सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु

मस्याफबाट पश्चिममा इजरेली क्षेप्यास्त्रबाट क्षति पुगेको एउटा भवन

तस्बिर स्रोत, Al-Ikhbariya al-Suriyah TV

    • Author, डेभिड ग्रिटन
    • Role, बीबीसी न्यूज
  • Published
  • पढ्ने समय: ३ मिनेट

इजरेली सेनाले सिरियास्थित विभिन्न सैन्य स्थलहरूमा हवाई आक्रमण गर्दा कम्तीमा १६ जनाको मृत्यु भएको सिरियाको सरकारी समाचारसंस्था 'साना'ले जनाएको छ।

एक स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै सानाले सिरियाको मध्यभागस्थित हामा प्रान्तको मस्याफमा आइतवार राति भएका आक्रमणमा अरू ३६ जना घाइते भएको विवरण दिएको छ।

यूकेमा आधारित निगरानी गर्ने एउटा समूहका अनुसार ती आक्रमणको निसानामा रासायनिक अस्त्र उत्पादनबारे अनुसन्धान गर्ने एउटा वैज्ञानिक केन्द्र पनि परेको थियो। सो संस्थाले मृतकको कुल सङ्ख्या २५ भएको जनाएको छ।

'आपत्तिजनक' र 'आपराधिक'

सिरियाको विदेश मन्त्रालयले ती आक्रमणलाई "आपत्तिजनक अतिक्रमण" भनेको छ भने इरानले तिनलाई "आपराधिक कृत्य" को सङ्ज्ञा दिएको छ।

इजरेली सेनाले सैन्य कारबाही विदेशी सञ्चारमाध्यममा प्रकाशित विवरणबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

यद्यपि इजरेलले सिरियाली भूमिभित्र पहिला सयौँ पटक आक्रमण गरेको स्वीकार गरेको थियो। इजरेलका अनुसार ती आक्रमणहरू इरानसँग सम्बन्ध भएका स्थान र उसलाई सहयोग गर्ने सशस्त्र समूहहरूमाथि भएका थिए।

इजरेलले इरानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ।

Map

गत वर्ष अक्टोबरमा हमासले इजरेलमा भीषण आक्रमण गरेपछि इजरेलले गाजामा युद्ध लडिरहेको छ। गाजा युद्ध सुरु भएपछि सीमापारि लेबनन र सिरियाबाट उत्तरी इजरेलमा गरिएका आक्रमणको जबाफ दिन इजरेलले सिरियामा हमला गर्ने क्रम बढाएको ठानिएको छ।

'साना'को विवरणमा सिरियाली सेनासँग सम्बद्ध एक स्रोतलाई उद्धृत गर्दै लेबननको आकाशमाथि उडेको इजरेली विमानले आइतवार राति ११ः२० बजेतिर कैयौँ सैन्य स्थलमा क्षेप्यास्त्रहरू प्रहार गरेको उल्लेख छ।

"हाम्रो हवाई प्रतिरक्षा प्रणालीले केही क्षेप्यास्त्रलाई खसालिदियो," उक्त स्रोतले भन्यो।

क्षति कति

'साना'का अनुसार इजरेली क्षेप्यास्त्रका कारण मस्याफस्थित एउटा राजमार्गमा पनि क्षति पुगेको छ भने हेर अब्बासस्थित एउटा जङ्गल भएको क्षेत्रमा आगलागी भएको थियो।

हामा प्रान्तको स्वास्थ्य निकायका एक वरिष्ठ अधिकारीले घाइते ३६ जना गम्भीर अवस्थामा भएको 'साना'लाई बताए।

'सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्स' (एसओएचआर)ले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै इजरेली आक्रमणका कारण मस्याफस्थित वैज्ञानिक अनुसन्धान क्षेत्रमा भएका भवनहरू र सेनाका पूर्वाधारहरू तथा अन्य स्थानमा क्षति पुगेको जनाएको छ।

उसका अनुसार कुल २५ जनाको मृत्यु भएको र तीमध्ये पाँच जना सर्वसाधारण नागरिक हुन्। मृतकमध्ये चार जना सरकारी सुरक्षाकर्मी र १३ जना इरानलाई समर्थन गर्न समूहका लागि काम गर्ने सिरियाली हुन्।

सो संस्थाका अनुसार तीन मृतकको सनाखत हुन बाँकी छ।

मस्याफस्थित अस्पतालमा पुगेका धेरै घाइते व्यक्ति गम्भीर अवस्थामा भएको बताइएको छ

तस्बिर स्रोत, Al-Ikhbariya al-Suriyah TV

तस्बिरको क्याप्शन, मस्याफस्थित अस्पतालमा पुगेका धेरै घाइते व्यक्ति गम्भीर अवस्थामा भएको बताइएको छ

पश्चिमा गुप्तचर निकायहरूले सिरियाको एउटा वैज्ञानिक अनुसन्धान केन्द्रको मस्याफनजिकै अवस्थित एउटा विभागले अन्तर्राष्ट्रिय नियम उल्लङ्घन गर्ने गरी रासायनिक अस्त्र बनाउने गरेको आरोप लगाएका थिए।

तर सिरियाले त्यसको खण्डन गर्दै आएको छ।

'एसओएचआर'का अनुसार इजरेलले यो वर्षको सुरुवातयता सिरियाली भूमिमा ६४ वटा हमला गरेको छ, त्यस क्रममा हतियार भण्डारण स्थल, सवारी साधन र इरान-समर्थित विद्रोहीहरूका हेडक्वार्टसहित १४० ठाउँमा क्षति पुगेको थियो।

अनुगमनकर्ता समूहका अनुसार उक्त हमलामा ४६ जना सिरियाली सरकारी बलका सदस्य, हिज्बुल्लाहका २४, इरानी रेभलूशनरी गार्ड्सका २५ जनासहित कम्तीमा २०५ जना लडाकूहरू मारिएका थिए।

इरानले अप्रिलमा दमास्कसको एउटा वाणिज्य दूतावासमा रेभलूशनरी गार्ड्सका दुई वरिष्ठ सदस्य मारिने भएको हवाई हमलाका निम्ति इजरेललाई जिम्मेवार ठहर्‍याएको थियो।

त्यसको जबाफमा ईरानले इजरेलमाथि पहिलोपटक सीधा सैन्य हमला गर्‍यो। त्यस क्रममा ३०० क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएकामा लगभग सबैजसोलाई इजरेल र अमेरिका नेतृत्वका शक्तिहरूले खसालिदिएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।