दिल्लीमा आगलागी: ४३ जनाको मृत्यु

उद्धारकर्ताहरू

तस्बिर स्रोत, ANI VIA REUTERS TV

तस्बिरको क्याप्शन, आगो लागेको भवनसम्म पुग्ने बाटो साँघुरो भएकाले घाइतेलाई एक-एक गर्दै बोकेर बाहिर निकाल्नु परेको थियो
Published

भारतीय राजधानी दिल्लीस्थित एउटा भवनमा आगो लाग्दा ज्यान गुमाउनेहरूको सङ्ख्या ४३ पुगेको अधिकारीहरूले जनाएका छन्।

दिल्ली दमकल विभागका प्रमुख अतुल गर्गले ६३ जनालाई घटनास्थलबाट निकालिएको र ती मध्ये ४३ जनाको मृत्यु भएको जानकारी दिए।

लोक नायक अस्पतालकी डा. रितु सक्सेनाले बीबीसीलाई बताए अनुसार कैयौँ घाइतेहरूको उपचार भइरहेको छ।

घटनास्थल पुगेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मृतकका परिवारलाई राहत स्वरुप १०-१० लाख भारु दिने घोषणा गरेका छन्।

घाइतेहरूको उपचार गरिने र उनीहरूलाई पनि एक-एक लाख राहत रकम दिने उनको भनाइ छ।

घटनास्थल

तस्बिर स्रोत, Reuters

दिल्लीको पुरानो बजार क्षेत्रमा रहेको छ तल्ले भवनमा बिहान सबेरै आगो लागेको हो।

कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

आगो नियन्त्रणमा

प्रमुख गर्गका अनुसार उद्धार कार्य जारी छ। उनले भने, "साँघुरो गल्ली भएकाले दमकल र एम्बुलेन्स भित्र जान सकिरहेका छैनन्। त्यसैले उद्धारकर्ताहरूले घाइतेलाई बोकेर बाहिर ल्याइरहेका छन्।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, अबकाइकमा संसारकै सबैभन्दा ठूलो तेल प्रशोधनशाला रहेको छ

घटनास्थलमा परिचालित एक अधिकारीले आगो नियन्त्रणमा लिइएको जानकारी दिएका छन्।

आगो लागेको बहुतल्ले भवनभित्र दर्जनौँ सङ्ख्यामा कामदारहरू सुतिरहेका थिए।

उद्धारकर्ताहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आगलागीको कारण अझै खुलेको छैन

उक्त भवनमा प्लास्टिकका खेलौना बनाउने गरिएको बताइएको छ।

ज्यान गुमाउनेहरूमा धेरैजसो १५ देखि २० वर्षका रहेको नाम खुलाउन नचाहने एक प्रहरी अधिकारीले बीबीसीलाई बताए।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले दुख व्यक्त गरेका छन्।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।