अमेरिकी प्रतिबन्धप्रति युरोप चिन्तित

तस्बिर स्रोत, Getty Images
एक विज्ञप्ति जारी गर्दै युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यङ्करले रुसविरुद्ध प्रतिबन्ध लगाउने विषयमा युरोपेली युनियन प्रतिबद्ध रहेको जनाएका छन्।
तर उनले अमेरिकाले चाल्ने एकलौटी कदमका अनपेक्षित परिणामले इयुको उर्जा सुरक्षा स्वार्थमा प्रभाव पर्न सक्ने चिन्ता व्यक्त गरे।
जर्मनी सहित कैयौं युरोपेली देशहरु क्रुद्ध छन् किनभने नयाँ अमेरिकी कानूनले रुसबाट युरोपेली युनियनसम्म जोडिने पाइपलाइन निर्माणमा संलग्न तिनका देशका कम्पनीहरुलाई प्रभाव पार्न सक्छ।
ती कम्पनीहरुको अमेरिकी ब्यांकसम्मको पहुँच अब सीमित पारिन सक्छ।
उक्त प्रस्तावित कानूनमा इरान तथा उत्तर कोरिया विरुद्धपनि प्रतिबन्ध थपिएका छन्।
ट्रम्पको विरोध
राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध जनाउँदा जनाउँदै अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाले रुसविरुद्ध नयाँ प्रतिबन्धबारेको प्रस्ताव पारित गरेको छ।

तस्बिर स्रोत, AFP
तर त्यो कानून अझै अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट पारित हुन भने बाँकी छ।
सिनेटबाट पारित भएपछि त्यसलाई हस्ताक्षरका निम्ति राष्ट्रपति समक्ष पेश गर्नुपर्नेछ।
राष्ट्रपति ट्रम्पले त्यसलाई भिटो प्रयोग गरि उल्ट्याइदिनेछन् वा छैनन् भन्ने प्रष्ट छैन।
तर सो कानूनले रुससंग सम्बन्ध सुधार्ने राष्ट्रपति ट्रम्पको आशा पूरा गर्ने काम झन् जटिल बनाइदिएको छ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोपहरुका कारण मस्कोलाई सजाय दिनका निम्ति नयाँ प्रतिबन्ध लगाउन खोजिएको छ।
प्रस्तावित नयाँ प्रतिबन्धहरुमा रुसी सरकारी खनिज तथा रेलवे कम्पनीका सम्पत्ति रोक्का गर्ने, राष्ट्रपति ट्रम्पलाई एकलौटी ढंगले प्रतिबन्ध खुकुलो बनाउन नदिने, रुसी ब्यांक तथा रुसी तेल र ग्यास कम्पनीहरुलई दिइने ऋणको अवधि छोट्ट्याउने, अनि भविष्यमा ती प्रतिबन्ध हटाउन गाह्रो पार्ने विषयहरु परेका छन्।




















