तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नर्वेलाई ऐतिहासिक जित दिलाएका एर्लिङ होलान, जोसँग सर्वाधिक सावधान रहनेछ इङ्ल्यान्ड
- Author, अद्वैध राजन
- Role, बीबीस स्पोर्ट्स जर्नलिस्ट
- Published
- पढ्ने समय: ६ मिनेट
एर्लिङ होलानको हल्लिँदै गरेको सुनौलो कपाल सामान्यत: फुटबल मैदानमा सबैभन्दा सजिलै खुट्याउन सकिने कुरामध्येको हो।
उनी प्रायः खुला स्थानतर्फ तीव्र गतिमा दौडिरहेका हुन्छन् र विपक्षी डिफेन्डरहरू उनलाई रोक्नका निम्ति सङ्घर्ष गरिरहेका हुन्छन्। यद्यपि आइतबार भने धेरै त्यस्तो देखिएन। तर त्यसका बाबजुद उनले दुई गोल गरे र नर्वेले ब्रजिललाई २-१ ले हराउँदै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान तय गर्यो।
पच्चिस वर्षीय होलानले अन्तिम १६ को खेलमा पेनाल्टी क्षेत्रभित्र केवल चार पटक मात्र बल छोए। तर तीमध्ये एउटा मौकालाई उनले खेलको ७९औँ मिनेटमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए।
त्यसको ११ मिनेटपछि पेनाल्टी क्षेत्रबाहिरबाट भएको उनको शक्तिशाली प्रहारले उनी विश्व फुटबलका सबैभन्दा खतरनाक स्ट्राइकरहरूमध्येका किन मानिन्छन् भन्ने फेरि प्रमाणित गर्यो। योसँगै उनले यो विश्वकपमा सात गोल पूरा गरेका छन्, जसले उनलाई किलिअन म्बाप्पे र लियोनेल मेस्सीको बराबरीमा पुर्याएको छ। सात गोलसहित उनी गोल्डेन बुटको प्रमुख दाबेदारमध्ये एक बनेका छन्।
"यस्तो गोल गर्ने अर्को खेलाडी देखिँदैन," होलानको निर्णायक गोलबारे स्कटल्यान्डका पूर्व विङ्गर प्याट नेभिनले बीबीसी रेडिओ फाइभ लाइभसँग भने, "त्यहाँ कुनै स्पष्ट अवसर नै थिएन। आधा अवसर पनि थिएन, चौथाइ अवसर पनि थिएन। केही पनि थिएन।"
"मानिसहरू प्राय: उनले कति पटक बल छुन्छन् भन्ने कुरा गर्छन्," इङ्ल्यान्डका पूर्व स्ट्राइकर इयन राइटले आईटीभीसँग भनेका छन्, "तर उनलाई धेरै पटक बल छुनै पर्दैन।"
होलानको गोलले नर्वेलाई दक्षिण अमेरिकी अनुभवी टोलीमाथि ऐतिहासिक जित दिलायो।
सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्टोल सोल्ब्याकनको टोली अब विश्व उपाधिबाट केवल तीन जित टाढा छ। अब उनीहरूको सामना अन्तिम ८ मा मेक्सिकोलाई ३-२ ले हराएको इङ्ल्यान्डसँग हुँदैछ।
तर टोलीमा खेलको दिशा परिवर्तन गर्न सक्ने होलानजस्ता खेलाडी हुँदा नर्वेले उक्त खेलमा जे पनि सम्भव हुन सक्ने ठान्ने छ।
इङ्ल्यान्डका पूर्वकप्तान वेएन रुनीले बीबीसी वनसँग भने, "उनले सिङ्गो देशलाई यो टोली यस प्रतियोगितामा धेरै परसम्म जान सक्छ भन्ने विश्वास दिएका छन्।"
नर्वेका निम्ति होलानको शानदार आँकडा
उनको अन्तर्राष्ट्रिय करिअरमा मोल्डोभाविरुद्ध पाँच गोल र पाँच ह्याट्रिक समेत समावेश छन्।
