डोनल्ड ट्रम्प: नयाँ पारमाणविक सम्झौतामा रुस र चीन हुनुपर्छ

ट्रम्प

तस्बिर स्रोत, AFP

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ पारमाणविक सन्धिमा रुस र चीनले हस्ताक्षर गरुन् भन्ने आफ्नो चाहना रहेको बताएका छन्।

उक्त विषयमा आफूले दुवै देशसँग कुरा गरेको र उनीहरू त्यसबारे "निकै उत्साहित रहेको" ट्रम्पले जानकारी दिए।

अमेरिकाले रुससँगको पारमाणविक सन्धि औपचारिकरूपमा तोड्ने निश्चित गरेपछि नयाँ अस्त्र होडबाजी शुरू हुने आशङ्का गरिएको बेला ट्रम्पले त्यस्तो अभिव्यक्ति दिएका हुन्।

इन्टरमिडियट-रेन्ज न्यूक्लियर फोर्सेस ट्रिटी आइएनएफ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र तत्कालीन सोभियत सङ्घका नेता मिखाइल गोर्वाचेभले सन् १९८७ मा हस्ताक्षर गरेका थिए।

यो सन्धिले ५०० देखि ५,५०० किलोमिटरसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्रहरूमाथि प्रतिबन्ध लगाउँछ। तर अगस्ट २ मा अमेरिकाले सो सन्धि भङ्ग गरेको छ।

यो वर्षको सुरुमा अमेरिका र नेटोले रुसलाई नयाँ खाले क्षेप्यास्त्र प्रयोगमा ल्याएर यो सन्धि तोडेको आरोप लगाएका थिए। मस्कोले भने यो आरोपको खण्डन गरेको थियो।

सन्धिबाट पछि हटेसँगै पारमाणविक अस्त्रको दौडलाई कसरी निस्तेज बनाउने योजना छ भन्ने प्रश्नमा ट्रम्पले आफ्नो प्रशासनको रुससँग परमाणुसम्बन्धी सहमतिका विषयमा कुराकानी भइरहेको र त्यसले दुवै मुलुकलाई केही हदसम्म डरबाट छुटकारा दिने बताए।

"हामीले कुनै विन्दुमा चीनलाई पनि समावेश गर्नु पर्ने हुन्छ," उनले थपे। त्यस्तो सहमति "विश्वका लागि महत्त्वपूर्ण" हुने उनले बताए।

"यस विषयमा चीन निकै उत्साहित देखिन्छ। रुसको अवस्था पनि त्यस्तै छ जसकारण कुनै न कुनै समयमा उक्त विषयमा सहमति हुन्छ भन्ने मलाई लाग्छ," सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले भने।

अमेरिका किन पछि हट्यो?

अमेरिकीहरूले रुसले ९एम७२९ क्षेप्यास्त्रहरू विभिन्न स्थानमा तयार राखेको प्रमाण भएको बताएको थियो।

त्यही आरोप अमेरिकाले नेटोका सदस्य राष्ट्रहरूसमक्ष राख्दा सबैले समर्थन जनाएका थिए।

रुस परमाणु अस्त्र

तस्बिर स्रोत, Reuters

राष्ट्रपति डोनल्ड ट्रम्पले गएको फेब्रुअरीमा रुसले अगस्ट २ तारिखसम्म यो कदम नसच्याएमा सन्धि तोड्ने बताएका थिए।

रुसी राष्ट्रपतिले लगत्तै सो सन्धिबाट रुसको जिम्मेवारीलाई निलम्बन गरेका थिए।

यसको खतरा के?

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले "पारमाणविक युद्धको एउटा ब्रेक" हराउन लागेको बताएका छन्।

"यसले क्षेप्यास्त्रहरूले खतरालाई घटाउने होइन्, झन बढाएको छ," उनले भने। उनले सबै पक्षलाई अन्तर्राष्ट्रिय अस्त्र नियन्त्रण गर्न नयाँ साझा बाटोका लागि सहमति खोज्न अनुरोध गरेका छन्।

विश्लेषकहरूले ऐतिहासिक सहमति नहुँदा अमेरिका, रुस र चीनबीच अस्त्र होडबाजी शुरू हुने आशङ्का व्यक्त गरेका छन्।

"अब यो सन्धि अन्त्य भएपछि हामीले नयाँ अस्त्रहरूको विकास र विस्तार देख्नेछौँ," रुसी सैन्य विश्लेषकले एएफपी समाचार संस्थालाई बताए।

"रुस पहिल्यै तयार छ।"

सन्धि के हो?

अमेरिका सोभियत सङ्घ

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत सङ्घका नेता मिखायल गोर्वाचेभले सन् १९८७ मा हस्ताक्षर गरेका थिए
  • सन् १९८७ मा अमेरिका र रुसले सन्धिमा हस्ताक्षर गरेका थिए।
  • सन्धिले समुन्द्रबाट प्रहार गरिने बाहेकका सबै खाले क्षेप्यास्त्रहरूलाई प्रतिबन्ध लगाएको छ।
  • रुसले एसएस-२० क्षेप्यास्त्र तयार राखेपछि चिन्ताग्रस्त अमेरिकाले सन् १९७९ मा युरोपमा पेर्सिङ् र क्रुज क्षेप्यास्त्र राखेको थियो।
  • सन् १९९१ मा झण्डै २,७०० क्षेप्यास्त्र तयारी अवस्थामा थिए।
  • सन्धि अनुसार दुई देशले एकअर्काको क्षेप्यास्त्र क्षेत्रहरू हेर्न पाउँछन्।

कुरो कहाँ बिग्रियो?

परमाणु अस्त्र

तस्बिर स्रोत, EPA

सन् २००७ मा पुटिनले सन्धिले रुसलाई फाइदा नगर्ने बताए।

यो अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशले सन् २००२ मा अमेरिकाले क्षेप्यास्त्रसम्बन्धी एक सन्धिबाट हात झिकेपछि भएको थियो।

सन् २०१४ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले रुसले नयाँ क्षेप्यास्त्र परीक्षण गरेर सन्धि नमानेको आरोप लगाए।

तर उनले युरोपेली नेताहरूको दबावका कारण सन्धि तोड्न नसकेको बताइन्छ।