स्पेन: पृथकतावादीहरूलाई रिहा गर्न माग

स्पेन

तस्बिर स्रोत, Getty Images

Published

क्याटलान स्वतन्त्रता पक्षधर नेताहरूलाई थुनामा राखेको विरोधमा निकालिएको प्रदर्शनमा तीन लाखभन्दा बढी मानिस सहभागी भएको बार्सिलोनास्थित प्रहरीले बताएको छ।

गत अक्टोबरमा स्पेनबाट अलग हुनका लागि विवादास्पद जनमत संग्रह गरिएयता क्याटलोनिया क्षेत्रमा संकट जारी रहेको छ।

जनमत संग्रहका क्रममा कानूनको उल्ल्द्धन संलग्न भएको आरोप लगाउँदै दुई जना स्वतन्त्रता पक्षधर अभियानकर्मीलाई थुनामा राखिएको छ महिना पुगेको बेला ती विरोधप्रदर्शनहरू भएका छन्।

बार्सिलोनाका मुख्य चोकहरुमा गरिएका शान्तिपूर्ण विरोधमा ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएको र तिनीहरुले राजनीतिक आस्थाका बन्दीहरूलाई रिहा गर्नुपर्ने नारा लगाएको बीबीसीका युरोप क्षेत्रीय सम्पादक ड्यानी एबरहार्डले बताउँछन्।

समर्थन

ती प्रदर्शनकारीहरूले पहेलो रंगको रिबन बाँधेका थिए र त्यही रंगको टिसर्ट लगाएका थिए।

प्रदर्शनका क्रममा धेरैजनाले स्वनिर्वासनमा रहेका स्वतन्त्रता पक्षधर नेताहरूप्रति समर्थन जनाउँदै क्याटलोनियाको पृथकतावादी झण्डा फहराएका थिए साथै स्वतन्त्रताको माग गरिएका सन्देश लेखिएका प्लाकार्डहरू बोकेका थिए।

जनमतसंग्रहपछि मड्रिडस्थित केन्द्रीय सरकारले क्याटलान क्षेत्रीय संसद्लाई बर्खास्त गरिदिएको थियो र प्रत्यक्ष शासन लागू गरेको थियो।

साथै त्यहाँ नयाँ चुनाव गराइएको थियो जसमा स्वतन्त्रता-पक्षधर दलहरू झिनो मत अन्तरले विजयी भएका थिए।

अस्वीकार

स्पेनका विभिन्न कारागारहरुमा हिरासतमा राखिएका अन्य नौजना नेताहरुले विद्रोह र देशद्रोहको आरोपमा हुने सम्भावित सुनुवाइ कुरिरहेका छन्।

प्रदर्शनकारीहरुले नियन्त्रणमा लिइएका ती दुईजनासँगै अन्य क्याटलान नेताहरूलाई राजनीतिक आस्थाका बन्दीका रुपमा हेर्छन्।

तर मड्रिडस्थित अधिकारीहरूले पृथकतावादी नेताहरू‚ राजनीतिक आस्थाको बन्दी भएको अस्वीकार गरेका छन् र गैरकानुनी जनमत संग्रह गराउन उनीहरूले खेलेको भूमिकाका लागि उनीहरूले स्वतन्त्र न्यायिक प्रकियाको सामना गर्नुपर्ने बताएका छन्।