तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अस्वाभाविक कि अनुमानयोग्य? विश्वकपमा युरोप कसरी हाबी भइरहेको छ
- Author, ग्यारी रोज
- Role, बीबीसी खेलकुद संवाददाता
- Published
- पढ्ने समय: ५ मिनेट
इतिहास हेर्दा युरोपेली टोलीहरूले युरोपबाहिर आयोजना हुने विश्वकपमा राम्रो प्रदर्शन गर्दैनन्।
सन् १९३० यता उनीहरूले युरोपबाहिर दुई पटक मात्र उपाधि जितेका छन्- सन् २०१० मा दक्षिण अफ्रिकामा स्पेन र त्यसको चार वर्षपछि ब्राजिलमा जर्मनी विजयी भएको थियो।
तर सन् २०२६ मा यो सूचीमा अर्को देश सामेल हुने सम्भावना प्रबल रहेको छ किनकि क्वार्टरफाइनलमा पुग्ने आठ टोलीमध्ये छ युरोपकै छन्।
ती टोलीहरू बेल्जिअम, इङ्ग्ल्यान्ड, फ्रान्स, नर्वे, स्पेन र स्विट्जरल्यान्ड हुन्। आर्जेन्टिना र मोरक्कोले सूचीलाई पूर्णता दिन्छन्।
सन् १९९४ यता युरोपबाहिर आयोजित विश्वकपमा यति ठूलो सङ्ख्यामा युरोपेली टोलीहरू पहिलो पटक क्वार्टरफाइनलमा पुगेका छन्।
युरोपेली टोलीहरू कति बलिया छन्?
हाल जारी फुटबल विश्वकपमा युरोपेली टोलीहरूले असाधारण रूपमा राम्रो प्रदर्शन गरेका छन्, तर प्रारम्भिक चरणमा उनीहरूको ढिलो सुरुवातले केही प्रश्नहरू निम्त्याएको छ। यसपालि विश्वकपमा सुरुमा खेल्ने १० युरोपेली टोलीहरूमध्ये सात टोली समूह चरणमा पहिलो खेल जित्न विफल भए।
प्रतियोगिता सुरु हुनुभन्दा अगाडि उत्तर अमेरिकामा रहेको अत्यधिक गर्मी उनीहरूको छलफलको विषय थियो र इङ्ग्ल्यान्डलगायत धेरै टोलीले सुरुवाती खेलहरूभन्दा अगाडि न्याना क्षेत्रहरूमा शिविर खडा गरेर मौसमसँग अभ्यस्त भएका थिए।
तर केही प्रबन्धकहरूले टोलीहरूको ढिलो सुरुवातका निम्ति अवस्थालाई दोष दिए।
बेल्जिअमले इजिप्टसँगको बराबरी खेलेपछि टोली प्रमुख रुडी गार्सियाले भने, "१० डिग्री होओस् अथवा ३० डिग्री, हामीले राम्रो प्रदर्शन गर्नुपर्थ्यो।"
अर्कोतर्फ स्विट्जरल्यान्डका प्रशिक्षक मुरात याकिनले कतारसँग १-१ को बराबरीपछि आफ्नो टोलीको खराब सुरुवातको दोष परिस्थितिमाथि नभई गोल गर्ने क्षमताको कमीमाथि लगाए।
तर युरोपेली टोलीहरू क्रमशः लयमा फर्के र समूह चरणका खेलको अन्त्यसम्ममा ती टोलीहरूले गैरयुरोपेली टोलीहरूविरुद्ध १७ जित, १२ बराबरी र ७ वटा पराजयको रेकर्ड बनाए।
नकआउट चरणमा पनि केही युरोपेली देशहरूले प्रतिकूलताको सामना गर्दागर्दै प्रभावशाली प्रदर्शन गरेका छन्।
एज्टेका रङ्गशालामा मेक्सिकोविरुद्ध इङ्ग्ल्यान्डको चुनौतीपूर्ण यात्राको धेरै चर्चा भयो। त्यहाँ उनीहरूले उक्त स्थानको उचाइ र प्रतिकूल भिडको सामना गर्नुपर्यो।
तर उनीहरूले दुवै चुनौतीहरू पार गर्दै अर्को चरणमा पुग्न उत्कृष्ट खेल प्रदर्शन गरे।
"यसले हामीसँग विश्वकप जित्न सक्षम टोली छ भनेर प्रमाणित गर्छ। यो जितले खेलाडीहरूलाई दिने आत्मविश्वास ठूलो छ," जितपछि इङ्ग्ल्यान्डका भूतपूर्व स्ट्राइकर वेन रूनीले बीबीसी स्पोर्टसँग भने।
पाराग्वेको 'अदृश्य रणनीति' लाई पन्छाउँदै फ्रान्स अन्तिम आठमा पुग्यो भने बेल्जिअमले घरेलु दर्शकहरूको अपेक्षासँग जुध्दै अन्तिम १६ मा सहआयोजक संयुक्त राज्य अमेरिकालाई उसले सहजै पराजित गर्यो।
अब सेमिफाइनलमा आफ्नो स्थान बनाउन उसले युरोपेली च्याम्पिअन स्पेनको सामना गर्ने छ।
"बेल्जिअमबाट उत्साहजनक सङ्केतहरू देखिएका छन्। उनीहरूले स्पेनको उत्कृष्ट मिड्फील्डविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ," इङ्ग्ल्यान्डका पूर्वडिफेन्डर म्याट अप्सनले बीबीसी वानसँग भने।
कति अपेक्षित?
