तीनवटा प्रदेशमा मतदान शुरु

नेपालमा २० वर्षपछि भइरहेको स्थानीय तहको चुनाव अन्तर्गत तीन वटा प्रदेशहरुमा मतदान बिहान ७ बजे शुरु भएको छ।
३४ वटा जिल्लाका स्थानीय तहमा भइरहेका चुनावमा करिब ५० हजार उम्मेदवारहरु प्रतिस्पर्धामा छन्।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, "प्रदेश नम्बर ३, ४ र ६मा बिहान सात बजेदेखि मतदानको काम शुरु भइसकेको छ, २८३ वटा स्थानीय तहमध्ये २ वटामा पहिले नै निर्विरोध भइसकेको छ, २८१ वटा स्थानीय तहका लागि ६ हजार ६ सय भन्दा बढी मतदान केन्द्रहरुमा मतदान भइरहेका छन्।"
महत्व

तस्बिर स्रोत, Prakash Dahal
प्रधानमन्त्री प्रचण्डले गृहजिल्ला चितवन पुगेर मतदान गरेको त्यहाँ स्थित हाम्रा संवाददाता ईश्वर जोशीले जानकारी दिएका छन्।
भरतपुर नगरपालिकाको मेयर पदमा प्रधानमन्त्रीकी छोरी रेणु दाहालले प्रतिस्पर्धा गरिरहेकी छन्।
बाँकी ४ वटा प्रदेशमा जेठ ३१ गतेका लागि स्थानीय तहको दोस्रो चरणको मतदानको मिति निर्धारण गरिएको छ।

त्यसअघि नै असन्तुष्ट तराई केन्द्रित दलहरुसँग संविधान संशोधनमा सहमति कायम गरी उनीहरुलाई पनि चुनावमा सहभागी गराउने प्रयास गरिने सत्तारुढ नेताहरुले बताएका छन्।
स्थानीय तहको चुनावलाई अघिल्लो वर्ष नेपालमा जारी भएको संविधानले व्यवस्था गरेको संघीय शासन व्यवस्थाको कार्यान्वयनको एउटा मुख्य कडीका रुपमा हेरिएको छ।




















