इजरेली प्रधानमन्त्रीद्वारा भ्रष्टाचारका आरोप अस्वीकार

तस्बिर स्रोत, AFP/Getty
भ्रष्टाचारको आरोपमा आफूमाथि मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यसको कडा प्रतिवाद गरेका छन्।
आफूले केही गल्ती नगरेको भन्दै उनले ती आरोपहरू पक्षपातपूर्ण र आधारहीन भएको बताएका छन्।
स्थिर
प्रधानमन्त्री नेतान्याहुले आफ्नो गठबन्धन सरकार स्थिर रहेको र चाँडो चुनाव गराउने उनको कुनै योजना नरहेको बताएका छन्।
तर विपक्षी सांसदहरूले भने उनको राजीनामाको माग गरेका छन्।
उनीविरुद्ध औपचारिक अभियोगह लगाउने कि नलगाउने भन्नेबारे इजरेलका महान्यायाधिवक्ताले विचार गरिरहेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images
यसका लागि महान्यायाधिवक्ताको कार्यालयले महिनौँ लगाउन सक्ने बताइएको छ।
आरोप के के?
प्रहरीका अनुसार उनीहरूसँग दुईवटा भिन्नाभिन्नै मामिलामा नेतान्याहुविरुद्ध घुस लेनदेन, ठगी तथा विश्वासघातका प्रमाण छन्।
उनले एक इजरेली पत्रिकालाई आफूबारे राम्रो सामग्री प्रकाशन गर्न लगाएको र त्यसको साटो सो पत्रिकाको प्रतिस्पर्धीलाई नियन्त्रण गर्ने आश्वासन दिएको आरोप छ।
दोस्रो आरोप चाहिँ उनले हलिवुडमा बस्ने एक जना अरबपति व्यापारी र अरू समर्थकहरूबाट झन्डै तीन लाख डलर मूल्यका महंगा उपहार स्वीकार गरेको भन्ने छ।
अठसट्ठी वर्षीय नेतान्याहुले प्रधानमन्त्रीको रूपमा १२ वर्ष बिताइसकेका छन्।
पछिल्ला आरोप लागेपछि उनले इजरेली टेलिभिजनमा बोल्दै आफूले आफ्नो कार्यकालमा विभिन्न १५ वटा छानबिन र सोधपुछ बेहोरिसकेको बताए।
केही छानबिनमा प्रहरीले पहिला पनि मुद्दा चलाउने सिफारिस गरेको तर तिनको कुनै अर्थ नभएको र यसपालि पनि केही नहुने उनको टिप्पणी थियो।
बुधवार एउटा कार्यक्रममा बोल्दै उनले राजीनामा नदिने अडान पुन: व्यक्त गरे।




















