कम्बोडियामा ३.२ टनभन्दा बढी हस्तिहाड बरामद

तस्बिर स्रोत, Getty Images
मोजाम्बिकबाट ल्याइ कम्बोडियामा एउटा कन्टेनरमा लुकाएर राखिरहेको अवस्थामा ३.२ टनभन्दा बढी हस्तिहाड बरामद गरिएको एक भन्सार अधिकारीले बताएका छन्।
अमेरिकी दूतावासले दिएको गोप्य सूचनापछि नोम पेन अटोनोमस पोर्टबाट बिहीवार एक हजार २६ वटा हस्तिहाड फेला पारिएको हो।
ती हस्तिहाडहरू गत वर्ष कम्बोडियाली बन्दरगाह पुगे पनि त्यसका अज्ञात मालिक त्यसलाई लिन त्यहाँ पुगेनन्।
चीन र भियतनाममा बढ्दो मागसँगै वन्यजन्तुको अवैध ओसारपसारका लागि कम्बोडिया एउटा महत्त्वपूर्ण विन्दु बन्दै गएको बताइन्छ।
बेवारिसे
नोम पेन अटोनोमस पोर्टका भन्सार प्रमुख सुन चेले समाचार संस्था एएफपीलाई भने, "बेवारिसे अवस्थामा छाडिएको एउटा कन्टेरमा मार्बलहरूको बीचमा हस्तिहाडहरू फेला पारिएको हो।"
ती हस्तिहाडहरू अर्को देश पठाउनका लागि ल्याइए वा नल्याइएकोबारे थाहा हुन नसकेको उनले बताए।
कम्बोडियाले गत पाँच वर्षको अवधिमा ठूलो स्तरमा छापाहरू मारेको छ।

तस्बिर स्रोत, EPA
पछिल्लो पटकको भन्दा ठूलो छापा सन् २०१४ मा मारिएको थियो, जतिबेला दक्षिणपश्चिमी एउटा बन्दरगाहबाट तीन टन हस्तिहाड बरामद गरिएको थियो।
नोम पेन पोस्टका अनुसार यसै वर्षको एप्रिलमा कम्बोडिया पठाउन लागिएको साढे तीन टन हस्तिहाड मोजाम्बिकको मापुतो बन्दरगाहबाट बरामद गरिएको थियो।
चोरीशिकार
सन् २०१७ को जुलाइमा हंगकंगका अधिकारीहरूले विश्वमा हालसम्मकै ठूलो परिणाममा अर्थात् करिब ७.२ टन हस्तिहाड नियन्त्रणमा लिइएको बताएका थिए।
वन्यजन्तुको पक्षमा अभियान चलाउनेहरूका अनुसार प्रत्येक वर्ष ३० हजार अफ्रिकी हात्तीहरू चोरीशिकारबाट मारिने गरेका छन्।
सन् १९९० मा हस्तिहाडको कारोबारमा अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको थियो।
गत वर्ष सार्वजनिक एउटा प्रतिवेदनले पछिल्लो दशकमा एक लाख १० हजार हात्तीको चोरीशिकार भए पनि अधिकांश स्थानमा तिनीहरूको सङ्ख्या स्थिर रहेको जनाएको थियो।




















