स्पेन: बास्क पृथक्तावादी समूह विघटन भएको घोषणा

बास्क

तस्बिर स्रोत, Getty Images

Published

दशकौँ लामो पृथक्तावादी लडाइँको औपचारिक अन्त्य गर्दै स्पेनको बास्क लडाकु समूहले आफ्नो संगठन विघटन भएको पुष्टि गरेको छ।

उसले आफ्ना संरचना तथा राजनीतिक गतिविधि समापन भएको जनाएको छ।

तर स्पेनका प्रधानमन्त्री मारिआनो राखोएले पृथक्तावादी समूह एटाले आफ्नो समूहको विघटन गरेको घोषणा गरेपनि उसले उन्मुक्ति नपाउने बताएका छन्।

बीबीसीलाई प्राप्त एउटा श्रव्यसामग्रीमा बास्क समूहले आफ्नो सबै राजनीतिक गतिविधिको अन्त्य गरेको जनाएको छ।

बास्क सङ्गठन विघटन गरिएको बारे पहिलो पटक घोषणा गरेको पत्र बुधवार सार्वजनिक भएको थियो।

हिंसा

एटाले हिंसाको आफ्नो दशकौँ लामो अभियानका क्रममा आठ सय भन्दा बढी मानिसको हत्या गरेको थियो।

सन् २०११ मा उसले युद्धविराम घोषणा गरेको थियो।

बास्क

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बास्क समूहबाट मारिएका आधाभन्दा बढी व्यक्तिहरू स्पेनको सिभिल गार्डका सदस्य थिए

बीबीसीलाई एटाका पूर्वप्रमुख योसु तेर्नेरा उक्त श्रव्यसामग्री उपलब्ध गराएका थिए।

उनले "बास्क देशको अन्तिम वक्तव्यमा उसको समूहको यात्रा समाप्त भएको" बताए।

पूर्ण रूपमा समूह विघटन गरिएको भन्दै एटाले अब राजनीतिक अभिव्यक्ति व्यक्त नगर्ने बताएको छ।

राखोय

तस्बिर स्रोत, EPA

उसका पूर्वसदस्यहरूले स्वतन्त्र, समाजवादी, बास्क भाषा बोल्ने देशको लागि सङ्घर्ष जारी राख्ने पनि उल्लेख गरेका छन्।

'अपराध'

उत्तरी स्पेनमा गरिएको एउटा भाषणमा राखोएले एटाले जेसुकै गरेपनि उसले गरेको अपराधबाट उन्मुक्ति नदिइने बताए।

सो सङ्गठनमाथि लागेको हत्याको अभियोगका झन्डै आधा जति घटनामा पूर्ण अनुसन्धान भएका छैनन्।

मारिनेमा आधाजति सुरक्षा फौजका सदस्य रहेको बताइएको छ। तर थुप्रै राजनीतिज्ञ र व्यापारिक नेताहरू पनि मारिएका थिए।

प्रदर्शन

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत महिना बिल्बाओमा हजारौँले कैदीहरूलाई बास्क क्षेत्र नजिकैका कारागारमा सार्न माग गर्दै प्रदर्शन गरेका थिए

मारिएकाहरूका नातेदारलाई प्रतिनिधित्व गर्ने समूहहरूले नसुल्झिएका मुद्दाहरू पुन: अनुसन्धान गरिनुपर्ने बताएका छन्।

द्वन्द्वका बेला हजारौँलाई यातना दिएको आरोप सुरक्षा फौजमाथि पनि छ।