कडा सुरक्षा र आक्रमणका घटनाबीच अफगानिस्तानमा मतदान सम्पन्न

तस्बिर स्रोत, AFP/Getty Images
अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिवार राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतदान सकिएको छ।
मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभरि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो।
मतदान केन्द्रहरूमा गरिएका बम र मोर्टार आक्रमणमा कम्तीमा एकजना मारिएका छन् भने २७ जना घाइते भएका छन्।
कान्दहारस्थित एउटा मतदान केन्द्रमा बम विस्फोटको घटना भए पनि मतदान गर्न महिलाहरू लामबद्ध देखिएका थिए।
नब्बे लाखभन्दा बढी मतदातामध्ये ३५ प्रतिशत महिला मतदाता रहेका छन्।
स्वतन्त्र निर्वाचन आयोगले तीन हप्ताभित्र मतदानको नतिजा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
तनाव
दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समय देखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि निर्वाचन भएको हो।
अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ गनी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन्। उनीहरू सन् २०१४ देखि सत्तामा छन्।
चार दशक लामो युद्धको मारमा परेको मुलुकलाई निर्वाचित हुने राष्ट्रपतिले नेतृत्व गर्नेछन्।
अन्तर्राष्ट्रिय समुदायले हस्तक्षेप गरेको दुई दशकदेखि अमेरिकाले तालिबानसँगको तनाव कम गर्ने प्रयत्न गरिरहेको छ।
हाल १४ हजार अमेरिकी सेना अफगानिस्तानमा तैनाथ छन्। ब्रिटेन, जर्मनी र इटली जस्ता मुलुकबाट समेत त्यहाँ हजारौँको सङ्ख्यामा सुरक्षा फौज तैनाथ गरिएको छ।
उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका सदस्य राष्ट्रहरूले अफगानिस्तानका सैन्य फौजलाई सल्लाह र सहायता दिँदै आएका छन्।

तस्बिर स्रोत, AFP
सन् २००१ मा अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएपछिपछिको यो चौथो निर्वाचन हो र निर्वाचित हुने उम्मेदवारले देशको इतिहामा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेछ।
तर तालिबानले हालसम्म सरकारलाई अवैधानिक भन्दै प्रत्यक्ष वार्ता गर्न मानेको छैन। अमेरिकासँग सहमति भएपछि मात्रै सरकारसँग वार्ता गर्ने तालिबान विद्रोही समूहले बताएको छ।
त्यस कारण पनि सत्ताको बागडोर कसको हातमा जान्छ भन्ने विषय अमेरिकाका लागि त्यति ठुलो चासोको विषय नहुन सक्छ।
तर सेना र तालिबान विद्रोहीबीचको सङ्घर्षको चपेटामा परेका सर्वसारधारणलाई भने यो महत्त्वपूर्ण विषय हो।
अन्य विषय
पाँच वर्षअघि सम्पन्न राष्ट्रपति पदको निर्वाचनमा मतको हेरफेर भएको आरोप लगाइएको थियो। निर्वाचनको नतिजा आउन महिनौँ लागेको थियो।
दुई प्रमुख दाबेदारबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति अमेरिकाको मध्यस्थतामा सम्पन्न भएको थियो। यसपालि पनि अवस्था फरक होला भन्ने आशा गरिएको छैन।
ट्रान्सपेरेन्ट इलेक्सन फाउन्डेसन अफ अफगानिस्तानले गरेको सर्वेक्षणका अनुसार सहभागीमध्ये आधा मानिसहरूले मत खसाल्न नजाने बताएका थिए।

तस्बिर स्रोत, Getty Images
पूर्वविद्रोही कमान्डरदेखि पूर्वगुप्तचर निकाएका अधिकारीहरू समेत १८ जना निर्वाचनमा होमिएका थिए।
त्यसमध्ये पाँचजना उक्त दौडबाट बाहिरिएका थिए। राष्ट्रपति पदका लागि महिलाहरू चुनावी दौडमा सामेल छैनन्।
अन्य पदमा पनि तीनजना महिलाले मात्र दाबेदारी प्रस्तुत गरेका छन्।




















