स्वतन्त्र तिब्बतसम्बन्धी कार्यक्रममा सहभागी भएपछि पार्टीबाट निलम्बित सांसद के भन्छन्

समाजवादी पार्टी

तस्बिर स्रोत, Facebook/Pradip Yadav

Published

समाजवादी पार्टी नेपालले आफ्ना एकजना प्रतिनिधिसभा सांसद प्रदीप यादवलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ।

युरोपेली मुलुक लाट्भियामा स्वतन्त्र तिब्बत पक्षधरको एउटा कार्यक्रममा सहभागी भएको आरोपमा उनलाई यस्तो कारबाही गरिएको जनाएको छ।

यादव राष्ट्रिय जनता पार्टीका सांसद एकवाल मियाँसँगै उक्त कार्यक्रममा सहभागी भएका थिए।

यादवको सहभागीताबारे नेपालस्थित चिनियाँ दूतावासले समेत चासो देखाएको खबरहरू सार्वजनिक भएका थिए।

कारबाही

त्यसपछि उनलाई पार्टीले स्पष्टीकरण सोधेको थियो।

उनले पार्टीलाई दिएको स्पष्टीकरण 'चित्तबुझ्दो नभएको' र 'पार्टी नीति विपरित गतिविधि गरेको' भन्दै मङ्गलवार समाजवादी पार्टीले उनलाई कारबाही गरेको हो।

पार्टीका उपमहासचिव प्रकाश अधिकारीले यादवले 'पार्टी नीतिविपरीत काम गरेकाले कारबाही गरेको' बीबीसीलाई बताए।

कारबाहीमा परेका यादवले चाहिँ बीबीसी नेपालीसँग कुराकानी गर्दै पार्टीको निर्णयले आफू "आश्चर्यचकित भएको तर पार्टीको निर्णय मान्ने" बताएका छन्।

समाजवादी पार्टी

तस्बिर स्रोत, Facebook/Pradip Yadav

मङ्गलवार पार्टीबाट निलम्बनमा परेका यादवले बीबीसी नेपालीका विष्णु पोखरेलसँग गरेको कुराकानीको अंश उनकै शब्दमा:

म पार्टीका लागि धेरै योगदान गरेको सच्चा सिपाही हुँ। पार्टीको निर्माणमा म १२ वर्षदेखि खटेको मान्छे हुँ।

मान्छेबाट जानेर र अन्जानमा गल्ती हुन्छ। हामी लाट्भियाको कार्यक्रममा जानीजानी गएका होइनौँ।

त्यसबारे मैले पार्टीलाई पनि जानकारी गराएको छु। त्यहाँ हामी निमन्त्रणा आएर गएका थिएनौँ।

एकजना माननीयज्यूले 'एउटा इन्टरन्याश्नल सांसदहरूको कार्यक्रम छ' भन्नुभयो अनि हामी गयौँ।

युरोप पनि घुमिहालौँ भनेर गयौँ। तर जाँदा हामी त्यो कार्यक्रममा बसेका छैनौँ।

हस्ताक्षर पनि गरेका छैनौँ। देशको परराष्ट्र नीति र पार्टीको नीतिलाई सोचेर हामी त्यो कार्यक्रमबाट निस्किहाल्यौँ।

न भाग लिएका छौँ न घण्टौँ बसेका छौँ। नयाँ सांसद छु पेटैबाट सिकेर त आएको होइनौँ नि हामीले?

दु:ख लागेको छ। पार्टीको कारबाहीले साह्रै चित्त दुखेको छ। आश्चर्यचकित छु।

तर पार्टीको निर्णय स्वीकार्य छ। किन कारबाही गरियो भन्ने मैले बुझेको छैन। म पार्टीमा नै बसेर नै सङ्घर्ष गर्छु।

म जुन दिन त्यो कार्यक्रममा गएको थिएँ, त्यसै दिन मलाई फसिएको हो भन्ने लागेको थियो। तर पार्टी भनेको आमा हो आमासित म कहिल्यै पनि गद्दारी गर्दिनँ।