इङ्ल्यान्डका पूर्व डिफेन्डर गेरी नेभिलले आईटीभीसँग भनेका छन्, "होलान विशाल व्यक्तित्व हुन्। पहिले उनले विश्वस्तरमा आफूलाई प्रमाणित गरेका छैनन् भनिन्थ्यो। अब त्यो समाप्त भएको छ।"
होलानले वास्तवमै सबैभन्दा ठूलो मञ्चमा आफूलाई प्रमाणित गरेका छन्। उनले चार खेलमा सात गोल गरेका छन्।
समूह चरणमा उनले इराक र सेनेगलविरुद्ध दुई-दुई गोल गरेका थिए। फ्रान्ससँग ४-१ ले हारेको खेलमा उनलाई आरामका निम्ति राखिएको थियो। उक्त खेलमा नर्वेले आफ्नो टोलीमा दशवटा फेरबदल गरेको थियो।
होलानले ५४ अन्तर्राष्ट्रिय खेलमा ६२ गोल गरेका छन्, त्यो भनेको औसतमा प्रत्येक ७१ मिनेटमा एक गोल हो। अझ रोचक कुरा त तीमध्ये केवल ६ गोल पेनाल्टीबाट आएका हुन्।
म्यानचेस्टर सीटी एफ.सी.का स्ट्राइकर होलानले नर्वेका निम्ति लगातार १४ प्रतिस्पर्धात्मक खेलमा गोल गरेका छन्। त्यस अवधिमा उनले कुल २७ गोल गरेका हुन्।
अन्तिम पटक उनी सन् २०२४ को अक्टोबरमा न्याश्नल लिग अन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा मात्र आफ्नो देशका निम्ति गोल गर्न चुकेका थिए।
अन्तर्राष्ट्रय मञ्चमा होलान १-० ग्याब्रिएल
खेलअघि नै होलान र ब्रजिल तथा आर्सनल एफ.सी. का सेन्टर-ब्याक ग्याब्रिएल म्यागालिअसबीचको प्रतिस्पर्धाबारे धेरै चर्चा भएको थियो।
प्रिमिअर लिगबाट सुरु भएको यो प्रतिस्पर्धाको पछिल्लो अध्यायमा अन्तत: होलान नै अघि देखिए।
पहिलो हाफमा ग्याब्रिएलले उनलाई प्रभावकारी रूपमा रोक्दै पेनाल्टी क्षेत्रभित्र केवल एक पटक मात्र बल छुन दिए। तर खेल अघि बढ्दै जाँदा होलानका लागि पनि ठाउँ खुल्यो र ब्रजिलले त्यसको मूल्य चुकाउनुपर्यो।
पहिलो गोलमा उनले ग्याब्रिएललाई उछिन्दै हेडर गोल गरे भने दोस्रो गोलमा ब्रजिलका डिफेन्डर केवल दर्शक बन्न पुगे।
पूरै खेलमा होलानले केवल ३० पटक बल छोए, जुन मध्यान्तरमा प्रतिस्थापित गरिएका उनका साथी एन्टोनियो नुसाको बराबर थियो। उनले केवल १३ वटा पास पूरा गरे।
आर्सनल एफ.सी. का पूर्व डिफेन्डर म्याट अप्सनले बीबीसी रेडियो फाइभ लाइभसँग भने, "उनले धेरैपल्ट बल छुन्छन् र? छुँदैनन्। उनी यस्तै खेल्छन्। सही क्षणमा देखा पर्छन्।"
त्यस्तै लिभरपूल एफ.सी. का पूर्व डिफेन्डर स्टिफन वार्नक थप्छन्, "उनी औसतमा प्रत्येक १४ पटक बल छुँदा एक गोल गर्छन्। त्यसले उनको शैली स्पष्ट पार्छ।"
"तर उनी डिफेन्डरको पछाडि दौडेर उनीहरूलाई व्यस्त राख्छन् र मिडफिल्डलाई अघि बढ्ने ठाउँ बनाइदिन्छन्।"
होलान स्वयं भने आफू अहिले "नयाँ शिखर" मा पुगेको महसुस गरेको बताउँछन्।
"यस प्रतियोगितामा म केही पटक आफ्नो उत्कृष्ट लयमा पुगेको छु, तर बेलाबेला नयाँ स्तरमा पुगिरहेको महसुस हुन्छ," उनले भने, "मैले एउटा वा दुइटा मौका पाएँ भने प्रायः गोल गर्छु। मलाई यकिन त छैन तर म त्यही काम गर्छु।"
