'#मीटू'मा सक्रिय नायिकालाई यौनदुर्व्यवहारको आरोप

तस्बिर स्रोत, AFP
यौनदुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित #मीटू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौनदुर्व्यवहारको आरोप लागेको बताइएको छ।
गतवर्ष वरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौनदुर्व्यवहारको आरोप लगाउने अग्रपङ्क्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि थिइन्।
'न्यू योर्क टाइम्स'का अनुसार केही कानुनी कागजपत्रमा नायिका अर्जेन्टोले आफ्ना एक पूर्वसहकर्मीलाई तीन लाख ८० हजार अमेरिकी डलर तिरेको देखिएको छ। बीबीसीले भने ती कागजपत्र हेरेको छैन।
कलाकार जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एउटा कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन् २०१३ मा यौनदुर्व्यवहार गरेको आरोप लगाएका थिए।
अस्वीकार
नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
घटना हुँदा जिम्मी बेनेट १७ वर्षका मात्रै थिए। क्यालिफोर्नियामा आपसी सहमतिमा यौनसम्बन्ध राख्न पाइने उमेर १८ वर्ष तोकिएको छ।
त्यतिबेला अर्जेन्टोको उमेर ३७ वर्ष हाराहारी भएको बताइन्छ।
न्यू योर्क टाइम्समा विविरणका अनुसार ती कानुनी कागजपत्रमा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवम् काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्।
उनले सन् २००४ मा निर्मित एउटा चलचित्रमा अर्जेन्टोको छोराको भूमिकामा अभिनय गरेका थिए।
सहयोग
न्यू योर्क टाइम्सका अनुसार ती कागजपत्रमा अर्जेन्टोका वकिलले बेनेटलाई सहयोगस्वरूप त्यो रकम उपलब्ध गराइएको एवम् नायिका अर्जेन्टो आफै पीडति भएको दाबी गरेका छन्।
भ्यानिटी फेयरमा प्रकाशित एउटा विज्ञप्तिमा बेनेटका वकिलले बेनेटले तत्काल प्रतिक्रिया नदिने तर "आगामी २४ घण्टा वा त्योभन्दा बढी समय लिएर केही प्रतिक्रिया दिने" बताएका छन्।
हार्भी वाइन्स्टिनका वकिलले पछिल्लो घटनाक्रमले "आजिया अर्जेन्टोको आश्चर्यजनक आडम्बर" उजागर भएको टिप्पणी गरेका छन्।





















