रक्षा खर्च दोब्बर बनाउन नेटो सदस्यलाई ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका साझेदारहरूलाई देशको कुल गार्हस्थ्य उत्पादनको चार प्रतिशत रकम सुरक्षा खर्चमा छुट्याउन आह्वान गरेका छन्।
उक्त प्रतिशत अहिलेको लक्षित प्रतिरक्षा बजेटको दोब्बर हो।
उनले उक्त आह्वान ब्रसल्समा भएको नेटोको सम्मेलनमा गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त सम्मेलनमा जर्मनीले प्रतिरक्षा क्षेत्रमा निकै कम मात्रै खर्च गर्ने गरेको भन्दै आलोचना गरे।
प्राथमिकता
नेटोका महासचिवले नेटोका सदस्य राष्ट्रहरूले हालको दुई प्रतिशतको लक्ष्य पूरा गर्नेमा उनीहरूको ध्यान केन्द्रित हुनुपर्ने बताए।
जेन्स स्टोलट्नबर्गले पत्रकारहरूले ट्रम्पको भनाइबारे सोध्दा त्यसको जवाफमा अहिलेका लागि आफूहरूले दुई प्रतिशतको लक्ष्यलाई नै प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले दुई प्रतिशतको लक्ष्य भेट्ने दिशा तर्फ जानु नै राम्रो भएको पनि बताए।
शीतयुद्ध अन्त्य भएको दशकौँपछि नेटोका सदस्य राष्ट्रहरूले आफ्नो प्रतिरक्षा खर्चमा निकै कटौती गरेको भन्दै उनले अब फेरि तनाव बढिरहेको समयमा त्यसमा फेरि वृद्धि गर्नुपर्ने आवश्यकता देखिएको बताए।
जिम्मेवारी
यसअघि अमेरिकी राष्ट्रपतिहरूले युरोपले आफ्नो प्रतिरक्षा क्षेत्रबारे थप जिम्मेवारी लिनुपर्ने अपील गरेका थिए।
तर कसैले पनि ट्रम्पले जस्तो ठाडो शैलीमा यस्तो कुरा राखेका थिएनन्।
ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यान्डर्सले राष्ट्रपति ट्रम्पले आफ्ना साझेदारहरूले पनि थप दायित्ववहन गरून् भन्ने चाहेको बताइन्।
ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हेलसिन्कीमा आफ्नो पहिलो बैठक गर्नुभन्दा अघि ब्रसल्समा यो बैठक भएको हो।
ट्रम्प पुटिन भेट हुन एक हप्ताभन्दा कम समय छ।




















