ट्रम्प महाभियोग: अमेरिकी सदनमा ऐतिहासिक मतदान हुँदै

तस्बिर स्रोत, Getty Images
अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रिपब्लिकन र डेमोक्र्याटहरू राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा भइरहेको बहसमा चर्को रुपमा विभाजित देखिएका छन्।
तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुने ठानिएको छ।
रिपब्लिकन तर्फबाट राष्ट्रपति रहेका ट्रम्पविरुद्धको दुईवटा अभियोगहरू स्वीकृत गर्ने तयारीमा डेमोक्र्याटिक सांसदहरू छन्।
राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ।
सम्भावना
तर माथिल्लो सदनमा उनकै पार्टीका सदस्यहरूको बाहुल्य रहेकोले उनी पदबाट हट्ने सम्भावना भने देखिँदैन।
राष्ट्रपतिले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई उनकै शब्दमा 'कु'को प्रयास भनेका छन्।
तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।
त्यसमा ट्रम्पले आफूलाई १७औं शताब्दीका जादुटुना गर्नेलाई भन्दा पनि नराम्रो व्यवहार गरिएको बताएका थिए।
यसैबीच, विदेशमन्त्री माइक पोम्पेओले सिनेटमा हुने सुनुवाइमा 'यदि कानुनले चाहेमा र उपयुक्त भए' आफू ट्रम्पविरुद्धको महाभियोगसम्बन्धी विषयमा बयान दिन तयार रहेको पत्रकारहरूलाई बताएका छन्।
मतदान
स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।
उनीहरूले त्यसपछि महाभियोगका दुवै आरोपमा मतदान गर्ने ठानिएको छ।
आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्याउनु दु:खदायी भएको बताइन्।
उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन्।

तस्बिर स्रोत, Erik McGregor/LightRocket via Getty Images
उनले भनिन्: "राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।"
तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरे।
जर्जियाका सांसद डोग कोलिन्सले ट्रम्पले केही खराब नगरेको भन्दै अर्को चुनावमा ट्रम्पको सामना गर्न डराएर डेमोक्र्याटहरूले महाभियोग लगाउन चाहेको बताए।





















