अल्बेनिया भूकम्प: मानवीय क्षति हुनेगरी भवन भत्किएपछि कैयौँ पक्राउ, हत्यासहितका अन्य आरोप

अल्बेनिया भूकम्प

तस्बिर स्रोत, EPA

Published

अल्बेनियाको प्रहरीले गत महिना त्यहाँ आएको भूकम्पमा परी मानिसहरूको मृत्यु भएका कारण नौ जनालाई हत्या तथा शक्ति दुरुपयोगको आरोपमा पक्राउ गरेको छ।

अभियोजनकर्ताहरूले १७ जना भवन निर्माणकर्ता, इन्जिनियर तथा अधिकारीहरूलाई सुरक्षा संहिता उल्लङ्घनको शङ्कामा पक्राउपुर्जी जारी गरिसकेको छ।

तर तीमध्ये आठ जना भूकम्पपश्चात् देश छाडेर भागेको हुनसक्ने भन्दै तिनको खोजी जारी राखिएको छ।

अवैध निर्माण निसानामा

रिक्टर स्केलमा ६.४ म्याग्निट्यूडको उक्त भूकम्पका कारण ५१ जनाको ज्यान गएको थियो।

पक्राउ परेकाहरूमध्ये दुई व्यक्ति तटीय नगर डुअरेसस्थित होटलका मालिक हुन्। उक्त दुवै होटल भूकम्पमा भत्किएका थिए।

दुवै होटलको निर्माण अवैध ढङ्गले गरिएको थियो। एउटाको निर्माण त पछि मिलेमतोमा वैध गराइएको थियो।

सन् १९९० मा कम्युनिस्ट शासनको अन्त्य भएपछि अल्बेनियामा अवैध निर्माणको सङ्ख्या बढेको बताइन्छ।

अल्बेनिया भूकम्प

तस्बिर स्रोत, EPA

गत महिनाको भूकम्प सो देशमा दशकौँ यताको सबभन्दा शक्तिशाली थियो।

नोभेम्बर २६ को सबेरै उक्त भूकम्प आउँदा अधिकांश मानिस सुतिरहेका थिए।

भूकम्पले १४ हजार मानिस घरबारविहीन भएका छन्।

सन् १९९० को दशकको सुरुतिर कम्युनिस्ट शासन ढलेपछि कैयौँ मानिसहरू सहरतर्फ बसाइँ सरे।

सहरहरूमा सरकारको सुपरीवेक्षणविना नै निर्माणकार्य हुन थाल्यो। कतिपय त्यस्ता भवनहरू पछि वैध बनाइएका थिए।

बल्कन क्षेत्रमा भूकम्पीय सक्रियता रहँदै आएको छ।

सो क्षेत्र यूरेशियन तथा अफ्रिकन टेक्टोनिक प्लेटको 'फल्ट लाइन' मा पर्ने हुनाले भूकम्प आउँछन्।

अल्बेनिया चाहिँ अलि सानो एडियाट्रिक टेक्टोनिक प्लेटमाथि पर्छ।