नेपालले हङ्कङलाई सजिलै हरायो, त्रिकोणीय शृङ्खलामा लगातार दोस्रो जित

- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
एक समय असोसियट क्रिकेटमा नेपाल र हङ्कङबीच कडा प्रतिस्पर्धा हुने गर्थ्यो।
हङ्कङ टोलीको प्रदर्शन चुनौतीपूर्ण हुन्थ्यो। राष्ट्रिय टोलीमात्र होइन, नेपालमा हुने फ्रेन्चाइज लीगमा समेत हङ्कङका खेलाडीहरू स्टार हुन्थे।
तर पछिल्लो केही समय नेपाली क्रिकेटले गरिरहेको प्रगतिसामु अहिले हङ्कङ फिक्का देखिन थालेको छ। बिहीवार मूलपानी क्रिकेट मैदानमा पनि त्यस्तै भयो।
नेपाली बलरहरूको आक्रमणको धार थेग्न नसकेपछि हङ्कङ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलामा नेपालका अगाडि सजिलै घुँडा टेक्न बाध्य भयो।
बुधवार यूएईलाई पराजित गरेको नेपालको यो लगातार दोस्रो जित हो।
तीन राष्ट्रबीच सुरु भएको त्रिकोणात्मक शृङ्खला डबल राउन्ड रोबिन लीगको आधारमा सञ्चालन भइरहेको छ।
नेपालले १३.५ ओभरमा ९९ रन बनायो। विजयका लागि छक्का प्रहार गरेका कप्तान रोहित पौडेलले अविजित २५ रन बनाए भने गुलशन झाले पाँच बलमा १४ रन बनाए।
नेपालको जितमा आशिफ सेखले ४२ रनको योगदान दिए। ओपनर कुशल भुर्तेल आठ रन बनाएर आउट भएका थिए भने कुशल मल्लले एक मात्र मात्र बनाउन सके।
नेपाली बलिङको धार

नेपालले बलिङमा उत्कृष्ट सुरुवात गर्यो। करण केसीले मूलपानी मैदानमा फ्यालेको पहिलो बलमा नै विपक्षी टोलीका कप्तान निजाकत खान बोल्ड गरिदिए।
त्यसपछि विपक्षी हङ्कङका खेलाडीहरू क्रीजमा सम्हालिन सकेनन् र क्रमशः विकेट गुमाउन पुगे।
उनीहरू नेपालका तीव्र गतिका बलरहरूसँग खेल्न निकै सङ्घर्ष गर्नुपरेको थियो।
तेस्रो ओभरमा भरपर्दा खेलाडी अंशे रथ (७ रन) पनि करण केसीकै सिकार बन्न पुगे। चौथो ओभरमा मार्टिन कोयट्जी (२ रन) लाई सोमपाल कामीले बोल्ड गरिदिए।
नेपाली दर्शकसामु चर्चा कमाएका खेलाडी बाबर हायात (५ रन) लाई पनि करण केसीले आउट गरिदिए। कुशल भुर्तेलले हायातले प्रहार गरेको शट क्याच गरेका थिए।
नवौँ ओभरमा अजिज खानको विकेट कुशल मल्लले लिए।

एक समय टोली ३३-५ को दयनीय अवस्थामा पुगिसकेको थियो। त्यस्तो अवस्थामा यासिम मुर्ताजाले खेललाई नियन्त्रणमा राख्ने प्रयास गरे। उनलाई विकेटकीपर जिशान अलीले साथ दिए।
यी दुईले पाँचौँ विकेटका लागि ३० रनको साझेदारी गर्नु महत्त्वपूर्ण बन्यो। यासिमले ३६ रन बनाए भने जिशानले १७ रन बनायो।
यो साझेदारीका कारण टोलीको स्कोर सम्मानजनक बन्न पुगेको थियो।
राष्ट्रिय टोलीमा अघिल्लो दिन डेब्यू गरेका श्याम ढकालले बिहीवार आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनको पहिलो विकेट लिए।
जम्मा दुई ओभर बलिङ गर्ने मौका पाएका उनले जिशानको विकेट लिएका हुन्। कुशल मल्लले जिशानको क्याच समातेका थिए।
बाँकी खेलाडीहरूले दोहोरो रन जोड्न सकेनन्।
नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए भने सोमपाल कामीले दुई तथा अविनाश बोहोरा, कुशल मल्ल र श्याम ढकालको नाममा एक-एक विकेट रह्यो।
नेपाल र हङ्कङको तीन वर्षपछि भेट

नेपाल र हङ्कङबीच टी-२०आईमा तीन वर्षपछि भेट भएको हो।
सन् २०१४ को विश्वकपमा नेपालले हङ्कङलाई टी-२०आईको पहिलो खेलमा प्राप्त गरेको विजय स्मरणीय मानिन्छ।
त्यसपछि भएका चार खेलमध्ये नेपालले एक मात्र खेल जित्दा हङ्कङले तीन खेल जितेको थियो।
यसअघि नेपाल र हङ्कङबीच २०२० मा एसीसी टी-२० ईस्टर्न रिजनमा प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपाल ४३ रनले पराजित भएको थियो।
जारी त्रिकोणात्मक शृङ्खलामा नेपालको हङ्कङसँगको प्रतिस्पर्धालाई भने निकै महत्त्वपूर्ण रूपमा हेरिएको छ।
किनकि त्रिकोणात्मक शृङ्खलालगत्तै काठमान्डूमा सुरु हुने टी-२० विश्वकप छनोटमा अर्को समूहमा रहेको हङ्कङसँग नेपालको भेट सेमिफाइनलमा हुने सम्भावना छ।
अनि सेमिफाइनल चरण पार गरेर फाइनल पुग्नासाथ नेपाल टी-२० विश्वकपमा छनोट हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















