करण केसी चम्किएका त्यो प्रणय दिवस र यो महानवमी

तस्बिर स्रोत, can
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
नेपालका अलराउण्डर क्रिकेट खेलाडी करण केसीले फेरि एक पटक हारको सँघारमा पुगेको अप्ठेरो परिस्थितिबाट नेपाललाई जित दिलाएका छन्।
ओमानमा सञ्चालन भइरहेको पाँच राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आइतवार केसीले नेदरल्याण्ड्ससँग लगभग पराजयतर्फ धकेलिसकेको नेपाली टोलीलाई हारको मुखबाट जोगाउँदै रोमाञ्चक जित दिलाएका हुन्।
अन्तिम ओभरमा १७ रन आवश्यक परेको बेला क्रिजमा जमेका उनले १ बल बाँकी छँदै लक्ष्य पूरा गरिदिएका हुन्।
उनले अविजित ३१ रन बनाए। र, प्रमाणित गरिदिए कि दबावका बीचमा जित निकाल्ने कुशल कला उनीसँग छ।
यो जितले केसी फेरि नेपाली राष्ट्रिय टोलीको मुख्य खेलाडीका रूपमा प्रमाणित भएको मात्र छैन, पछिल्ला खेलहरूमा एक रूपको प्रदर्शन गर्न नसक्दा उनीमाथि उठेका प्रश्नको जवाफ पनि दिएको छ।
यो जितले उनले एक वर्षअघि क्यानडाविरुद्ध दिलाएको ऐतिहासिक जितको झझल्को पनि दिलाएको छ। जुन खेलबाट नेपाली क्रिकेट जगत्मा केसी स्टार बनेका थिए।
रोमाञ्चक त्यो ओभर
नेदरल्याण्ड्सविरुद्धको केसीको इनिङको चर्चा गर्नुअगाडि एक वर्ष पहिला उनले नामिबियामा क्यानडाविरुद्ध खेलेको खेलको प्रसङ्ग केलाउनु प्रासङ्गिक हुन्छ।
गत वर्षको फेब्रअरीमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्धको उक्त खेल हारेको भए नेपाल रेलिगेशनमा पर्दै डिभिजन ३ मा घटुवा हुन्थ्यो भने जितले नेपालको एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउने ढोका खुल्थ्यो।
सो खेलमा क्यानडाले १ सय ९५ रनको लक्ष्य नेपाललाई दियो, तर १ सय ४४ रन बनाउँदा नेपालका नौजना खेलाडी आउट भएपछि नेपाल जितबाट निकै टाढा हुन गयो।

तस्बिर स्रोत, Icc
नेपालले जित्न ४८ बलमा ५१ रन बनाउनु पर्दथ्यो र एकजना मात्र खेलाडी बाँकी थिए।
जित असम्भव प्रायः बनेको त्यो विषम परिस्थितिमा मैदानमा प्रवेश गरेका करणले ३१ बलमा ४२ रन बनाएर नेपाललाई जिताए, जुन विश्व क्रिकेटमै कमै मात्र चकित पार्ने विजयमध्येको एकमा पर्छ।
सन्दीप लामिछानेसँग मिलेर उनले दशौँ विकेटमा आवश्यक ५१ रन जोडेर त्यो कमाल गरेका हुन्। अन्तिम ओभरसम्म क्रिजमा डटेका उनले त्यो बेला ४ छक्का र ३ चौका प्रहार गरेका हुन्।
जितपछि नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएको हो।
फेब्रुअरी १४ तारिख अर्थात् प्रणय दिवसको दिन त्यो जित दिलाएकाले उनको उपनाम भ्यालेन्टाइन्स ब्वाई बन्न पुगेको थियो।
कठिन परिस्थिति
आइतवार नेदरल्याण्ड्सविरुद्धको खेल त्यो भन्दा पनि कठिन स्थितिमा थियो।
नेपालीहरु दशैँको एउटा मुख्य दिन महानवमी मनाइरहँदा क्रिकेट खेलाडीहरू ओमानको अल अमेरट मैदानको टन्टलापुर घाममा खेलिरहेका थिए।
क्रिकेटप्रेमीहरूको ध्यान भने ओमानको मैदानतिर नै केन्द्रित देखिन्थ्यो।
नेदरल्याण्ड्सले १३३ रनको मध्यम स्कोर बनायो, तर ९३ रन बनाउँदा पाँच खेलाडी आउट भएपछि दबाव नेपाली टोलीमा थपिँदै गयो।
पारस खड्काले ३३ रनबाहेक अन्य खेलाडी नेदरल्याण्ड्सका बलरसामु खुलेर खेल्न सकिरहेका थिएनन्।
२२ बलमा ४० रन बनाउनुपर्ने त्यो बेला जमिरहेका विनोद भण्डारी (२६) पनि आउट भएपछि करणको काँधमा हार उन्मुख नतिजा उल्ट्याउने जिम्मा पर्यो।

तस्बिर स्रोत, can
परिस्थिति यस्तो बन्यो कि अन्तिम ओभरमा नेपालले १७ रन बनाउनुपर्ने भयो।
क्रिजमा करण केसी थिए भने बलिङको जिम्मा नेदरल्याण्ड्सका सेन स्नेटर उभिएका थिए ।
अनि २८ वर्षीय केसीले आफ्नो जादू देखाए। पहिलो बलमा छक्का, दोस्रो बल डट, तेस्रो बल चौका अनि चौथो बल छक्का प्रहार गरेपछि खेल 'टाई' भयो।
पाँचौ बलमा आरामदायी एक रन लिँदै उनी जितका लागि मैदानमा दौडिए। एक बल खेल्न बाँकी नै थियो।
प्रणय दिवसपछि उनको खेल महानवमीका खुलेको हो।
यसबीचका कतिपय खेलमा केसीले आफ्नो भूमिका राम्ररी निर्वाह गर्न सकेको देखिएको थिएन।
उनको खेलले शरद भेषावकरले सन् २०१३ को आईसीसी टी-२० विश्वकप छनोट क्रिकेटको पनि याद दिलाएको छ।
यूएईमा भएको उक्त छनोटमा अन्तिम ओभरमा १७ रन चाहिएकै बेला भेषावकरले लगातार तीन छक्का प्रहार गरेर खेल जिताएका थिए र नेपाल सन २०१४ को विश्वकपका लागि छानिएको थियो।
'हार्ड हिटर' खेलाडीको पहिचान बनाएका करण केसी नेपाली टोलीका अलराउण्डर हुन्।
उनले आइतवार ४ विकेट लिएर आफ्नो भूमिकालाई पूर्ण रूपमा न्याय दिएका हुन्।
पाँच राष्ट्र सम्मिलित टी-२० अन्तर्राष्ट्रिय शृङखलामा नेपालसहित हङकङ, नेदरल्याण्ड्स, ओमान र आयरल्याण्ड छन्।





















