डा केसीले तोडे अनशन: "सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त"

चिकित्सा शिक्षा तथा सेवामा सुधारको माग गर्दै अघिल्लो सोमवारदेखि डडेलधुरामा अनशन बसिरहेका डा गोविन्द केसीले ९औं दिनमा अनशन तोडेका छन्।
भारतले जारी गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको कालापानी परेपछि विकसित घटनाक्रमबीच डा केसीले 'सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त' भएको बताउँदै अनशन तोडेका हुन्।
अनशन तोड्दै डा केसीले भने?
उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ: "सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षा मात्रै काफी चाहिँ छैन। आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विना भेदभाव र विना भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्छ।"
उनका एकजना सहयोगी डा तोसिमा कार्कीले बीबीसीलाई बताए अनुसार अहिले देश कालापानीको मुद्दामा केन्द्रीत भएको बेला डा गोविन्द केसीले हाललाई अनशन रोक्न उचित मानेका हुन्।
डा केसीलाई उद्धृत गर्दै तोसिमा कार्कीले भनिन्: "कालापानीको विषय पहिले सम्बोधन होस्। सरकारले निजी मेडिकल कलेजलाई उनीहरूले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न दिएको अल्टिमेटम अनुसार काम होस्।"
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत एउटा खुलापत्र लेखेका छन्। जसमा उनले सन् २००१ को गुजरातमा भूकम्प र सन् २०१३ को उत्तराखण्ड बाढीमा आफूले गरेको सहयोगको स्मरण गरेका छन्।
पत्रमा लेखिएको छ: "जुनसुकै देश र राष्ट्रियताको मानिस भएपनि उनीहरूको पीडा एकै किसिमको हुन्छ...अन्य देशले भारतको सीमा मिच्दा भारतीयलाई जस्तो पीडा हुन्छ कुनै पनि देशले नेपालको सीमा मिच्दा नेपालीलाई पनि त्यस्तै पीडा हुन्छ।"
स्वास्थ्य अवस्था
सात बुँदे माग राखेर डा केसी १७औं पटक अनशनमा बसेका थिए।
यसबिचमा स्वास्थ्य बिग्रिँदै गए पनि सरकारको उपचार प्रस्तावलाई भने उनले अस्वीकार गर्दै आएका थिए।
सोमवार उनलाई काठमाण्डू ल्याउन भनी सरकारले पठाएको हेलिकप्टर उनले नमानेपछि त्यत्तिकै फर्किएको थियो।
हाल उनको स्वास्थ्यस्थिति कमजोर रहेको भन्दै उनका सहयोगीहरूले उनलाई चाँडै सुविधासम्पन्न अस्पताल लगिनुपर्ने भनेका छन्।




















