जापान आगजनी: सन्दिग्ध व्यक्ति केही दिन अघिदेखि क्योटो एनिमेशन स्टुडियोनजिकै 'देखिएका थिए'

भिडिओ क्याप्शन सुरु हुँदैछ, क्योटोको एनिमेशन स्टुडियोमा यसरी आगो लाग्यो
Published

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा आगो लगाउने सन्दिग्ध व्यक्तिले धेरै जनाको ज्यान जानेगरी भएको सो घटनाअघि उक्त क्षेत्रको अवलोकन गरेको हुनसक्ने स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिहीवारको आगजनीअघि छिमेकीहरूले शिन्जी ओबाजस्तै देखिने मानिस क्योटो एनिमेशनको कार्यालय बाहिर देखेका थिए।

नराम्रोसँग जलेका ४१ वर्षीय ओबा अहिले प्रहरी हिरासतमा छन् र उनलाई ओसाकाको अस्पतालमा पठाइएको छ।

शरीर जलेर घाइते भएका अर्का एक व्यक्तिको ज्यान गएपछि सो आगजनीमा परेर मृत्यु हुनेको सङ्ख्या शनिवार ३४ पुगेको छ।

ठूलो घटना

बिहीवार बिहान सो स्टुडियोको कार्यालय हुँदै फैलिएको आगजनीको घटनालाई केही वर्षयता जापानमा धेरैले ज्यान गुमाउनेगरी भएको ठूलो हत्याकाण्डको रूपमा हेरिएको छ।

एक महिलाले क्योदो समाचारसंस्थालाई बताएअनुसार उनले ओबाजस्तो देखिने मानिसलाई सोमवार स्टुडियो भवननजिकै देखेकी थिइन्।

उनका अनुसार ती मानिसले पेट्रोलका क्यानजस्तै देखिने दुईवटा बाकस बोकेका थिए।

ठूलो घटना

तस्बिर स्रोत, Reuters

दुई विद्यार्थीहरूले पनि बुधवार साँझ सन्दिग्घ व्यक्तिको पहिरनसँग मेल खाने व्यक्ति आफूले देखेको उजुरी गरेका थिए।

तीमध्ये एक जनाले ओबाजस्तो देखिने मानिस कार्यालयभन्दा झन्डै पाँच सय मिटर पर एउटा बेन्चमा बसेको बताएका छन्।

ओबाबारे के थाहा छ?

प्रहरीले शिन्जी ओबालाई उक्त भवनमा आगो लगाएको अभियोगमा पक्राउ गरेको हो।

ओबाले उक्त एनिमेशन स्टुडियोले आफ्नो उपन्यास चोरेको आरोप लगाएको बताइएको छ।

ओबालाई पक्राउ गरेको देख्नेहरूले उनले उक्त कम्पनीले आफ्ना विचार चोरेको आरोप लगाएको बताएका थिए।

घटनामा उनी पनि घाइते भएका छन्। उनलाई सुरुमा क्योटोकै अस्पतालमा लगिएकोमा शनिवार ओसाकाको अस्पतालमा सारिएको हो।

अहिलेसम्म उक्त घटना गराउनुको उद्देश्यबारे ओबासँग औपचारिक रूपमा सोधपुछ गरिएको छैन।

उनको स्वास्थ्यमा सुधार होस् भनेर प्रहरीले कुरेको हो।

सन्दिग्धसँग औपचारिक रूपमा सोधपुछ गरिएको छैन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, सन्दिग्धसँग औपचारिक रूपमा सोधपुछ गरिएको छैन

जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार सन्दिग्ध व्यक्तिको आपराधिक पृष्ठभूमि भएको पाइएको छ। एउटा पसलबाट पैसा चोरेको अभियोगमा उनी जेल परेका थिए।

क्योटो एनिमेशनका अध्यक्षले आफूले हालसालै धम्कीपूर्ण पत्रहरू पाएको तर तिनको सम्बन्ध त्यसरी आक्रमणसँग जोडिएको हुनसक्ने अनुमान नगरेको बताएका छन्।

बिहीवार के भएको थियो?

स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो।

प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटन भएको सुनिएको बताएका थिए।

आगो फैलिएपछि कतिपय मानिसहरू भवनको झ्यालबाट हाम फालेका थिए।

जापान

एनएचकेका अनुसार ती व्यक्तिले आगो लगाउँदै "अब तिमीहरू मर" भन्ने आशयको टिप्पणी गरेका थिए।

अधिकारीहरूका अनुसार हताहत हुने धेरैजसोले भाग्ने क्रममा भवनको तेस्रो तलाबाट छततर्फ जाने भर्‍याङमा ज्यान गुमाएका थिए।

क्योदो समाचारसंस्थाले जनाएअनुसार अग्निनियन्त्रकहरूले छतमा जाने ढोका बन्द भएको पाएका थिए। अर्थात् उनीहरू भित्रै थुनिए।

क्योटोका अग्निसुरक्षासम्बन्धी अधिकारीहरूले समाचारसंस्था रोएटर्सलाई बताएअनुसार त्यहाँ पानी छर्कने वा अग्निनियन्त्रणमा घरभित्र प्रयोग हुन सक्ने पानीका स्रोतसँग जोडिने बिन्दुहरू थिएनन्।

तर जापानको अग्निनियन्त्रणको मापदण्डमा त्यो अनिवार्य भने होइन।

आगो निभाइएपछि अनुसन्धानकर्ताले उक्त क्षेत्रमा खोजतलास गरेका थिए।

सन् १९८१ मा स्थापना भएको क्योटो एनिमेशनले "के-अन" र "द मेलन्कली अफ हारुही सुजुमिया" जस्ता एनिमेशन कार्यक्रमहरू बनाएको छ।

उसले तिनका फिल्मी स्वरूप पनि बनाउने गर्छ। सन् २०१६ मा सार्वजनिक गरिएको "अ साइलेन्ट भ्वाइस" कथानक चलचित्र थुप्रैले रुचाएका थिए।