जनकपुरलाई 'विवाह गन्तव्य' बनाउने बालेनको घोषणायता कति प्रगति?

विवाह समारोहको एउटा तस्बिर
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ६ मिनेट

नेपाललाई 'विवाह गन्तव्य'का रूपमा रोज्न भारतीयहरूलाई आकर्षित गर्न कतिपय नीतिगत व्यवधानहरू सम्बोधन गरिदिनुपर्ने निजी क्षेत्रले बताइरहँदा त्यसका लागि सहजीकरण गर्ने पक्षमा सरकार रहेको अधिकारीहरूले बताएका छन्।

यसै साता प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'सँगको भेटवार्तामा होटेल व्यवासायी सङ्घका प्रतिनिधिहरूले भारतीय जोडीहरूलाई आकर्षित गर्नका लागि गरगहनासहितका सामग्री ल्याउने प्रक्रिया सहज बनाउन ध्यानाकर्षण गराएको उनीहरूले बताएका थिए।

आफ्नो चुनावी अभियानमा क्रममा जनकपुरलाई विवाह गन्तव्यका रूपमा 'ब्रान्डिङ' गर्ने धारणा राखेका प्रधानमन्त्री वालेन्द्र शाहको सरकारले यो आर्थिक वर्षको बजेटमा पनि त्यसैअनुसारको एउटा बुँदा उल्लेख गरेको छ।

स्थानीय व्यवसायीहरूले देखिने गरी जनकपुरमा विवाहसम्बन्धी पर्यटन प्रोत्साहनका लागि सरकारले काम नगरेको बताइरहँदा अधिकारीहरूले नेपाल र भारतका विभिन्न ठाउँहरूमा प्रचारात्मक कार्यक्रम गरिएको र यो वर्ष पनि विभिन्न त्यस्ता कार्यक्रमहरूलाई जारी राखिने बताएका छन्।

उसो त आक्कलझुक्कल विभिन्न पर्यटकीय केन्द्रहरू र उच्च हिमाली भूभागमा आएर विदेशीहरूले औँठी साटासाट गरेका र विवाह गरेका खबरहरू विगतमा पनि आउने गरेका थिए।

पछिल्ला केही वर्षहरूमा काठमाण्डू, सौरहा र पोखराजस्ता पर्यटकीय गन्तव्यहरू र भारतको पश्चिम बङ्गाल, बिहार र उत्तर प्रदेशसँग सिमाना जोडिएका कतिपय नेपाली सहरहरूमा समेत यस्ता विवाहहरू हुने गरेका अधिकारीहरू बताउँछन्।

बालेनको त्यो भाषण र अहिलेको तयारी

यसपालि आफ्नो चुनावी अभियानका क्रममा जनकपुरमा सम्बोधन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका वालेन्द्र शाह 'बालेन'ले रामजानकीको विवाह भएको मानिने "पवित्र भूमि" छाडेर नेपालीहरू 'डेस्टिनेशन वेडिङ'का लागि भारतको जयपुर र इन्डोनेशियाको बाली जाने गरेको उल्लेख गरेका थिए।

यसपालिको बजेट भाषणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले जनकपुरलाई विवाहको गन्तव्य रूपमा ब्रान्डिङ गर्ने उल्लेख गरेका थिए।

आर्थिक वर्ष २०८८१/८२ को बजेटमा पनि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले जनकपुरलाई विवाहको 'हब' र लुम्बिनीलाई 'बर्थिङ हब' बनाउने घोषणा गरेका थिए।

तर निजी क्षेत्रका प्रतिनिधिहरूले अझै पनि नीतिगत अस्पष्टताहरू रहेका भन्दै विवाह पर्यटनको गन्तव्यका रूपमा नेपाललाई प्रवर्द्धन गर्न सरकारले कैयौँ कदमहरू चाल्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

प्रधानमन्त्रीसँगको भेटमा सहभागी होटेल सङ्घ नेपालका उपाध्यक्ष दिनेश तुलाधर भन्छन्, "भारतीयहरूको यहाँका विवाह गन्तव्यमा धेरै रुचि छ। त्यसमा भएका जटिलताहरू पनि हामीले उहाँलाई ब्रीफिङ गर्‍यौँ। भारतीयहरू आउँदाखेरी गरगहना लिएर आउँछन्। त्यो ल्याउन नपाउने भएपछि विवाहको गन्तव्यको रूपमा प्रवर्द्धन गर्न अलिकति निरुत्साहित भइरहेको छ। यो कुरा हामीले राखेपछि उहाँले त्यसलाई सम्बोधन गर्ने आश्वासन पनि दिनुभएको छ।"

