फ्री डाइभिङको विश्व कीर्तिमान बनाउने क्रममा झन्डै ज्यान गुमाएका हेर्बेर्ट निच को हुन्

हेर्बेर्ट निच

तस्बिर स्रोत, herbertnitsch.com

तस्बिरको क्याप्शन, हेर्बेर्ट निचले सानैदेखि डाइभिङ गर्न थालेका थिए
Published

"मानिसहरूले मलाई सोध्ने गर्छन्: 'के तपाईँ डाइभिङबिनाको जीवन कल्पना गर्न सक्नुहुन्छ?' म उनीहरूलाई भन्ने गर्छु: 'तपाईँ खानाबिनाको जीवन कल्पना गर्न सक्नुहुन्छ?"

भूपरिवेष्टित अर्थात् समुद्रले कतैबाट पनि नछोएको नेपालजस्तै देश अस्ट्रियामा जन्मिएका हेर्बेर्ट निच माछाजस्तै पानीतिर आकर्षित भए।

अहिले उनी कीर्तिमानधारी फ्री डाइभर हुन् जो सास फेर्ने कुनै पनि उपकरणको सहायताबिनै पानीको गहिराइमा झर्ने गर्छन्। अर्थात् गोता लगाउने गर्छन्।

उनी नौ मिनेटसम्म आफ्नो सास रोक्न सक्छन्। उनले २५३ मिटरको गहिराइसम्म डाइभ गरेका छन्।

सीमाहीन

निचले 'नो लिमिट्स्' अर्थात् सीमाहीन भनिने डाइभिङबारे बीबीसीसँग कुरा गरेका हुन्।

यस्तो डाइभिङमा डाइभर कुनै गह्रौँ वस्तुको सहायताले पानीको गहिराइमा झर्ने गर्छ र उत्रिन सहयोग गर्ने उपकरणको सहायताले माथि आउने गर्छ।

हेर्बेर्ट निच

तस्बिर स्रोत, herbertnitsch.com

तस्बिरको क्याप्शन, हेर्बेर्ट निचले विश्व कीर्तिमान बनाउने क्रममा झन्डै ज्यान गुमाएका थिए

डाइभिङ खेलाडीहरूले नै अतिजोखिमपूर्ण मानेको यस्तो फ्री डाइभिङको क्रममा कयौँ व्यक्तिको ज्यान पनि गएको छ।

यो शारीरिक क्षमता र साहसको ठूलो परीक्षा भएपनि यो चुनौतीको सामना गर्ने क्रममा निच रमाउने गरेका छन्। यसको लागि उनले वर्षौँदेखि तालिम पनि लिएका छन्।

उनले आफ्नो फोक्सोको क्षमताको विकास गरेका छन्। उनले फोक्सोको क्षमतालाई १४ लिटरसम्मको बनाएको बताइन्छ। सामान्य मानिसको फोक्सोको क्षमता छ लिटरसम्म मात्र हुन्छ।

सन् २००७ को जुनमा निचले २१४ मिटरको गहिराइमा पुगेर विश्व कीर्तिमान बनाए।

सन् २०१२ मा उनी अझै गहिराइमा गए। ग्रीसको सान्टोरिनी क्षेत्रमा उनी २५३ मिटरको गहिराइमा पुगे। त्यो भनेको ७० तले अग्लो भवनको उचाइ बराबर हो।

त्यस क्रममा उनी मृत्युको मुखबाट बच्न सफल भएका थिए।

धेरै गहिराइसम्म

त्यो क्षणको स्मरण गर्दै उनले बीबीसीसँग भने, "मैले मेरो आँखा बन्द नै राखेँ र वरपरको केहीलाई पनि वास्ता गरिन। बाहिरी संसार नभए झैँ गरिरहेँ।"

पन्ध्र मिटर तल पुगेपछि उनले सबै सासलाई एक्वेक्स् अर्थात् इक्वेलाइजेशन एक्स्टेन्शन टुल भनिने ठूलो कोकको बोतलजस्ता ट्यूबयुक्त बोतलभित्र फुके। त्यो बोतलको पीँधमा केही साना छिद्रहरू हुन्छन्।

हेर्बेर्ट निच आफ्नो डुङ्गामा आराम गर्दै

तस्बिर स्रोत, herbertnitsch.com and Phil Simha

तस्बिरको क्याप्शन, हेर्बेर्ट निचले फोक्सोमा सास जम्मा गर्ने आफ्नै विधिको विकास गरेका छन्

