डा. सन्दुक रुइत संलग्न तिलगङ्गालाई विश्व स्वास्थ्य सङ्गठनले दिएको सहकार्य केन्द्रको मान्यताको अर्थ

तिलगङ्गा

तस्बिर स्रोत, TOI/WHO

Published

आँखासम्बन्धी उपचारमा ख्याति कमाएको तिलगङ्गा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आफ्नो सहकार्य केन्द्र अर्थात् कोलाबोरेटिङ सेन्टरको रूपमा मान्यता दिएको विषयले निकै चर्चा पाएको छ।

उक्त प्रतिष्ठान स्थापना भएको २५ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी सोमवार काठमाण्डूको एउटा कार्यक्रममा डब्ल्यूएचओको मान्यताको घोषणा गरिएको छ।

डब्ल्यूएचओको वेबसाइटमा उल्लेख गरिएअनुसार सन् २०१९ को जुन १० तारिखदेखि लागु हुने गरी चार वर्षका लागि प्रतिष्ठान डब्ल्यूएचओको सहकार्य केन्द्रका रूपमा रहनेछ।

डब्ल्यूएचओका अनुसार विभिन्न ८० राष्ट्रका आठ सय सहकार्य केन्द्रहरूको परिवारमा पछिल्लो पटक तिलगङ्गा थपिएको छ।

मान्यताको महत्त्व

आँखा उपचार क्षेत्रमा यस्तो मान्यता पाउने तिलगङ्गा नेपालको पहिलो संस्था हो भने सार्क क्षयरोग तथा एचआइभी/एड्स केन्द्रपछिको नेपालको दोस्रो संस्था हो।

प्राज्ञिक, अनुसन्धान, उपचार र प्रशिक्षणको क्षेत्रमा एउटा उदाहरणीय नमुना भएकोले तिलगङ्गालाई उक्त मान्यता दिएको डब्ल्यूएचओले जनाएको छ।

आँखासम्बन्धी उपचारमा तिलगङ्गा मान्छेको आँखाको नानीझैँ प्रिय रहिआएको बताइन्छ।

तर जनस्वास्थ्य विज्ञहरूका अनुसार डब्ल्यूएचओको पछिल्लो मान्यताले उक्त प्रतिष्ठानको कान्तिलाई 'थप तेजिलो' बनाइदिएको छ।

मङ्गलवार बीबीसी नेपालीसँग कुरा गर्दै प्रतिष्ठानका प्रशासक भगीरथ बानियाँले भने, "सोमवार हाम्रो लागि विशेष र गौरवको दिन थियो।"

तिलगङ्गा

तस्बिर स्रोत, TIO

प्रतिष्ठानले सो मान्यता पाएपछि त्यसका संस्थापक तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइतले उक्त 'हैसियत पाउनु सानो कुरा नभएको र कसैले दिएको नभई मेहनत गरेर पाएको' बताएका थिए।

जनस्वास्थ्य मामिलाका जानकारहरूले पनि तिलगङ्गाले डब्ल्युएचओबाट पाएको मान्यता 'ठूलो उपलब्धि' भएको बताएका छन्।

पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्र भन्छन्, "पहिलो कुरा गुणस्तरीय सेवाको सुनिश्चितता भएको संस्थाको रूपमा देखियो; दोस्रो कुरा यहाँ पाउने तालिम गुणस्तरीय छन् भन्ने भयो।"

"आँखाको क्षेत्रमा यी दुइटा कुरा पाउनु यो संस्था र नेपालकै लागि गर्वको विषय हो।"

जनस्वास्थ्य विज्ञ डा. रीता थापा डब्ल्यूएचओको मान्यतासँगै तिलगङ्गा अन्तर्राष्ट्रिय 'रेफरल सेन्टर'को रूपमा सम्मानित भएको बताउँछिन्।

के पाउनेछ तिलगङ्गाले?