"मुख्य कुरा एकाग्र भएर मौकाको सदुपयोग गर्नु हो। पहिलो अवसरमा गोल भएन भने पनि प्राय: अर्को मौका आइहाल्छ।"
नर्वेको ऐतिहासिक दिन
खेल सुरु हुनुअघि हजारौँ नर्वेली समर्थकहरू रङ्गशालाबाहिर भेला भइसकेका थिए। धेरैले 'भाइकिङ' हेल्मेट लगाएका थिए, विशाल रातो झण्डा फहराइरहेका थिए र त्यो गीत गाइरहेका थिए जुन यो विश्वकपमा उनीहरूको पहिचान बनिसकेको छ।
त्यहाँ उत्साह त थियो नै, त्योसँगै विश्वास पनि थियो। यो टोलीले जोकोहीसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने एउटा शान्त आत्मविश्वास।
धेरै वर्षसम्म विश्वस्तरीय प्रतिभा उत्पादन गरे पनि नर्वेले ठूला प्रतियोगिताहरू दर्शकका रूपमा मात्रै हेर्दै आयो।
यो उनीहरूको केवल चौथो र सन् १९९८ पछि पहिलो विश्वकप सहभागिता हो।
यसअघि उनीहरूको उत्कृष्ट उपलब्धि भनेको सन् १९३८ र सन् १९९८ मा अन्तिम १६ सम्म पुग्नु मात्र थियो।
गत मङ्गलबारसम्म उनीहरूले विश्वकपको नकआउट चरणमा एउटा पनि खेल जितेका थिएनन्।
अहिले भने नर्वेले लगातार दुई नकआउट खेल जितिसकेको छ र त्यसमा पाँच पटकको विश्व विजेता ब्रजिलमाथिको जित पनि समावेश छ।
मुख्य प्रशिक्षक सोल्ब्याकन भन्छन्, "मैले खेलाडीहरूलाई यो हारजितको आधाआधा सम्भावना भएको खेल होइन, हामीले उत्कृष्ट प्रदर्शन गर्यौँ र निर्णायक खेलाडीहरूले भूमिका निभाए भने राम्रो सम्भावना छ भनेर भनेको थिएँ। आज त्यही भयो।"
अन्तिम सिट्ठी बजेपछि होलानले हर्षोल्लासको नेतृत्व गरे। उनले ड्रम बजाए र टोलीका साथीहरूसँग प्रसिद्ध 'भाइकिङ रो' उत्सव मनाए।
"आज साँच्चै अद्भूत दिन हो। नर्वेको इतिहासकै सबैभन्दा अद्भुत दिनहरूमध्ये एक," उनले भने।
त्यस्तै स्टिफन वार्नकले भने, "उनी अत्यन्त भावुक छन् र त्यो स्वाभाविक पनि हो। क्लब फुटबलमा उनी विश्वकै उत्कृष्ट टोलीहरूमध्ये एउटामा खेल्छन्। तर नर्वे परम्परागत महाशक्ति होइन। अहिले नर्वेले आफ्नै इतिहास बनाइरहेको छ र होलान त्यसको अग्रपङ्क्तिमा छन्।"
सोल्ब्याकन थप्छन्, "पूरै राष्ट्र डुङ्गा हाँकिरहेको छ। यहाँ, ओस्लोमा र नर्वेका सानाठूला सबै सहरमा उत्सव भइरहेको छ। 'रोइङ' हाम्रो एकताको प्रतीक बनेको छ। समर्थकका लागि यो शानदार समय हो। एउटा प्रशंसक हुनु सायद यतिबेला एउटा प्रशिक्षक हुनुभन्दा रमाइलो छ।"
अहिले 'भाइकिङ रोइङ' विश्वकपकै चर्चित उत्सव बनेको छ।
अनि इङ्ल्यान्डका पूर्व कप्तान रुनीले पनि आफ्नो एउटा वाचा पूरा गर्नुपर्ने भएको छ। उनले नर्वे क्वार्टरफाइनलमा पुगे रिभर मर्जीमा डुङ्गा चलाउने बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।