युरोपेली आयोगको नयाँ अध्यक्ष छान्न मेर्कल-माक्रोँ विभाजित

तस्बिर स्रोत, EPA
युरोपेली संसदका लागि भएको हालैको निर्वाचनपछि फ्रान्स र जर्मनीबिच युरोपेली संघको मुख्य भूमिका कसलाई दिने भन्ने बिषयमा मतभिन्नता देखिएको छ।
युरोपेली संसदमा ठूला- मध्य दक्षिणपन्थी र मध्य वामपन्थी गुटले संयुक्त रूपमा आफ्नो बहुमत गुमाएका छन्। उदारवादी, राष्ट्रवादी र हरित पार्टीहरूप्रतिको जनसमर्थन भने बढेको छ।
जर्मन चान्सलर एङ्गेला मेर्कलले मध्य दक्षिणपन्थी उमेद्दवार मानफ्रेड वेबरलाई युरोपेली आयोगको नयाँ अध्यक्ष बनाउन चाहन्छिन्।
तर मङ्गलबार भएको एक बैठकमा फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले भने वेबरलाई आफूले देखेका तीन सम्भावित उमेद्दवारका रूपमा समेत उल्लेख गरेनन्।
कसले के भने?
ब्रसल्समा भएको युरोपेली नेताहरूको बैठकमा दुई नेताहरूको त्यस्तो प्रतिकृया आएको हो। जहाँ नयाँ राजनीतिक परिदृश्य र नयाँ नेतृत्वका बारेमा छलफल हुने अपेक्षा गरिएको थियो।
पछिल्लो चुनावले युरोपेली संघलाई थप विभाजित देखाएको छ जहाँ सहमतिहरूमा पुग्ने काम थप कठिन हुने देखिएको छ।
सन् २०१४ मा चुनाव जितेको मध्य दक्षिणपन्थी युरोपियन पिपुल्स पार्टी (इपीपी)का उमेद्दवारका रूपमा आयोगका लागि जँ क्लोड यङ्कर अध्यक्ष भएका थिए।

तस्बिर स्रोत, EPA
तर यसपटक इपीपीकै उमेद्दवार जर्मनीका मानफ्रेड वेबरका लागि त्यो बाटो कठिन देखिएको छ। यसपटक उक्त गुट ७५१ सदस्यिय संसदमा यसअघिको २१७ स्थानबाट १८० मा झरेको छ। यद्यपि इपीपी अझै मुख्य गुटको रूपमा छ।
मेर्कलले वेबरको समर्थन गर्नुअघि माक्रोँले आफूले पक्ष लिएको उमेद्दवारको नाम लिएनन् तर उक्त भूमिकामा आफूले 'सबैभन्दा चमत्कारिक, सिर्जनशील र योग्य' मानिस चाहेको बताएका थिए।
'ब्रेक्जिटको खोप'
युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले भने संघबाट ब्रिटेन बाहिरिने 'ब्रेक्जिट पक्षले इयु पक्षधर पार्टीहरूले थप जनसमर्थन पाएको' बताएका थिए।
उनले भने, "युरोपेलीका रूपमा व्यवहारिक रूपमा ब्रेक्जिट के भइरहेको छ हेर्नुस! उनीहरूले निश्कर्ष निकालिसकेका छन। इयु विरोधी संगठित प्रचार र मिथ्या समाचारका विरूद्ध ब्रेक्जिटले खोपको काम गरेको छ।"

तस्बिर स्रोत, Getty Images
ब्रिटिश प्रधानमन्त्री टरिजा मे उक्त बैठकमा सहभागि भए पनि त्यहाँ ब्रेक्जिटका बिषयमा छलफल नभएको अध्यक्ष टुस्कले बताए।
ब्रिटेनमा निगेल फरागको नयाँ ब्रेक्जिट पार्टीले जितेको छ। जहाँ मतदाताहरू ब्रेक्जिट पक्ष र विपक्षमा उभिएका आधारमा पार्टीहरूलाई भोट हालेका थिए।
इटली, फ्रान्स र युकेमा राष्ट्रवादी दलहरूले जितेका छन्। लोकप्रियतावादी र चरम दक्षिणपन्थी पार्टीहरूले भने केही देशमा आफ्नो उपस्थिति देखाएका छन्।
मतदान
प्रत्येक पाँच वर्षमा ७५१ सदस्यिय युरोपेली संसदका लागि २८ सदस्य देशमा प्रत्यक्ष निर्वाचन हुनेगर्छ।
इयु राष्ट्रहरूमा पछिल्ला दशकमा मतदान गर्नेहरू घटिरहेकामा यसपटक भने योग्य मतदातामध्ये २० वर्षयताकै सबैभन्दा बढि ५१ प्रतिसतले मत खसालेका थिए।

तस्बिर स्रोत, AFP
बीबीसीकी युरोप सम्पादक कात्या एड्लर भन्छिन्- 'यस नतिजाको अर्थ युरोपले यथास्थितिवादलाई अस्विकार गर्नु हो। मतदाताहरूले पार्टी र राजनीतिक व्यक्तित्वभन्दा आफ्ना मूल्यमान्यता र प्राथमिकतालाई हेरेका छन्।'
युरोपेली आयोग इयुका लागि नियम र युरोपेली कानुनका मस्यौदा बनाउने निकाय हो। हालका अध्यक्ष जँ क्लोड यङ्कर आफ्नो पाँच वर्षे कार्यकालको अन्त्यतिर छन्।
युरोपेली संसदले इयुमा कानुनी आकारहरू दिनुका साथै युरोपेली संघको कार्यकारी पदहरूमा पुग्ने मानिसहरूको समेत टुड्गो लगाउँछ।




















