'आधाजसो नेपाली परिवार घुमफिर गर्न गएका छैनन्'

तस्बिर स्रोत, RSS
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
नेपालमा पहिलो पटक गरिएको एक जनसाङ्ख्यिक सर्वेक्षणले देशको आधाजसो परिवारका कम्तीमा एक जना घुमफिर गर्न गएको देखाएको अधिकारीहरूले बताएका छन्।
"तर आधाजसो परिवार आफ्नो जीवनकालमा एउटा पनि पर्यटकीय गन्तव्यमा घुमफिर गर्न गएको देखिँदैन। यो निकै ठूलो हिस्सा हो," राष्ट्रिय तथ्याङ्क कार्यालयका उप-प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले बीबीसीसँग भने। "आन्तरिक पर्यटनको योगदान हामीले सोचेजस्तो सामान्य छैन।"
आन्तरिक पर्यटन सर्वेक्षणमा देशभर रहेका करिब ६९ लाख परिवारमध्ये ५२ प्रतिशतजति आन्तरिक पर्यटनमा निस्कँदा अर्थतन्त्रमा झण्डै एक खर्ब ४४ अर्ब रुपैयाँको योगदान रहेको देखिएको छ।
जबकि प्रचलित मूल्यमा नेपालीहरूले आन्तरिक र बाह्य पर्यटनमा वार्षिक ७ खर्ब ७ अर्ब रुपैयाँ खर्च गर्ने गरेको आर्थिक वर्ष २०८१/८२ मा गरिएको उक्त सर्वेक्षणमा जनाइएको छ।
पर्यटनकर्मीहरूको एक संस्था प्यासिफिक एसिया ट्राभल असोशिएसन (पाटा), नेपालका अध्यक्षले "पर्यटनलाई स्थायित्व दिने पक्ष आन्तरिक पर्यटन भए तापनि नेपालमा त्यो कमजोर देखिनुलाई चिन्ताजनक ठानेर काम गर्नुपर्ने" बताउँछन्।
"जहाँ आफ्नै देशका मानिसहरू रमाउन सक्दैनन्, उनीहरू पर्यटनका लागि तयार छैनन् भन्ने बुझिन्छ। तर नेपाल त्यस्तो होइन र त्यस्तो भाष्य स्थापित हुन दिनुहुँदैन," पाटा-नेपालका अध्यक्ष खेम लकाई भन्छन्।
घुमफिरमा युवा पुस्ता

उप-प्रमुख तथ्याङ्क अधिकारी तथा प्रवक्ता ढुण्डीराज लामिछानेले आन्तरिक पर्यटनका क्षेत्रमा समेत ठूलो खर्च हुने प्रवृत्ति रहेको बताउँदै त्यसमा युवा पुस्ता सबैभन्दा उल्लेख्य रूपमा रहेको बताउँछन्।
४४ वर्ष उमेरसम्मका व्यक्तिहरूले धेरै घुमफिर गर्ने गरेको पाइए तापनि त्यसभित्रै पनि २७ वर्षे उमेरभित्रका जेनजी पुस्ता करिब एक चौथाई हिस्सासाथ अग्रणी रहेको प्रवक्ता लामिछाने बताउँछन्।
"त्यसले पर्यटनको संस्कृति विकासमा योगदान दिइरहेजस्तो देखाउँछ," लामिछाने भन्छन्।
"आर्थिक आकारमा मध्यवर्ती खर्चहरू कटाउनुपर्छ। त्यसरी हेर्दा उक्त सर्वेक्षणले त्यसबेलाको देशको अर्थतन्त्रको आकार ५४ खर्ब ५४ अर्ब रुपैयाँ रहेकोमा आन्तरिक पर्यटनको २.६५ प्रतिशत यस क्षेत्रले योगदान गरेको देखिन्छ," उप-प्रमुख तथ्याङ्क अधिकारी एवम् तथ्याङ्क कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेले बीबीसीसँग भने।
"विदेशी पर्यटकहरूको नेपालमा हुने खर्च र उपभोगको पूर्ण मूल्याङ्कनपछि पर्यटनको सम्पूर्ण चित्र थाहा हुन्छ। त्यो काम हामीले यस आर्थिक वर्षमा सम्पन्न गर्छौँ।"
पाटा-नेपालका अध्यक्ष खेम लकाईले चीन, अमेरिका, जापान, अस्ट्रेलियाजस्ता देश आन्तरिक पर्यटनमा बलियो देखिएको बताउँदै त्यसले जस्तोसुकै अन्तर्राष्ट्रिय घटनाक्रममाझ पनि ठूलो क्षतिहरू नबेहोरेको बताउँछन्।
"हामी धेरैलाई लागेजस्तो यो आर्थिक समस्या वा खर्च गर्न नसक्ने अवस्था मात्र होइन। यो आफ्नो देशलाई राम्रोसँग चिन्न नसकेको अवस्था हो। यो हाम्रो घुमघाम संस्कृतिको पक्ष पनि हो। त्यसैले यस सर्वेक्षण हामी सबैका लागि सचेत र सजग गराउने विषय बन्नुपर्छ," लकाईले थपे।
नेपाल पर्यटन बोर्डका अधिकारीहरूले हरेक तीन-चार वर्षमा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा केही न केही भइरहने प्रवृत्तिमाझ बारम्बार नेपालको पर्यटन मारमा परेको बताउँछन्।
तुलना
यो व्यक्तिलाई नभईकन घरपरिवारले गर्ने आन्तरिक पर्यटनलाई मात्र आधार मानेर गरिएको सर्वेक्षण रहेको अधिकारीहरूको भनाइ छ।
जसक्रममा नेपालभरिबाट ५,३०० जति घरपरिवारलाई सहभागी गराउँदै वर्षभरका सबै महिना विवरण सङ्कलन गरिएको थियो।
"किनकी यसले पर्यटन हुने याम देखाउँछ। जस्तो असोजदेखि मङ्सिर बीचमा नेपालमा सबैभन्दा धेरै घुमफिर भएको देखिन्छ," लामिछाने भन्छन्। "औसतमा एउटा परिवारले पर्यटनमा दैनिक ४०० रुपैयाँ खर्च गरेको देखिन्छ।"
विदेशीहरूले नेपालमा औसत करिब करिब २ साता बिताए तापनि उनीहरूको औसत खर्च दैनिक करिब ४० अमेरिकी डलर रहेको देखिन्छ।
यस सर्वेक्षणले रात बिताउने आन्तरिक पर्यटकको भ्रमणको औसत अवधि ५.३३ दिन रहेको देखाउँछ।

