बिहानसम्म कुरा गरिरहेका पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

दमननाथ ढुङ्गाना

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: ४ मिनेट

पूर्वसभामुख दमननाथ ढुङ्गानाको ८३ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ।

कलेजोसम्बन्धी समस्याको उपचारका क्रममा काठमाण्डूको एक निजी अस्पतालमा आइतवार दिउँसो २ बजे ढुङ्गानाको निधन भएको उनका सहयोगी समेत रहेका भान्जा सुरज भट्टराईले जानकारी दिए।

परिवारका अनुसार ढुङ्गानाको कलेजोमा चार महिनाअघि ट्यूमर पहिचान भएको थियो। केही समय काठमाण्डूमा उपचार गराएर थप उपचारका लागि उनी भारतको नयाँ दिल्ली गएका थिए।

त्यसपछि ढुङ्गानाको स्वास्थ्यमा सुधार देखिएको भान्जा भट्टराईले बीबीसीलाई जानकारी दिए।

आइतवार मध्यान्हबाट अचानक श्वासप्रश्वासमा समस्या भएपछि ढुङ्गानालाई काठमाण्डूको मध्यबानेश्वरस्थित फ्रन्टलाइन अस्पताल पुर्‍याइएको थियो।

“बिहानसम्म बोल्ने गरिरहनुभएको थियो, १२ बजेतिर अचानक समस्या भएपछि अस्पताल लगियो,” उनले भने।

दमननाथ ढुङ्गाना र पद्मरत्न तुलाधर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पुराना वामपन्थी नेता तथा मानवअधिकारकर्मी पद्मरत्न तुलाधरसँग मिलेर ढुङ्गानाले विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि भूमिका निर्वाह गरेका थिए

दिउँसो २ बजे चिकित्सकहरूले उनको मृत्यु भएको घोषणा गरेको भट्टराईले बताए।

नेपालमा प्रजातन्त्र आएपछि विसं २०४८ सालबाट २०५१ सालसम्म उनी सभामुख थिए।

ढुङ्गानाले विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि भूमिका निर्वाह गरेका थिए।

ढुङ्गानाका दुई जना छोरा र एक जना छोरी छन्। उनकी श्रीमती भुवन कोइराला ढुङ्गाना प्रसिद्ध कवि हुन्।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत लगायतले पूर्व सभामुख ढुङ्गानाको निधनप्रति शोक व्यक्त गरेका छन्।

"राजनीतिकर्मी, वरिष्ठ अधिवक्ता र नागरिक अगुवाको पहिचान बनाउनुभएका ढुङ्गानाले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याउनुभएको योगदान सधैँ स्मरण हुनेछ। प्रिय ढुङ्गानाप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु," राष्ट्रपति पौडेलले भनेका छन्।

प्रधानमन्त्री ओलीले ढुङ्गानाको निधनको खबरले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै भनेका छन्, "नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु।"

प्रधान न्यायाधीश राउतले भएको अस्पतालमै पुगेर ढुङ्गानाको निधनप्रति शोक व्यक्त गरेका थिए।

सर्वसम्मत सभामुख बनेका थिए

पूर्व सभामुख दमननाथ ढुङ्गाना

तस्बिर स्रोत, Daman Nath Dhungana/FB

वरिष्ठ अधिवक्तासमेत रहेका ढुङ्गाना प्रजातन्त्र स्थापनापछिका पहिलो सभामुख हुन्।

विसं २०४६-४७ सालको आन्दोलनताका नेपाली कांग्रेसको प्रवक्ता रहेका ढुङ्गाना २०४८ सालको निर्वाचनमा काठमाण्डूबाट निर्वाचित हुने कांग्रेसका एक्लो सांसद थिए।

काठमाण्डू क्षेत्र नम्बर २ बाट संसद्‌मा निर्वाचित भएका उनी सर्वसम्मत सभामुख चयन भएका थिए।

पहिलो सभामुखका लागि तत्कालीन नेकपा एमालेका झलनाथ खनालले पनि उम्मेदवारी दिएका थिए।

तर मदन भण्डारी र भरतमोहन अधिकारी प्रस्तावक र समर्थक रहेको खनालको उम्मेदवारी पछि फिर्ता लिइएको थियो।

आफू जीवित छँदा अनलाइनखबर डट कमलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, “त्यो बेला मबाहेक दोस्रो व्यक्ति सभामुख भएको भए वामपन्थीहरू प्रति त्यत्तिको उदार र सहनशील हुन्थेन होला।”

प्रजातन्त्र पुनर्स्थापनापछि २०४७ को संविधान जारी गर्न उनले निभाएको भूमिकाका कारण उनलाई वामपन्थी दलहरूले पनि सम्मान गर्ने गरेका छन्। विसं २०४७ सालको संविधानको मस्यौदा बनाउन गठित आयोगमा ढुङ्गाना नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि थिए।

गत एप्रिलमा बीबीसीसँग कुरा गर्दै ढुङ्गानाले रवि लामिछानेको विषयमा संसद् अवरोध गर्ने कुरा कांग्रेसको "मर्यादा सुहाउँदो विषय नभएको" टिप्पणी गरेका थिए।

त्यसबेला उनले भनेका थिए, "कांग्रेसको पुँजी भनेको उसको मूल्य मान्यता, उसको साख हो। उसले त्यसमा कुनै चोट नलागोस् भनेर सोच्नुपर्छ। त्यस्तो ऐतिहासिक दल भएकाले संसदीय मर्यादाका विषयमा कांग्रेस उदाहरण बन्नुपर्छ,"

उनी २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाण्डू २ र विसं २०७४ सालको संसदीय निर्वाचनमा भक्तपुर २ बाट उम्मेदवार बने पनि उनी सफल हुन सकेनन्।

शान्ति प्रक्रियामा ढुङ्गानाको भूमिका

पूर्वसभामुख दमननाथ ढुङ्गाना

तस्बिर स्रोत, Daman Nath Dhungana/FB

मध्यावधि निर्वाचनमा पराजित भएपछि ढुङ्गाना नेपाली कांग्रेसको सक्रिय राजनीतिबाट अलग भएका थिए।

त्यसपछि नागरिक अगुवाको पहिचान बनाएका ढुङ्गानाले विसं २०६२-२०६३ को आन्दोलनमा सक्रिय भूमिका खेलेका थिए।

देशमा एक दशक सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा माओवादीलाई हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन नागरिकका तर्फबाट आग्रह गर्ने अगुवाहरूमध्ये ढुङ्गाना पनि एक थिए।

पछि उनी माओवादीसँगको शान्ति वार्तामा सहजकर्ताको भूमिकामा पनि सक्रिय रहे।

राजनीतिमा आउनुअघि अधिवक्ता रहेका ढुङ्गाना कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार असोसिएशनमा दुई पटक सचिव र सर्वोच्च अदालत बार असोसिएशनको अध्यक्ष भएका थिए।

उनले वकालत गर्नुअघि केही समय अध्यापन र पत्रकारितासमेत गरेका थिए। उनलाई पछिल्लो डेढ दशकयता उच्च रक्तचाप र मधुमेहको समेत समस्या थियो।

रातोपाटी डटकमलाई विसं २०७८ सालमा उनले दिएको अन्तर्वार्तामा भनेका थिए, “मृत्यु स्वाभाविक हो। जन्मेपछि मर्नैपर्छ। त्यसलाई कुनै विशेष रूपमा हेरेको छैन।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।