अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण

तस्बिर स्रोत, CAN
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
- Published
- पढ्ने समय: ४ मिनेट
अमेरिकासँगको शृङ्खलामा अविजित रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि त्यसभन्दा महत्त्वपूर्ण परीक्षा आइतवारबाट अमेरिकामै सुरु हुँदैछ।
आईसीसी विश्वकप लीग-२ अन्तर्गतको तेस्रो शृङ्खलामा अमेरिकाको समयअनुसार आइतवार बिहान र नेपालको समयअनुसार आइतवार राती नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।
टेक्ससस्थित ग्रान्डप्रेरी क्रिकेट रङ्गशालाको मैदान नेपालका लागि परिचित छ। यही मैदानमा गतसाता नेपालले घरेलु टोली अमेरिकालाई तीन टी-२० शृङ्खलाका सबै खेलमा पराजित गरेको थियो।
अब लीग-२ अन्तर्गतको शृङ्खलामा नेपालले खेल्ने तेस्रो टोली स्कटल्यान्ड हो।
लीगको महत्त्व

तस्बिर स्रोत, CAN
नेपालको लागि विश्वकप लीग-२ को यो शृङ्खला निकै महत्त्वको छ।
लीग-२ को सातौँ स्थानमा रहेर सङ्घर्ष गरिरहेको नेपालका लागि अब हुने चार खेलको नतिजाले आगामी यात्राको निर्क्योल गर्ने देखिन्छ।
अनि लीग-२ यस्तो बेलामा भइरहेको छ, जुन बेला नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको देखिएको छैन।
लीग-२ को अभ्यासको लागि भन्दै दुई हप्ता अगाडि अमेरिका पुगेको नेपाली टोलीले अमेरिकासँग तीन वटा टी-२० क्रिकेट शृङ्खला जितेपछि क्याम्पमा खुसीयाली छाएको थियो।
लीग-२ सुरु हुनु पूर्व पाएको उक्त जितले खेलाडीमा मनोबल थपिने विश्वास गरिएको थियो।
तर लगत्तै अमेरिका ए सँग खेलिएको ५० ओभरको खेलमा नेपाल ८० रनमा ‘प्याक अप’ भएपछि क्रिकेट प्रेमीहरूमा फेरि चिन्ता छाएको छ।
नेपालको चिन्ता एकातिर छ भने अर्कोतिर अमेरिकाले पहिलो खेलमा स्कटल्यान्डसँग १० विकेटले हारेको अवस्था छ।
अमेरिकाविरुद्ध नेपाल

तस्बिर स्रोत, CAN
पहिलो खेलमा आयोजक अमेरिका डिफेन्डिङ च्याम्पिअन स्कटल्यान्डसँग १० विकेटले के पराजित भएको थियो, टोलीले तत्कालै अस्ट्रेलियाका प्रशिक्षक स्टुआर्ट ल लाई बर्खास्त गरिदियो।
लीग तालिकामा दोस्रो स्थानमा रहेको अमेरिका लीग-२ लाई लिएर गम्भीर देखिन्छ।
क्यानडामा खराब नतिजा बेहोर्नु परेपछि भने नेपाली टोली पनि सजग देखिएको छ।
क्यानडाको लीग-२ मा वर्षाका कारण बिथोलिएको एउटा खेल बाहेक बाँकी ३ खेलमा नेपाली टोली नराम्ररी पराजित हुन पुगेको थियो।
विश्व क्रिकेटको कुनै पनि प्रतिद्वन्द्वीसँग खेल्न योग्य भइसकेको ठानिएको नेपाली टोलीमा विशेषगरी ब्याटिङ कमजोरी फेरि बल्झिएको देखिएको थियो।
नेपालले त्यसका निम्ति सुधारको केही प्रयास पनि गरेको छ।
जस्तै नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायकेलाई ब्याटिङ परामर्शदाताको रूपमा लीग-२ का लागि अनुबन्ध गरिएको छ।
अमेरिकाका पूर्वप्रशिक्षक रहिसकेकोले दशानायकेलाई अमेरिकी क्रिकेटबारे राम्रो ज्ञान छ।
टी-२० शृङ्खलामा त्यसको सकारात्मक असर पनि देखियो।
इतिहास पछ्याउँदा नेपाल र अमेरिकाबीच ६ एकदिवसीय प्रतिस्पर्धामा भेट भएको देखिन्छ।
जसमा तीन वटा खेलमा नेपाल र दुई वटामा अमेरिकाले जित हात पार्दा एक खेल अनिर्णीत हुन पुगेको थियो।
टस महत्त्वपूर्ण

तस्बिर स्रोत, CAN
तर विगतभन्दा नेपाल र अमेरिकाबीचको खेलमा टस को भूमिका निकै नै महत्त्वपूर्ण हुने देखिएको छ।
प्राप्त जानकारीअनुसार ग्रान्डप्रेरी मैदानमा बिहानको मौसममा ब्याटिङ गर्न गाह्रो छ।
त्यसैले टस जित्ने टोलीले सङ्कोच विना फिल्डिङ गर्ने निर्णय लिनेछ। अमेरिकाविरुद्ध स्कटल्यान्डले त्यही गरेको हो।
फलस्वरूप पावर प्लेमा अमेरिकाले ३६ रन बनाउँदा स्कटल्यान्डले पाँच विकेटको सफलता हात पारिसकेको थियो।
नेपालले अभ्यासको तीनवटै टी-२० जिते पनि ती सबै खेल रातीको समयमा खेलिएका थिए।
बिहान खेलिएको अमेरिका ए सँगको एकदिवसीय अभ्यासमा भने नेपाल ८० रनमा नै अल आउट हुन पुगेको थियो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरी भन्छन्, “आशा गरौँ नेपालले पहिला टस जितोस् र त्यसपछि खेल।”
लीग-२ मा अमेरिका र नेपालको स्थिति

तस्बिर स्रोत, CAN
आठ राष्ट्र सम्मिलित ५० ओभरको एकदिवसीय क्रिकेट स्वरूपको लीग-२ मा अमेरिका बलियो अवस्थामा छ भने नेपालको स्थिति कमजोर छ।
अमेरिकाले आठ खेलबाट १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ। नेपालले पनि त्यति नै खेल खेलेको छ।
तर टोलीसँग तीन अङ्क मात्र छ। तालिकामा नेपाल भन्दा तल यूएई छ। उसको दुई अङ्क छ।
लीग-२ तालिकामा शीर्ष चार स्थानमा रहन सफल टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउनेछन् भने बाँकी चार टोलीले प्ले अफमा सङ्घर्ष गर्नुपर्नेछ।
पछिल्लो खेल हेर्ने हो भने नेपाल र अमेरिका उस्तै-उस्तै अवस्थामा देखिन्छन्।
यस्तोमा नेपाली खेलाडीहरूले आफ्नो स्वाभाविक लय फर्काउँदै लीग-२ मा आफ्नो स्थान बलियो बनाउनु जरुरी रहेको अधिकारीहरू बताउँछन्।
नेपाली टोलीसामू कीर्तिपुर क्रिकेट मैदान बाहिरका मैदानमा जित्न सक्दैनन् भन्ने आरोपलाई पनि चिर्ने चुनौती छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