प्रतियोगिताको यो चरणमा युरोपको बलियो उपस्थिति हुने अपेक्षा सधैँ नै गरिएको थियो किनकि उनीहरूलाई विश्वकपमा १६ वटा स्थान प्रदान गरिएको छ- जुन अन्य कुनै पनि महादेशको भन्दा बढी हो।
यद्यपि ४८ टोलीको ढाँचा र थप नकआउट राउन्डबीच उनीहरूले आफ्नो दबदबा कायम राख्न सक्नु अझै प्रशंसनीय छ।
अर्कोतर्फ पाँच पटकको च्याम्पिअन ब्राजिल बाहिरियो र प्रतियोगिताका सहआयोजक क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिका सबै अन्तिम १६ बाट बाहिरिए।
फिफा विश्ववरीयतामा युरोपेली टोलीहरूको पनि दबदबा छ। शीर्ष आठ टोलीमध्ये पाँच टोली युरोपका छन् र तीमध्ये चार टोली अन्तिम आठमा पुगेका छन्। सातौँ स्थानमा रहेको पोर्चुगल अन्तिम १६ मा स्पेनसँग पराजित भएको थियो।
फ्रान्सले विश्वकपको बलियो दाबेदारका रूपमा प्रतियोगिता सुरु गरेको थियो र अहिलेसम्म उसले अपेक्षाहरू पूरा गरेको छ।
फ्रान्सका स्ट्राइकर किलिआन एम्बाप्पे हाल सात गोलका साथ 'गोल्डेन बूट' पाउन सक्ने दाबेदारमध्ये एक रहेका छन्।
फुटबल विश्वकप सुरु हुनुभन्दा अघि बीबीसीका धेरै विज्ञहरूले पनि उनीहरूलाई ट्रफी जित्ने बलियो दाबेदारका रूपमा नाम दिएका थिए।
"फ्रान्सको आक्रमणकारी क्षमतालाई हेर्दा थकित खेलाडीहरूविरुद्ध गर्मी मौसममा अतिरिक्त समयमा उनीहरूको जितलाई कम आक्न गाह्रो छ," इङ्ग्ल्यान्डका भूतपूर्व मिड्फील्डर ड्यानी मर्फीले आफ्नो अनुमानबारे भने।
"रायन चर्की, उस्मान डेम्बेले र डिजायर डूएजस्ता खेलाडीहरू सुरुवाती लाइनअपमा नहुन सक्छन्, तर यदि उनीहरू ३० डिग्रीको चर्को तापक्रममा ७० मिनेटपछि मैदानमा आए भने उनीहरूले खेलको दिशा परिवर्तन गर्न सक्छन्।"
"मलाई लाग्छ फ्रान्स, स्पेन र इङ्ग्ल्यान्ड तीन टोली हुन्, जसले राम्रो प्रदर्शन गर्ने छन्," फ्रान्सका भूतपूर्व डिफेन्डर गायल क्लेसीले आफ्नो पूर्वानुमानबारे भने।
"स्पेनले हरेक उमेर समूहमा सबै कुरा जितिरहेको देखिन्छ। त्यसैले उनीहरू निश्चित रूपमा शीर्ष स्थानमा छन्, तर फ्रान्सेली भएकोले मैले फ्रान्सकै समर्थन गरिरहेको छु।"
आश्चर्यका प्याकेजहरू
प्रतियोगिताको यस चरणमा फ्रान्स, स्पेन र इङ्ग्ल्यान्ड नपुगेको भए यो सायद अझ आश्चर्यजनक हुने थियो। तर केही युरोपेली टोलीहरूले अपेक्षाभन्दा अझ उत्कृष्ट प्रदर्शन गरेका छन्।
नर्वेले सन् १९९८ यता पहिलो पटक विश्वकपमा आफ्नो पुनरागमनको अधिकतम फाइदा उठाइरहेको छ, जसलाई अर्लिङ होलानले अन्तर्राष्ट्रिय मञ्चमा चम्काएका छन्।
म्यान्चेस्टर सिटीका यी स्ट्राइकरले प्रतियोगितामा अहिलेसम्म सात गोल गरिसकेका छन् र शनिवार इङ्ग्ल्यान्डविरुद्धको खेलमा गोल सङ्ख्या थप्ने आशामा छन्।
यसैबीच स्विट्जरल्यान्डले पनि उत्कृष्ट प्रदर्शन गरेको छ। चुनौतीपूर्ण परिस्थितिबीच संयम राख्दै अन्तिम १६ को आफ्नो अन्तिम खेलमा कोलम्बियाविरुद्ध पेनल्टी शूटआउटमा उसले जित हासिल गर्यो।
यो जितसँगै मुरात याकिनको टोली सन् १९५४ यता पहिलो पटक विश्वकपको अन्तिम आठमा पुगेको छ। तर अब उनीहरूले डिफेन्डिङ च्याम्पिअन आर्जेन्टिनाविरुद्ध कडा चुनौतीको सामना गर्नुपर्ने छ।
"यो एउटा ऐतिहासिक क्षण हो। हामीले स्विस टोलीका लागि अहिलेसम्मकै उत्कृष्ट उपलब्धि हासिल गरेका छौँ, तर यात्रा जारी छ," याकिनले भने।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।