जनस्वास्थ्य मामिलाका जानकारहरूका अनुसार तिलगङ्गाले अब डब्ल्यूएचओबाट प्राविधिक, भौतिक संरचना र नीतिगत विकासमा समेत सहयोग पाउन सक्छ।

डा. मिश्र भन्छन्, "दक्षिण पूर्वी एशियाका सदस्य राष्ट्रलाई तिलगङ्गामा तालिम दिलाउने अथवा यहाँबाट सिक्न लगाउने र अरू देशबाट मान्छे पठाउन यो प्रतिष्ठानलाई डब्ल्यूएचओले मान्यता दिन्छ।"

उनले थपे, "मेरो बुझाइमा आँखासम्बन्धी अनुसन्धानका लागि भविष्यमा यो संस्थालाई रकमको अभाव हुनेछैन।"

तिलगङ्गा

तस्बिर स्रोत, TIO

आँखासम्बन्धी सेवा प्रवाह, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनको क्षेत्रमा तिलगङ्गाले आफूसँग सहकार्य गर्ने डब्ल्यूएचओले जनाएको छ।

राम्रो गृहकार्य गर्दै अघि बढे उक्त प्रतिष्ठानले आँखाको उपचारमार्फत् स्वास्थ्य पर्यटनलाई पनि बढाउन सक्ने कतिपयको तर्क छ।

चुनौती र अवसर

डब्ल्यूएचओको मान्यतासँगै तिलगङ्गाका लागि अवसर र चुनौती दुवै थपिएको विज्ञहरूको भनाइ छ।

तिलगङ्गाले आँखासम्बन्धी थप अनुसन्धान र आफ्ना सेवाहरू अझ व्यापक गर्न डब्ल्युएचओको भरपर्दो काँध पाएको छ।

अनि चार वर्षका लागि पाएको मान्यतालाई फेरि निरन्तरता पाउन अझ बढी राम्रो काम गर्नु चुनौतीको रूपमा रहेको छ।

प्रतिष्ठानका बानियाँ पनि यसलाई स्वीकार्छन्, "हामीमाथि चुनौती र जिम्मेवारी दुवै थपिएको छ। तर हामी सबै लागिपर्‍यौँ भने त्यो मान्यतालाई अवश्य निरन्तरता दिलाउन सक्छौँ।"

तिलगङ्गा

तस्बिर स्रोत, TIO/WHO

बानियाँको आत्मविश्वासप्रति डा. रीता थापा पनि विश्वस्त देखिन्छिन्।

तिलगङ्गा आँखा प्रतिष्ठानको प्रतिबद्धता र उसको कामको प्रतिष्ठाले गर्दा सो मान्यतालाई निरन्तरता दिलाउन कठिन नहुने डा. थापाको ठम्याइ छ।

डा. रुइतको नेतृत्वको प्रशंसा गर्दै उनी भन्छिन्, "नेतृत्व आदेश वा निर्देशनबाट हुँदैन, आफैँले गर्ने हो। उहाँ आफैँले गरेर उदाहरण बन्नुभएको छ।"

के के गर्छ तिलगङ्गाले?

प्रशासक बानियाँका अनुसार तिलगङ्गाले उपचारका साथै अनुसन्धान, आँखाको लेन्स निर्माण र विशेषज्ञ डाक्टर समेत उत्पादन गर्दै आएको छ।

आफूहरूले आँखाभित्र मात्रै नौवटा विशिष्ठ सेवा दिँदै आएको बानियाँ बताउँछन्।

बानियाँका अनुसार प्रतिष्ठानले त्यसबाहेक आँखासम्बन्धी बर्सेनि १५-१६ वटा अनुसन्धानपत्र जर्नलहरूमा प्रकाशन गर्दै आएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्यान्सर भएको आँखा हटाएर नयाँ जीवन

करिब एक दर्जन जनशक्तिबाट शुरू भएको अस्पतालको अहिले आफ्नै ३९ डाक्टरसहित पाँच सयभन्दा बढी जनशक्ति छ।

देशको एक मात्र आँखा ब्याङ्क उसकै हो भने नेपालका विभिन्न १४ जिल्लामा प्रतिष्ठानका सामुदायिक आँखा केन्द्र सञ्चालनमा छन्।

बानियाँका अनुसार तिलगङ्गाले उत्पादन गर्ने आँखाको लेन्स कैयौँ देशमा निर्यात हुँदै आएको छ।

डब्ल्यूएचओका अनुसार सन् १९९४ मा सञ्चालनमा आएदेखि तिलगङ्गाले हालसम्म १४ लाखलाई सेवा प्रदान गरिसकेको छ।