तस्बिर स्रोत, RSS
रात नबिताईकनै एकैदिन फर्कनेहरूमध्ये सबैभन्दा धेरै किनमेलमा जानेहरू छन् भने त्यसपछि स्वास्थ्योपचार र आफन्त भेटघाटका रूपमा आन्तरिक ओहोरदोहोर भइरहेका पाइएको छ।
कम्तीमा एक रात पर्यटकीय क्षेत्रमा बिताउनेहरू सबैभन्दा धेरै छन् जो आफन्त र साथीसँगी भेट्न निस्कने गर्छन्।
तर गन्तव्यका हिसाबले नेपालीहरू जाने ठाउँ विदेशीका रोजाइकै पङ्तिमा पर्ने स्थानमा पाइएको छ। घुमफिरका हिसाबले चितवन र कास्की जिल्ला सबैभन्दा अगाडि रहे तापनि किनमेलका हिसाबले काठमाण्डू, भैरहवा, मोरङ रहेको तथ्याङ्क अधिकारीहरू बताउँछन्।
"सबैखाले वर्गमा काठमाण्डू, कास्की, चितवन परेकै देखिन्छन्। स्वास्थ्योपचारका दृष्टिकोणले राजधानी काठमाण्डूसहितका सहरी भेगहरू अगाडि छन्," लामिछाने भन्छन्।
पाटा नेपालका अध्यक्ष लकाईले पछिल्ला समय पदयात्रा मार्गहरूमा युवापुस्ताको बेजोड लहर देखिएको पक्ष औँल्याउँदै त्यसले केही सकारात्मक सङ्केत देखाउने बताउँछन्।
तर त्यसबाहेक रणनीतिक रूपमा प्राथमिक तहदेखि व्यावसायिक जगतसम्म प्रोत्साहन र प्रवर्द्धनका काम हुन आवश्यक छ।
"पर्यटन सूचना, आवासीय पूर्वाधार, यातायातका सुविधासहित पर्यटनको मर्म बुझ्ने जनशक्तिसँग जोडिएर फस्टाउँछ। त्यसमा अझ बढ्ता काम गर्न आवश्यक छ," लकाईको भनाइ छ।
सन् १९९८ को पर्यटन वर्ष मनाउँदा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको नेपालले सन् २०३२ सम्ममा ३५ लाख पुर्याउने नयाँ लक्ष्य अघि सारेको छ।
तर अझै वार्षिक रूपमा नेपाल आउने पर्यटकको सङ्ख्या १० लाख आसपासमा मात्र देखिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















