डोनल्ड ट्रम्प: महाभियोगसम्बन्धी बहस तल्लो सदनमा जारी

ट्रम्प

तस्बिर स्रोत, EPA

Published

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुखले राष्ट्रपति डोनल्ड ट्रम्प प्रजातन्त्र र राष्ट्रिय सुरक्षाका लागि खतरनाक भएका कार‌ण उनलाई महाभियोग लगाउनुको अर्को विकल्प नभएको बताएकी छन्।

महाभियोगबारेको बहसको सुरुमा बोल्दै न्यान्सी पेलोसीले त्यस्तो बताएकी हुन्।

सदनका डेमोक्र्याट सदस्यको बहुमतले ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गर्न सक्नेछ तर यसपछि माथिल्लो सदनमा पनि यसबारे सुनुवाइ हुनेछ जहाँ ट्रम्पका समर्थकहरूको नियन्त्रण छ।

बहसपछि मतदान हुनेछ। तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बन्नेछन्।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग उनले गरेको कुराकानीबारे संसद्‍ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ।

डेमोक्र्याटहरूले अघि बढाएको उक्त प्रस्तावलाई रोक्ने रिपब्लिकनहरूको प्रस्ताव तल्लो सदनले अस्वीकार गरेको थियो।

अहिले सांसदहरूले उक्त प्रस्तावबारे आआफ्ना धारणा राखिरहेका छन्। तल्लो सदनमा प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या विपक्षीसँग छ।

ट्रम्प जोगिने सम्भावना

अमेरिकामा महाभियोगको पक्षमा प्रदर्शनहरू भएका छन्।

तल्लो सदनबाट प्रस्ताव पारित भएपछि त्यो माथिल्लो सदन सिनेटमा जानेछ, त्यहाँ आगामी ज्यानुअरी महिनामा सुनुवाइ हुनेछ।

तर त्यहाँबाट प्रस्ताव पारित हुन दुई तिहाइ बहुमतको खाँचो पर्छ, जुन विपक्षीहरूसँग छैन। त्यसैले ट्रम्पविरुद्धको महाभियोग प्रमाणित नहुने ठानिन्छ।

प्रदर्शनकारी

तस्बिर स्रोत, Erik McGregor/LightRocket via Getty Images

तस्बिरको क्याप्शन, महाभियोगको पक्षमा संसद् भवनबाहिर र विभिन्न सहरमा प्रदर्शनहरू भएका छन्

विगतमा दुईजना राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको थियो। तर कोही पनि महाभियोगबाट हटाइएका छैनन्।

अस्वीकार

राष्ट्रपतिलाई तल्लो सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रूपमा बोलाएका थिए।

उनी उक्त प्रक्रियामा सहभागी भएका भए आफ्ना कानूनी समूहले साक्षीसँग प्रश्न गर्न पाउने अनुमति पनि पाउँथे।

बेलुन

तस्बिर स्रोत, ROBYN BECK/AFP via Getty Images

तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए।

राष्ट्रपति बराक ओबामा भएका बेला उपराष्ट्रपति रहेका जो बाइडन र उनका छोराविरुद्ध भ्रष्ट्राचारसम्बन्धी छानबिन गर्न दबाव दिएको आरोप ट्रम्पमाथि छ।

बाइडन युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा पनि रहेका बेला छोरा हन्टर बाइडन युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए।

अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमक्र्याटिक उम्मेदवारका प्रबल दाबेदार हुन्।