोधेकी थिएँ।
तर प्रहरीले मानेन। मलाई जिम गर्ने ठाउँमा लगियो र म्याटमा पल्टिन भनियो। पूर्ण कदको एउटा खेलौना ल्याएर तीन प्रहरी अधिकारीले त्यसलाई ममाथि राखिदिए।
त्यस रात खास के भएको थियो भनेर उनीहरूले मलाई अन्तरङ्ग प्रश्न सोधे र तस्बिर खिचे।
अनुसन्धानका लागि त्यसो गर्न आवश्यक हुने मलाई बताइयो।
त्यही बेला मलाई आफू उजुरीकर्ताबाट पत्रकारका रूपमा परिवर्तन हुनुपर्छ भन्ने लाग्यो।
मैले यसलाई निरन्तरता दिन सक्नुको एउटै उपाय भनेको आफ्ना भावनालाई पूर्णत: पृथक् राख्नु थियो। मैले त्यसलाई कुनै समाचार खोजीका लागि काम गरिरहेकी छु भनेर लिनुपर्यो - म एक पत्रकारका रूपमा सत्यको खोजी गरिरहेकी थिएँ।
म अझै पनि त्यसरी नै सोच्न खोज्छु।

यामागुचीविरुद्ध इटोले क्षतिपूर्तिस्वरूप एक लाख डलरभन्दा बढी माग गर्दै देवानी मुद्दा हालिन्।
यामागुचीले भने सहमतिमै आफूहरूबीच सम्बन्ध भएको भन्दै उल्टै क्षतिपूर्ति आफूले पाउनुपर्ने दाबी गरे।
उनले ११ लाख डलरभन्दा बढी क्षतिपूर्ति रकमको माग गरेका थिए। तर त्यस्तो माग अदालतले अस्वीकार गरिदियो।
अब अदालतको फैसलापछि यामागुचीले इटोलाई ३० हजार डलर तिर्नुपर्नेछ। तर उनीविरुद्ध कुनै फौजदारी मुद्दा भने बाँकी छैन।
बलात्कारसम्बन्धी जापानको कानुनमा अभियोजनकर्ताहरूले हिंसा वा धम्की दिइएको पुष्टि गर्नुपर्छ वा पीडितले आफू प्रतिरोध गर्न नसक्ने स्थितिमा भएको पुष्टि गर्नुपर्छ।




