गहिराइमा डुबुल्की लगाउने क्रममा आफ्नो शरीरको चाप व्यवस्थान गर्नका लागि उनले यो भाँडो बनाएका हुन्। त्यसरी चाप व्यवस्थापन नगरेको अवस्थामा कानको जाली फुट्ने जस्ता चोटपटक लाग्न सक्छन्।

"म अझै तल डुबुल्की लगाउँदै गएपछि म त्यो हावालाई बिस्तारैबिस्तारै लिन्छु। तर गहिराइमा पुगेपछि तपाईँले फोक्सोले हावा तान्न सक्नुहुन्न। तपाईँ त्यो बराबरको सास फ्याल्न पनि सक्नुहुन्न। तर जब म ती बोतलभित्र हावा फ्याँक्छु म गहिराइमा पनि हावा पाउँछु। मेरो सबै हावा एक्वेक्स्‌भित्र फ्याँक्न करिब आधा मिनेट लाग्छ। त्यसपछि फोक्सो खाली गरेर म अझै गहिराइमा जान सक्छु।"

पानीभित्र २५० मिटरको गहिराइमा मानिसले शरीरले तीव्र चाप सहनुपर्छ। फोक्सो सानो भएर कागतीजत्रो बन्न पुग्छ र हात र खुट्टाबाट रगत छातीतिर आउन थाल्छ।

तथापि हेर्बेर्ट निच आफ्नै कीर्तीमान भङ्ग गर्दै २५३ मिटरको गहिराइमा पुगे।

तर उनी माथि सतहमा फर्किने बेलामा समस्या उत्पन्न भयो। फर्किने बेलामा उनी नाइट्रोजन नार्कोसिस भनिने अवस्थाका कारण अचेत हुन पुगे।

नाइट्रोजन नार्कोसिसलाई यदाकदा 'मार्टिनी असर' पनि भनिन्छ। डाइभर जति गहिराइमा पुग्छ ऊ त्यत्ति नै रोमाञ्चक महसुस गर्छ।

अनुभूति

"तपाईँले अक्सिजन सिलिन्डर बोकेर स्कूबा डाइभ गर्दा वा बिना कुनै उपकरण फ्री डाइभ गरेर धेरै गहिराइमा पुग्दा तपाईँलाई नाइट्रोजन नार्कोसिस हुन्छ। तपाईँ पुलकित हुनुहुन्छ। जति गहिराइमा पुग्नु हुन्छ त्यति पुलकित महसुस गर्नु हुन्छ। करिब ८० मिटरको गहिराइमा म आन्दन्दित र पुलकित हुन पुगेँ र मलाई निद्रा लागेछ।"

हेर्बेर्ट निच आफ्नो डुङ्गामा

तस्बिर स्रोत, herbertnitsch.com

तस्बिरको क्याप्शन, हेर्बेर्ट निच अहिले लगभग पूरै निको भइसकेका छन्

"करिब २६ मिटरको गहिराइमा मलाई डाइभरहरूले फेला पारे।"

निचलाई हावा नपुगेर अचेत भएको ठानेर सुरक्षाटोलीले उनलाई गहिराइमा एक मिनेटसम्म चाप कम गर्न रोक्नुको सट्टा जतिसक्दो चाँडो बाहिर ल्याए।

सतहमा आइपुगेपछि निद्राबाट ब्युँझिएका निचलाई अब के गर्ने भन्ने थाहा थियो।

डिकम्प्रेशन अर्थात् चाप कम गर्नु

"मैलै अक्सिजन र मास्क मागे र फेरि चाप घटाउनका लागि पानीमुनि गएँ।"

निकै गहिराइमा पुगेका डाइभरहरू छिटोछिटो माथि आए भने उनीहरूमा डिकम्प्रेशन सिकनेस भन्ने स्वास्थ्य समस्या देखिन्छ। यदि कुनै डाइभर छिटोछिटो माथि आए भने उनको रगतमा नाइट्रोजनका फोकाहरू उत्पन्न हुन थाल्छन्।

जोर्नी दुख्नु त्यसको सामान्य लक्षण हो त्यस्तो भएपछि पीडित निहुरिन र खोच्याउन थाल्छन्। त्यसको उपचार गरिएन भने त्यसले बिरामीको ज्यानै लिन सक्छ।

"मेरो शरीरमा छोएको थाहा नहुने भइरहेको थियो र मलाई रिँगटा लागिरहेको थियो।"

उनी २५ मिनेटसम्म पानीमुनि बसेर चाप कम गर्न खोज्दा पनि धेरै फाइदा भएन। त्यसपछि उनले आफ्नो टोलीका साथीहरूलाई सुरक्षा निर्देशनअनुसार काम गर्न सुझाव दिए।

