निर्वाचनमा सहभागी हुन्छौं: पुज्डमोन

कार्लस पुज्डमोन

तस्बिर स्रोत, Reuters

Published

स्पेनमा केन्द्र सरकारले बर्खास्त गरेको क्याटलान नेता कार्लस पुज्डमोनले पृथकतावादीहरुले आगामी डिसेम्बरमा क्याटलोनियामा हुने क्षेत्रीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

ब्रसल्समा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले स्पेन सरकारले गराउने उक्त निर्वाचनको नतिजा आफूहरुले स्वीकार्ने बताए र स्पेन सरकारलाई पनि त्यसै गर्न चुनौती दिए।

हाल बेल्जियममा रहेका ति क्याटलान नेता कार्लस पुज्डमोनले आफू त्यहां शरण खोज्नका लागि नभइ युरोपेली संघको राजधानीबाट आफ्नो आवाज सुनाउनका लागि आएको बताएका छन्।

उनले जोड दिंदै भने, "इयुले स्पेनी दमनको विरुद्ध नबोलेमा सबैले नै ठूलो मूल्य चुकाउनु पर्नेछ।"

सार्वजनिक

गत हप्ता स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि उनी ब्रसल्समा आफ्ना केही सहकर्मीका साथ सार्वजनिक रुपमा प्रस्तुत भएका थिए।

स्पेनको केन्द्रीय सरकारले क्याटलोनियामा प्रत्यक्ष नियन्त्रण कायम गरेको छ। र उक्त क्षेत्रले गरेको प्रतिबन्धित स्वतन्त्रता घोषणापछि त्यहांका अधिकारीहरुलाई पदबाट बर्खास्त गरेको छ।

पुज्डमोनले आफूले कानुनबाट भाग्न नभई स्वतन्त्र रुपमा आफ्नो भनाई राख्‍न चाहेको बताएका छन्।

शुक्रबारको क्याटलान स्वतन्त्रता घोषणालाई स्पेनको संवैधानिक अदालतले निलम्बन गरिदिएपछि आयोजित एक पत्रकार सम्मेलनमा उनले ती कुरा बताएका हुन्।

नतिजा

पक्ष र विपक्षमा प्रदर्शन

तस्बिर स्रोत, EPA/GETTY IMAGES

पुज्डमोनले आगामी डिसेम्बर २१ तारिखमा क्याटलोनियामा हुने निर्वाचनको नतिजा आफूले स्वीकार गर्ने बताए।

देशको संविधानको धारा १५५ लाई सकृय तुल्याउंदै स्पेनको केन्द्र सरकारले क्याटलोनियाको स्वायत्ततालाई अस्थायी रुपमा निलम्बन गरी निर्वाचनको घोषणा गरिसकेको छ।

मड्रिडमा संवैधानिक अदालतले गत शुक्रबार क्याटलान संसदले गरेको स्वतन्त्रता घोषणालाई बदर गरिदिएको छ।

देशको सर्वोच्च अदालतले स्वतन्त्रता घोषणा सम्बन्धी प्रस्ताव संसदमा अघि बढाएकोमा क्याटलान सभामुख र उनका अन्य पांचजना संसदीय सहकर्मीहरु विरुद्ध विद्रोहका अभियोगहरुमा सुनुवाई गर्न सहमति जनाएको छ।