चुनावी अभियानका क्रममा बालेन्द्र शाह  र रवि लामिछाने जनकपुरमा सम्बोधन गर्नुअघि हात मिलाउँदै

तस्बिर स्रोत, Reuters

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्रकुमार भण्डारी प्रधानमन्त्रीले भनेजस्तै जनकपुरलाई विवाह पर्यटनको केन्द्र बनाउने दिशामा खासै काम भएको ठान्दैनन्।

उनले भने, "उहाँले बोल्नुभएको हो तर १०० प्रतिशतमा एक प्रतिशत पनि केही भएको छैन। यो रामसीताको विवाहस्थल हो। उहाँहरूले बजेट विनियोजन गरेर काम गर्नुभयो भने हुन्छ।"

जानकी मन्दिरका कारण उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटकहरू जनकपुर आउने गरेका र जनकपुरमा प्रसिद्ध विवाहमण्डप पनि रहेकाले यस गन्तव्यलाई प्रवर्द्धन गर्ने ठूलो अवसर रहेको उनले सुनाए।

जनकपुर आउने भारतीय पर्यटकहरूले कैयौँ अप्ठेरा सामना गर्नुपरेको उल्लेख गर्दै उनी थप्छन्, "भारतीय पर्यटकका हकमा जुन भन्सार छुट पुर्जी हुन्थ्यो, त्यो पहिला राति १० बजेसम्म हुन्थ्यो। अहिले ५ बजेसम्म गरिदिएको छ। अझ पैसा ल्याउन झनै समस्या छ।"

पहिला सीमामा रहेका रकम सटही व्यवसायहरू बन्द गरिएका उल्लेख गर्दै उनले थपे, "पाँच लाख रुपैयाँसमेत लिएर आउन मिल्दैन, '२५ हजार रुपैयाँ मात्रै लिएर आउनू' भन्छ। विवाहमा जुन सामानहरू उपहार दिन्छन्, त्यसमा पनि त्यो लैजाँदा भन्सार काट्नै पर्छ। यसले गर्दा पनि दुःख हुने गरेको छ।"

पर्यटन मन्त्रालयका अधिकारीहरू के भन्छन्?

अधिकारीहरू रामजानकीको 'पवित्र विवाहस्थल भएका कारण जनकपुरलाई विवाहको, पोखरालाई 'हनिमून'को तथा गौतमबुद्ध जन्मस्थल लुम्बिनीलाई 'बर्थिङ हब'का रूपमा विकास गर्ने नीति सरकारले लिएको बताउँछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्य भन्छन्, "विवाह गर्न आउँदा सांस्कृतिक रूपमा नै नेपाल र भारततिर गरगहना लगाउने चलन हुँदा गरगहनाको विषयमा हामीसँग भन्सार ऐन र कानुनहरू छन्। त्यसमा नीतिगत बाटाहरू फुकाउनुपर्ने भएकाले अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ। आस्था र संस्कृतिसँग जोडिएका कुरामा सहजीकरण गर्नुपर्छ भन्ने पक्षमा नै मन्त्रालय छ।"

जनकपुरलाई विवाहको गन्तव्यका रूपमा प्रवर्द्धन गर्न बजेट समेत विनियोजन गरिएका उल्लेख गर्दै यसलाई सन् २०२७ मा मनाइने 'आरोग्य वर्ष' र विसं २०८५ मा मनाइने 'नेपाल भ्रमण वर्ष'ले पनि टेवा पुर्‍याउने उनले सुनाए।

"अहिले प्राचीन स्मारकसम्बन्धी हाम्रो कानुन छ, त्यसमा जनकपुरलाई राष्ट्रिय स्मारक सूचीमा सूचीकृत गरेर हामी विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयासमा छौँ। यो जम्मै कुरा एकै ठाउँमा आउँदा जनकपुरको प्रवर्द्धन हुन्छ।"

जनकपुरमा विवाह पञ्चमीको दृश्य

तस्बिर स्रोत, Amit Shah

नेपाललाई विवाहको गन्तव्यका रूपमा प्रस्तुत गर्न नेपाल पर्यटन बोर्डले देशभित्र र भारतमा विभिन्न कार्यक्रमहरूको संयोजन गरेको देखिन्छ।

