पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णको नेपाल भ्रमण रद्द

तस्बिर स्रोत, ACHARYA BALKRISHNA
गतहप्ता विषाक्त पेडा खाएपछि गम्भीर स्वास्थ्य समस्या देखिएको भन्दै अचानक अस्पताल भर्ना गरिएका पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले आउँदो बुधवारका लागि तय आफ्नो नेपाल भ्रमण रद्द गरेको उनी निकट एक अधिकारीले बताएका छन्।
आचार्य बालकृष्ण न्याशनल बिजनेश इनिसिएटिभ नेपाल नामक समूहले यसै हप्ता गर्न लागेको दिगो विकास लक्ष्य र व्यवसायसम्बन्धी दुई दिने एउटा सम्मेलनको प्रमुख वक्ता भएर नेपाल आउन लागेका थिए।
अहिले पनि चिकित्सकको निगरानीमा रहेकाले उनीहरूकै सुझावमा आगामी बिहीवार र शुक्रवार हुने कार्यक्रममा आचार्य बालकृष्ण सहभागी हुन नसक्ने नेपालस्थित पतञ्जलिका सञ्चालक शालिकराम सिंहले बीबीसीलाई बताए।
चिकित्सकहरूले "फुड प्वाइजनिङ"को आशङ्का गरेपनि पतञ्जलिले आचार्य बालकृष्णविरुद्ध षडयन्त्र भएको हुनसक्ने धारणा राख्दै आएको छ।
पूर्वनिर्धारित कार्यक्रम
आयुर्वेदसम्बन्धी विशेष जानकार आचार्य बालकृष्णलाई फोर्ब्स पत्रिकाले विश्वकै ३६५ औँ धनी व्यक्ति भनेको छ।
पतञ्जलिमा ९८ दशमलब ६ प्रतिशत शेयर रहेका भनिएका उनको कुल सम्पत्ति ४ दशमलब ८ अर्ब डलर रहेको आकलन गरिएको छ।
आफ्ना निकट मित्र भारतीय योगगुरु रामदेवसँग मिलेर आयुर्वेद र दैनिक उपभोग्य सामग्रीको उत्पादनलाई बालकृष्णले भारत र अन्तर्राष्ट्रिय स्तरमा बिस्तार गरिरहेका छन्।
नेपालमा पनि कारखाना नै खोलेर पतञ्जलिले ४० भन्दा बढी किसिमका सामग्रीहरूको उत्पादन गरिरहेको छ।
'रेस्पोनसिबल बिजनेश समिट' नामक उक्त दुई दिने सम्मेलनमा पतञ्जलि आयुर्वेदका अध्यक्ष र प्रबन्ध निर्देशकका रूपमा बालकृष्णले सम्बोधन गर्न लागेका थिए।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्ने भनिएको उक्त सम्मेलनमा नेपालका लागि राष्ट्रसंघकी आवसीय प्रतिनिधि र व्यापार क्षेत्रका अगुवाहरूले सहभागिता जनाउँदैछन्।

तस्बिर स्रोत, Acharya Balkrishna
स्वास्थ्य स्याहारका क्षेत्रमा राष्ट्रसंघको दिगो बिकास लक्ष्य अन्तर्गत विश्वका १० प्रभावशाली व्यक्तिका रूपमा चुनिएका आचार्य बालकृष्णले योग, आयुर्वेद र व्यापारमा आफ्नो योगदानका बारेमा उक्त सम्मेलनमा चर्चा गर्ने आयोजकहरूले बताएका थिए।
उनको स्वास्थ्य अहिले कस्तो छ?
तर पतञ्जलि नेपालका सञ्चालक सिंहले आफूले आयोजकहरूलाई स्वास्थ्यका कारण आचार्य बालकृष्ण आउननसक्ने जानकारी गराएको बताए।
उनले भने, "आचार्य बालकृष्ण अहिले पनि पूर्ण रूपमा सञ्चो भइसक्नुभएको छैन्। चिकित्सकहरूले उहाँलाई निगरानीमा राखिरहेका छन्। त्यही भएर यसपालीको कार्यक्रममा उहाँ आउनसक्ने अवस्था रहेन।"
आचार्य बालकृष्णलाई विषाक्त पेडा दिइनु षडयन्त्र भएको हुनसक्ने धारणा राखेका सिंहले अहिलेको भ्रमण रद्द हुनुमा सुरक्षाको कारण भने नभएको प्रष्ट पारे।

तस्बिर स्रोत, Getty Images
उनले भने, "गृहमन्त्रालयले सुरक्षाको पूर्ण व्यवस्था गर्ने भनेर हामीलाई भन्दै आएको छ। हामीले सुरक्षा व्यवस्था मिलाइदिन दिएको निवेदन स्वीकार गरिएको जानकारी पनि पाएका थियौ। तर स्वास्थ्यकै कारण उहाँले भ्रमण रद्द गर्नुपरेको हो।"
गएको भदौ ६ गते ऋषिकेशस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका आचार्य बालकृष्ण त्यसको एक दिनपछि नै डिस्चार्ज भएका थिए।
यसै साता समर्थकहरूलाई सम्बोधन गर्दै उनले रामदेवको मिशनलाई पूरा गर्न धेरै गर्न बाँकी रहेको बताएका थिए।
उनले "केही व्यक्तिहरूले दिवास्वप्न देखेको भन्दै उनीहरूलाई समय बर्बाद नगर्न" सार्वजनिक रूपमा नै भनेपछि उनी निकट सिंह सहितका व्यक्तिहरूले त्यसमा गहिरो सन्देश रहेको धारणा राखेका थिए।
सिंहले बीबीसीसँग कुरा गर्दै आचार्य बालकृष्णको अभिव्यक्तिले 'आफूविरुद्ध हुनसक्ने कुनै पनि षडयन्त्र सफल हुन नदिने सङ्कल्प दर्शाएको' टिप्पणी गरेका थिए।
भारतीय योगगुरु रामदेवले उक्त सम्पूर्ण प्रकरणबारे अनुसन्धान गराउने बताउँदै आएका छन्।
कतिपय धार्मिक संगठनहरूले यसबारेमा राज्य सरकारको ध्यानाकर्षण गराउँदै यथोचित कदम नचलिए दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै केन्द्र सरकारसम्म आफूहरू पुग्ने बताएका विवरणहरू आएका छन्।
पतञ्जलि आयुर्वेदका संस्थापक अध्यक्ष बालकृष्णका मातापिता नेपाली हुन्। उनीहरूको पुर्ख्यौली थलो स्याङ्जा हो।
उनीहरू काम गर्न भारत गएका बेला आफू त्यहीँ जन्मिएको आचार्य बालकृष्णको दाबी छ।
उनले नेपालमा पतञ्जलिका गतिविधिहरूलाई विस्तार गर्ने इच्छा प्रकट गर्ने गरेका छन्।




















