सर्पले डसेर विद्यार्थीको मृत्यु भएपछि प्रधानाध्यापकसहित तीन जना निलम्बित

भारत

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, दश वर्षीया बालिकाको मृत्यु भएपछि अन्य विद्यार्थीहरू आन्दोलित भएका छन्
Published

भारतमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन्।

शेहला शेरिनका सहपाठी तथा परिवारका सदस्यहरूले उक्त घटनामा विद्यालयले लापरबाही गरेको र समयमै उनलाई अस्पताल नलगेको आरोप लगाएका छन्।

उक्त घटनाले केरला राज्यमा आक्रोश उत्पन्न भएको छ। स्थानीय अधिकारीहरूले उक्त विद्यालयका उपप्रधानाध्यापकलाई पनि निलम्बन गरिदिएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीय समयानुसार दिउँसो तीन बजे शेरिनले आफूलाई सर्पले डसेको बताएकी थिइन्। प्राप्त विवरणअनुसार सर्प कङ्क्रिटको भुइँमा एउटा दुलोमा बसेको थियो।

उनका सहपाठीहरूका अनुसार शेरिनले सर्पले डसेको एक शिक्षकलाई बताएको भए पनि उनले उपचार गराउने विषयमा वास्तै गरेनन्।

ती शिक्षक पनि निलम्बनमा परेका छन्।

एक घण्टापछि श‍ेरिनका पिताले उनलाई विद्यालयबाट लिएर गए। त्यस बेलासम्म उनलाई अस्पताल लगिएको थिएन।

उनका अभिभावकका अनुसार सर्पदंशको उपचार गर्ने औषधि तीन ठाउँमा नपाइएपछि चौथो स्थानमा जाँदै गर्दा शेरिनको बाटामै मृत्यु भयो।

सर्प

तस्बिर स्रोत, Getty Images

यस घटनाले केरलामा विद्यालयको स्थितिलाई लिएर गुनासो तथा विरोध गर्ने क्रम बढेको छ।

सरकारी अधिकारीहरूले स्थानीय विद्यालयको सरसफाइ तथा निरीक्षण गर्न निर्देशन दिएका छन्।

केरलाको मानव अधिकार आयोगका साथै विभिन्न निकायले उक्त घटनाको जाँच गरिरहेका छन्।

घटना भएको वायनाड जिल्लाका सांसद राहुल गान्धीले राज्यका मुख्यमन्त्रीलाई चिठी लेखेका छन्।

त्यसमा उनले विद्यालयहरूको 'जीर्ण पूर्वाधारबारे' ध्यानाकर्षण गराउनुका साथै पीडितका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन्।