यसै वर्षको एप्रिलमा होटेल असोसिएशन अफ नेपाल र दिल्लीस्थित नेपाली राजदूतावाससँग मिलेर नेपाल पर्यटन बोर्डले भारतमा 'वेडिङ प्लानिङ' अर्थात् विवाह समारोहहरूको संयोजन गर्ने उद्यमीहरूसँग छलफल गरेको थियो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीका अनुसार उक्त कार्यक्रममा व्यवसायीहरूले भारतीय विवाह समारोहहरू आयोजना गर्न पनि नेपालका होटेलहरूसँग सामर्थ्य रहेको र त्यसअनुसारका पूर्वाधारहरू पछिल्लो दशकमा बनेको अवगत गराएका थिए।

उनले थपे, "अति धेरै खर्च गर्नेहरूका लागि अझै हामीसँग पूर्वाधार बनिसकेको छैन। हाम्रोमा उच्च वर्गले गर्ने खर्च भारतका विवाहमा मध्यम वर्गले गर्ने गर्छ। तराईको सीमा क्षेत्रमा पूर्वाधारहरू राम्रो हुँदै गएकाले धार्मिक र सांस्कृतिक सबै हिसाबले नेपालमा विवाह गर्न सहज हुन्छ। त्यही भएर नेपाल घरछेउको गन्तव्य बनेको छ।"

उनले बिहार राज्यमा मदिरा विक्री र खपतमा प्रतिबन्ध लगाइएको दृष्टान्त दिँदै त्यसका कारण समेत भारतबाट विवाह मात्र नभई कर्पोरेट निकायका कार्यक्रमहरू गर्न पनि तराईका होटेलहरूमा आउने क्रम बढ्दै गएको आँकडाले देखाएको सुनाए।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानले भारतीयहरूबाहेक नेपालीहरू वा पश्चिमाहरूले पनि रिजोर्ट वा अन्य गन्तव्यमा पुगेर विवाह गर्ने गरेका बताउँछन्।

मौसम, लागत र प्रकृतिसँगको निकटता सबै हिसाबले नेपाल विवाह गर्ने गन्तव्यका रूपमा उपयुक्त रहेको भन्दै यसप्रति रुचि बढी रहेको उनले सुनाए।

पर्यटन व्यवसायीहरू के भन्छन्?

होटेल असोसिएशन नेपालका प्रमुख कार्यकारी टेकबहादुर महत द्विपक्षीय सम्झौताका आधारमा 'डेस्टिनेशन वेडिङ'को लागत तय हुने भन्दै राजधानी र राजधानीबाहिर सीमावर्ती क्षेत्रमा अवस्थित होटेलहरूले विभिन्न खालको सेवा उपलब्ध गराउने गरेको बताए।

नेपाललाई दक्षिण एशियाली क्षेत्रमा विवाह गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना आफूले देखेको भन्दै यसै वर्ष नयाँ दिल्लीका 'वेडिङ प्लानर'हरूसँग गरेको छलफलबाट आफूहरू उत्साहित भएको प्रतिक्रिया उनले दिए।

पश्चिमा देशका जोडीहरूले आफ्नो कम्पनीबाट बढी सेवा लिएको बताउने गरेका लक्जरी होलिडेका प्रमुख कार्यकारी शिशिर बन्जराले आफूहरूले सगरमाथा क्षेत्रमा अवस्थित कालापत्थरमा 'इन्गेज्मेन्ट गराएको' र पोखरा अनि काठमाण्डूजस्ता सहरहरूमा विवाह समारोह आयोजना गर्ने गरेको सुनाए।

उनी भन्छन्, "हामीले उहाँहरूको रोजाइको ठाउँअनुसार कहिले मन्दिर वा कहिले होटेलमा परम्परागत नेपाली शैली वा उहाँहरूले रोजेको शैलीमा विवाह आयोजना गर्छौँ।"

"हामीले हाम्रो प्याकेज प्रतिव्यक्ति ४ देखि ५ हजार डलरबाट सुरु गरेका छौँ। हाम्रो सबैभन्दा प्रिमिअम प्याकेजका लागि हामीले २० देखि २५ हजार डलरसम्म लिएका छौँ। कहिलेकाहीँ १५-२० जनाको समूह नै आउँछन् उहाँहरूको आवश्यकताअनुसार हामीले प्याकेज पनि बनाइदिन्छौँ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।