हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर बेपत्ता, मृत्यु भएको आशङ्का

चञ्चल लाहिरी

तस्बिर स्रोत, Ei Samay

Published

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ।

पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएको थियो। तर उनी पानीभित्रै हराए।

मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो।

उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो।

नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए।

Presentational grey line

यो पनि हेर्नुहोस्

Presentational grey line

प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझ खोजी गरेका थिए। तर लाहिरी भेटिएनन्।

एक अधिकारीले हिन्दूस्तान टाइम्स पत्रिकालाई बताएअनुसार शव नभेटिएसम्म उनलाई मृत घोषणा गर्न सकिँदैन।

किन गरे जोखिमपूर्ण जादु?

एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए।

जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बीबीसीलाई बताए।

उनी भन्छन्, "मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ। उनी हाँसे र भने - मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ। मैले गल्ती गरेँ भने यो दु:खान्त हुन्छ।"

ती जादुगरले मानिसहरूमा "जादुप्रति रुचि जगाउन" त्यसो गर्न खोजेको शलाई बताएका थिए।

पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन।

बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो। त्यतिबेला उनी सकुशल बाहिर आएका थिए।

शले त्यो जादु पनि हेरेका थिए।

"उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ," उनले भने।