माइतीघरको विरोध प्रदर्शन: 'असन्तोषको अभिव्यक्ति' र 'भित्ताको अक्षर'

तस्बिर स्रोत, RSS
सरकारले मङ्गलवार नै विवादित गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरोकारवालाहरूले बुधवार तय गरेको विरोध प्रदर्शनमा ठूलो संख्यामा मानिसहरू सहभागी भएका छन्।
राजधानी काठमाण्डूको माइतीघरमा भएको विरोध प्रदर्शनमा उपस्थित मानिसहरूको सङ्ख्यालाई हेरेर केहीले 'दोस्रो जनआन्दोलनको झल्को आएको' रूपमा अर्थ्याए।
राजनीतिशास्त्रीहरूले चाहिँ उक्त प्रदर्शन र सहभागीको सङ्ख्यालाई 'सरकारप्रतिको असन्तुष्टीको अभिव्यक्ति' भनेका छन्।
असन्तोषको अभिव्यक्ति
राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल बुधवारको प्रदर्शनलाई 'नागरिक असन्तोषको अभिव्यक्ति' ठान्छन्।
उनी भन्छन्, "सरकारको काम कारबाहीले विभिन्न रूपमा नागरिकहरू असन्तोषले गुम्सिएर बसेका थिए। गुठीले त्यसलाई तरङ्गित गर्यो। ठूलो प्रदर्शन हुनु त्यसैको अभिव्यक्ति हो।"
उनी सत्तारूढ दल निकटहरू नै गुठी विधेयकसँगै सरकारको कामबाट असन्तुष्ट बनेको देखिएको बताउँछन्।
खनाल भन्छन्: "प्रदर्शनमा काठमाण्डूको नेवार समुदायका मानिसहरू धेरै सहभागी भए। त्यसमा कैयौँ मानिसहरू त अहिलेको सत्तारूढ दललाई मत हाल्नेहरू पनि त थिए होलान्।"
"सरकारले हामीसँग दुई तिहाइ चुनावी मत छ भन्ने व्यवहार देखायो। तर त्यो मतादेशको पनि सीमाना हुन्छ भन्ने सन्देश यो प्रदर्शनले दिएको छ।"
उनी राज्य संरचना, पहिचान, संस्कृति र संघीयताका असन्तुष्टी यो माध्यमबाट जाहेर भएको दाबी गर्छन्।

तस्बिर स्रोत, RSS
राजनीतिशास्त्रका अर्का प्राध्यापक कृष्ण पोखरेल चाहिँ सरकारले देखाएको 'संवादहीनता' र 'दम्भप्रतिको उत्तर'का रूपमा उक्त प्रदर्शनलाई लिन्छन्।
उनी भन्छन्, "सरकारले कुनै पनि नीति बनाउँदा सरोकारवालासँग बसेर संवाद गरेर बनाउनु पर्छ भन्ने सन्देश हो।"
पोखरेलका अनुसार बुधवारको प्रदर्शन 'सरकारले लिएको नीति'भन्दा बढी 'सरकारले पुर्याएको भावनात्मक चोट'प्रति लक्षित हो।
"सरकारमा बस्नेहरूको अभिव्यक्तिले समुदायको भावनालाई चोट पुग्यो। मन्त्री र प्रधानमन्त्रीले नै चोट पुर्याए। 'मन्त्रीले सामन्ती भन्ने अनि प्रधानमन्त्रीले मूर्ति चोर भन्ने?' भन्ने खालको भावनात्मक चोटले उर्लेको जनसागर हो," पोखरेलले भने।
उनले सरकारले उक्त प्रदर्शनलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए।
पोखरेलले भने, "सरकारले यसलाई भित्तामा लेखिएको विरोधको ठूलो अक्षरको रूपमा बुझ्नुपर्छ।"
कार्यशैली सुधार्न सुझाव
राजनीतिशास्त्रीहरू सरकारलाई समयमै आफ्नो कार्यशैली सुधार गर्न सुझाव दिन्छन्।
खनाल भन्छन्, "हामीले कहाँ कमजोरी गरिरहेका छौँ भनेर सरकारले हेर्नुपर्यो। नत्र मानिसहरू असन्तुष्ट छन् र बहाना भए सडकमा आउँछन् भन्ने बुझ्नुपर्यो।"
उनी सरकारलाई चुनावी मतादेशको सीमालाई बुझ्नुपर्ने बताउँछन्।
पोखरेलका बुझाइमा सरकार तथा प्रधानमन्त्रीले सीमित व्यक्तिहरूलाई लिएर अघि बढ्ने स्वभाव त्याग्नुपर्छ।
उनी भन्छन्, "लोकतन्त्रमा एकतर्फी निर्णय हुदैन। सरकारले सरोकारवालासँग संवाद गर्नुपर्छ।"
अहिलेको परिस्थितिले सरकारले आन्दोलनको भाषा मात्र सुन्ने रहेछ भन्ने सन्देश गएको पनि पोखरेल बताउँछन्।
त्यो गलत भएको र सरकारले सच्याउनु पर्ने उनको धारणा छ।

तस्बिर स्रोत, RSS
प्रदर्शनको प्रशंसा
बुधवारको प्रदर्शनमा उपत्यकाका तीनवटै जिल्लाबाट सर्वसाधारण सहभागी भएका थिए।
उनीहरूले गरेको प्रदर्शन शान्त र फरक शैलीको भएको भन्दै कतिपयले सामाजिक सञ्जालमा त्यसको प्रशंसा पनि गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले आकस्मिक सेवाहरूलाई निर्बाध चल्न दिएका थिए।
कतिपयले सुरक्षाकर्मीहरूलाई फूल बाँडेका थिए भने प्रदर्शनकारीले नै सुरक्षाकर्मीलाई पानी पिलाएका दृश्यहरू पनि देखिएका थिए।
प्रदर्शनपश्चात सहभागीले नै सडकमा भएको फोहोर उठाएर लगेको कुरालाई पनि धेरैले प्रशंसा गरेका छन्।





















