भारतमा शल्यक्रिया गरेर झिकियो झण्डै साढे सात किलोको मिर्गौला

मिर्गौला

तस्बिर स्रोत, Getty Images

Published

भारतीय चिकित्सकहरूले एकजना बिरामीको शरीरबाट ७.४ किलोग्राम बराबरको एउटा मिर्गौला निकालेका छन्।

त्यो भनेको दुईजना स्वस्थ नवजात शिशुको तौल बराबर हो।

भारतमा बिरामीको शरीरबाट निकालिएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो मिर्गौला भएको ठानिएको छ।

सामान्यतया एउटा स्वस्थ मानिसको मिर्गौलाको तौल १२० देखि १५० ग्राम जति हुन्छ।

अवस्था

ती बिरामी 'अटोसमल डोमिनेन्ट पोलिसिस्टिक किड्नी डिजीज' भनिने रोगबाट पीडित थिए जुन रोगका कारण शरीरभरि 'सिस्ट' उत्पन्न हुने गर्छ।

शल्यक्रियामा संलग्न एकजना चिकित्सकका अनुसार यो रोग लागेका बिरामीहरूको मिर्गौला ठूलो हुनु सामान्यजस्तै हो।

यद्यपि दिल्लीस्थित सर गङ्गाराम अस्पतालका डा. सचिन कथुरिआले बताए अनुसार सङ्क्रमण र आन्तरिक रक्तस्रावको लक्षण नदेखिएसम्म र शरीरभित्र केही हदसम्म छान्ने काम गरिरहेको अवस्थामा बिरामीको शरीरबाट मिर्गौला झिकिँदैन।

मिर्गौला

तस्बिर स्रोत, CRICK INSTITUTE

"यी बिरामीमा एउटा नराम्रो सङ्क्रमण देखिएको थियो जसका कारण एन्टिबायोटिकले काम गरिरहेको थिएन र मिर्गौलाको आकारले उनलाई सास फेर्न गाह्रो भइरहेको थियो। अतः त्यसलाई झिक्नुको विकल्प हामीसँग भएन," उनले भने।

डा. कथुरिआका अनुसार चिकित्सकहरूले ठूलै मिर्गौला हुन सक्ने अनुमान गरेका थिए, तर त्यसको आकारले उनीहरूलाई झन् चकित बनायो।

कीर्तिमान

बीबीसीलाई उनले भने, "मिर्गौला त हामीले अनुमान गरेकोभन्दा पनि ठूलो रहेछ।"

उनका अनुसार गिनिज वर्ल्ड रेकर्डमा अहिलेसम्म सबैभन्दा ठूलो मिर्गौला साढे ४ किलोको दर्ता भएको छ।

यद्यपि मूत्र रोगसम्बन्धी जर्नलका अनुसार त्योभन्दा ठूलो आकारका मिर्गौला पनि पाइएका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, मानव अङ्ग बोक्ने ड्रोन

यसअघि संयुक्त राज्य अमेरिकामा एउटा नौ किलोको पाइएको थियो भने द नेदरल्याण्ड्समा ८.७ किलोको पाइएको थियो।

गिनिज वर्ल्ड रेकर्डमा दर्ताका लागि जाने अथवा नजाने भन्ने विषयमा आफूहरूले विचार गरिरहेको डा. कथुरिआले बताए।

एनएचएस वेबसाइटका अनुसार पोलिसिस्टिक किड्नी डिजीज वंशाणुगत रोग हो जुन ३० देखि ६० वर्षको उमेरमा मानिसहरूमा देखिन्छ।