वर्षौँको अभ्यास र सुरक्षाका लागि तत्कालै खटिने डाइभरहरूका कारण उनी अहिलेसम्म सुरक्षित थिए। तैपनि उनी खतरामुक्त भइसकेका थिएनन्।

कोमा

त्यसपछि निचलाई हवाइ उद्धार गरेर एथेन्स ल्याइयो जहाँ पुग्नेबित्तिकै उनी कोमामा गए। उनको तत्कालै उपचार थालेका चिकित्सकहरूले उनको जीवन खतरामुक्त रहेको बताए।

अभ्यास गर्दै हेर्बेर्ट निच

तस्बिर स्रोत, herbertnitsch.com

तस्बिरको क्याप्शन, हेर्बेर्ट निचलाई सुरक्षा डाइभरहरूले बचाएका थिए

"मलाई के भइरहेको थियो भन्ने कुरा मैले थाहा पाइनँ। सात दिनसम्म म कोमामा रहेछु। सुरुमा मेरो अल्पकालीन र दीर्घकालीन स्मरण नै मेटिएछ। मैले मेरा राम्रा साथीहरूको नाम पनि सम्झिन सकिनँ।"

तर उनलाई गहिरो निद्राबाट जगाएका एक नजिकका साथीले उनको सम्झना शक्ति ठिक रहेको भन्दै उनलाई आश्वस्त तुल्याए।

"डिकम्प्रेशन सिक्नेसका कारण मलाई मस्तिष्काघातजस्तै भएछ। मलाई के भइरहेको थियो त्यो थाहै पाइरहेको थिइनँ। कस्तो भने सुतेर उठ्दा इतिहास बिर्से जस्तो भइरहेको थियो। वरिपरिको केही पनि थाहा भइरहेको थिएन।"

उनी हिँड्न पनि सकेनन् र बस्नको लागि सङ्घर्ष गर्नुपर्थ्यो। उनलाई ह्वीलचेयरमा राखियो। उनको बोली पनि लर्बराउन थाल्यो।

सन् २००४ मा १०४ मिटर गहिराइमा बेहोस भएका हेर्बेर्ट निच

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फ्री डाइभिङको क्रममा खेलाडीको ज्यानै जान पनि सक्छ। अर्कै एक अभ्यासको क्रममा बेहोस भएका हेर्बेर्ट निच

उनी पूरै ठिक हुने सम्भावना देखिएन।

चिकित्सकहरूले उनले अब कहिल्यै हिँड्न नसक्ने अवस्था पनि आउने सक्ने बताए। उनले फेरि फ्री डाइभिङ खेल्न थाल्ने त निकै परको कुरा भयो। उनले गर्न नसक्ने धेरै छ भनेर मानिसले भन्ने गर्थे। त्यो उनलाई नौलो लागेन।

परिस्थितिसँग लडाइँ

त्यसपछि हेर्बेर्ट सबै प्रतिकूलता खेप्न तयार भए। फिजिओथेरपी सुरु गरेपछि फेरि बलियो बन्न उनले पौडी खेल्न थाले। त्यसपछि आफ्ना पहिला पाइला आफैँ चाल्न उनी सक्षम हुन थाले।

प्रगति गर्दै गएपछि उनी जोसिन थाले। आफ्नै विश्वकीर्तिमान भङ्ग गर्ने क्रममा झन्डै ज्यान गुमाएको दुई वर्षपछि "पृथ्वीका सबैभन्दा गहिरो पुरुष" फेरि गहिराइमा गए।

अहिले उनी प्रतिस्पर्धात्मक डाइभिङमा भाग लिन सक्दैनन्। तर उनले "पृथ्वीका सबैभन्दा गहिरो पुरुष"को उपाधिसहित फ्री डाइभिङका ३३ वटा कीर्तिमान बनाएका छन्।

भूमध्य सागरमा एक फ्रान्सेली डाइभर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पानीमुनि जाँदा चाप कम भएर डाइभरहरू बिरामी पर्ने गर्छन्

आज सात वर्षपछि निच लगभग पूरै तन्दुरुस्त भइसकेका छन्। हलचल र शारीरिक समन्वय गर्न उनलाई थोरै कठिनाइ हुन्छ तैपनि उनी अझै डाइभ गरिरहन्छन्। किनभने उनी त्यो खेललाई प्रेम गर्छन्।

उनलाई डाइभ गर्दा उनलाई निकै स्वछन्द भएको अनुभूति हुन्छ।

"पानीमा सबै कुरा ठिक हुन्छ। पानीमा म बच्चा जस्तै भएको महसुस गर्छु।"