क्यालिफोर्नियामा डढेलो लाग्दा कम्तीमा १० को मृत्यु

तस्बिर स्रोत, AFP/GETTY
अमेरिकाको क्यालिफोर्निया राज्यको अंगुर बगानमा अनियन्त्रित डढेलो लाग्दा कम्तीमा १० जनाको ज्यान गएको छ भने हजारौं घर छोडेर भाग्न बाध्य भएका छन्।
अंगुर बगानमा लागेको उक्त डढेलोका कारण ठूलो संख्यामा मानिसहरु अन्यत्र सरेका छन् भने कम्तीमा १५ सय घरहरु ध्वस्त भएका छन्।
अधिकारीहरुले क्यालिफोर्नियाको सोनोमा काउन्टीमा मात्रै सातजनाको मृत्यु भएको बताएका छन्।
आपतकाल
क्यालिफोर्निया राज्यमा एकदमै खतरा खालको डढेलो लागेपछि त्यहाँका नापा, सोनोमा र युवा काउन्टीहरुबाट करिब २० हजार मानिसहरुलाई अन्यत्र सारिएको छ।
क्यालिफोर्नियाका गभर्नरले आपतकाल घोषणा गरेका छन्।
उक्त घोषणामा भनिएको छ, "यो डढेलोले थुप्रै संरचनाहरु भत्काएका छन्। हजारौं घरका बासिन्दाहरु त्रसित छन् र उनीहरुले घर छोडेर अन्यत्र जानुपर्ने हुनसक्छ।"
आइतबार राति उक्त क्षेत्रमा कसरी आगो लाग्न सुरु भयो भन्ने कुरा अझै थाहा भएको छैन।

तस्बिर स्रोत, Getty Images
चेतावनी
अंगुर बगानमा काम गर्ने दर्जनौं कामदारहरुलाई राति नै हवाइमार्गबाट सुरक्षित ठाउँमा लगिएको बताइएको छ।
तीब्र हावा, तातो र सुख्खा मौसमका कारण आगो तीब्र गतिमा फैलिरहेको छ।
मौसमसम्बन्धी राष्ट्रिय सेवाले सान फ्रान्सिस्को क्षेत्रमा आगो तीब्र गतिमा फैलिनसक्ने भन्दै चेतावनी जारी गरेको छ।
गत सेप्टेम्बरमा क्यालिफोर्नियाको लस एन्जेलस सहरमा पनि इतिहासमै ठूलो आगलागी भएको थियो।
दसौंहजार रोपनी जग्गामा फैलिएको अहिलेको डढेलो क्यालिफोर्नियाले देखेको सबैभन्दा बढी क्षति पुर्याएको डढेलो हो।




















