कुशल भुर्तेल चम्किएपछि नेपाललाई यूएईविरुद्ध सान्त्वना जित

तस्बिर स्रोत, ACC
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
नराम्रो ब्याटिङका कारण भारत र पाकिस्तानसँग पराजित भएपछि नेपाली समर्थकहरूले व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा लेखेका थिए - "जित्नका लागि नेपाललाई यूएई छँदै छ नि"।
समर्थकहरूको प्रतिक्रियामा एसीसी इमर्जिङ टीम्स एशिया कपमा नेपालले भोगेको पराजयभन्दा राष्ट्रिय टोलीले निकै कमजोर प्रदर्शन गरेकोमा चित्त दुखाएको बुझिन्थ्यो।
समर्थकहरूले भने जसरी नै बुधवार नेपालले यूएईलाई पराजित गर्यो।
श्रीलङ्काको कोलम्बोमा सञ्चालित प्रतियोगितामा नेपालले यूएईलाई तीन विकेटले हरायो।
टस जितेर ब्याटिङ रोजेको यूएईलाई ४४ ओभरमा १५७ रनमा रोक्दै नेपालले २३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो।
"जितभन्दा पनि एशिया कपको तयारी" का लागि लागि भन्दै राष्ट्रिय टोलीलाई पठाएको नेपालले घर फर्किनुअगाडि सान्त्वना जित हात पारेको छ।
तर नेपाली राष्ट्रिय टोलीले हराएको यूएईको टोली भारत र पाकिस्तानको जस्तै 'ए' हो।


मध्यम यूएई

तस्बिर स्रोत, ACC
यूएई ए टोलीमा राष्ट्रिय टोलीका नाम चलेका कुनै खेलाडी थिएनन्। त्यहाँ रोहन मुस्तफा, वृत्य अरविन्द, आर्यन लाक्रा, मोहम्मद वासिम वा वसिम खान कोही पनि थिएनन्।
त्यसैले युवा टोलीलाई पराजित गर्न नेपालले ठूलो मेहनत गर्नुपरेन।
नेपालका कामचलाउ लेगस्पिनर कुशल भुर्तेलले खेलमा छ विकेट लिँदै बुधवारको खेललाई स्मरणीय बनाइदिए।
यूएईका प्रारम्भिक खेलाडीद्वय आर्यांश शर्मा र लवप्रित सिंहले आफ्नो टोलीलाई राम्रो थालनी दिए।
उनीहरूले १० ओभरसम्म विकेट जोगाएर ३९ रन बनाएका थिए। नेपाली युवा स्पिनर कुशल मल्लले यो जोडीलाई तोड्ने काम गरे। मल्लले आर्यांशलाई १४ रनमा आउट गरेका थिए।
त्यसपछि बलिङको जिम्मा पाएका कुशल भुर्तेलले जीवनको अविस्मरणीय बलिङ गर्दै विपक्षी टोलीलाई धराशायी गर्ने काम गरेका थिए।


चम्किए कुशल भुर्तेल

तस्बिर स्रोत, ACC
यूएईका लवप्रित सिंहले ५२ रन बनाएका थिए। उनलाई सन्दीप जोराको हातबाट क्याच गराएपछि भुर्तेल बलिङमा जमे।
त्यसपछि उनले इथन डीसुजा (१८ रन) लाई एलबीडब्ल्यूको धरापमा पारे। अश्वनाथ भलथापा (१६ रन) र फहाद नवाज (६ रन) लाई अर्जुन साउदबाट स्टम्पिङ गराए।
कप्तान अलि नासिर (१ रन) लाई 'कट एन्ड बोल्ड' गरे भने मोहम्मद फराज्जुदिन (४ रन) लाई जोराबाट क्याच गराए।
कुनै पनि प्रतियोगितामा भुर्तेलले गरेको यो उत्कृष्ट व्यक्तिगत बलिङ प्रदर्शन हो।
निर्धारित १० ओभर बलिङ गर्दा उनले ४० रन खर्चेका थिए।
मौसम ढकालले दुई विकेट लिए।
नेपालको ब्याटिङ
ब्याटिङमा पनि कुशल भुर्तेल नै छाए।
भुर्तेलले पाकिस्तान 'ए' सँग १ रन र भारत 'ए' सँग भने खाता पनि खोल्न सकेका थिएनन्।
यूएईविरुद्ध भने भुर्तेलले ७१ रन बनाए। देव खनाल र सन्दीप जोराले २४-२४ रन बनाउन सफल भए।
आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपालले मात्र राष्ट्रिय टोली पठाएको हो।
यद्यपि टोलीमा युवा खेलाडीहरूलाई मौका दिइएको थियो।
बुधवारको खेलमा पनि प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामी, आशिफ शेख, ललित राजवंशी र भीम सार्कीलाई बेन्चमा राखेका थिए।
उनीहरुको स्थानमा सन्दीप जोरा, प्रतीश जीसी, श्याम ढकाल र अर्जुन साउदलाई मौका दिइएको थियो।























