नभाल्नीको अन्तिम संस्कार भइरहँदा पुटिनविरुद्ध नाराबाजी

रुस

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

Published

दुई साताअघि जेलमा निधन भएका रुसी प्रमुख विपक्षी नेता एलेक्सी नभाल्नीको राजधानी मस्को बाहिरी भेगमा अन्तिम संस्कार गरिएको छ।

सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिबीच उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न हजारौँ मानिस सडकमा निस्केका थिए।

नभाल्नीको शव चिहानमा गाड्ने बेला चिहानस्थलभित्र जान दिइएकामध्ये उनकी आमा पनि थिइन्।

नभाल्नीका समर्थक र केही पश्चिमा नेताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हत्या गराएको आरोप लगाइरहेका छन्। उक्त आरोपको मस्कोले खण्डन गर्दै आएको छ।

पत्याउन नसकिने दृश्य

सरकारका कटु आलोचक रहेका नभाल्नीप्रति समर्थन जनाउन जोखिम मोल्दै हजारौँको भिड अन्तिम संस्कार समारोहमा उपस्थित भएको थियो।

अन्तिम संस्कार गरिएको स्थान वरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको भएपनि समारोह सुरु भएका केही घण्टासम्म कोही पनि पक्राउ परेका विवरण आएका छैनन्।

रुस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, नभाल्नीप्रति अन्तिम सम्मान व्यक्त गर्न सहभागी भएका मानिसहरू

सम्भवतः त्यहाँ उपस्थित मानिसहरूको सङ्ख्या धेरै भएकाले पनि कुनै हस्तक्षेप नभएको हुनसक्छ।

मानिसहरू युद्ध चाहिँदैन, पुटिन बिनाको रुस र रुस स्वतन्त्र हुनेछ जस्ता नाराहरू लगाएका थिए।

यस्ता नाराहरूसहितका प्लेकार्ड बोकेकै भरमा मानिसहरू विगतमा गिरफ्तार हुने गर्थे। ठूलो भिडले यस्तो नारा लगाउँदा अवस्था पत्याउन नसकिने देखिएको बीबीसीकी युरोप संवाददाता लाउरा गोजीले उल्लेख गरेकी छन्।

यसअघि कतिपय मानिसले सपूत जन्माएको भन्दै नभाल्नीको आमाप्रति कृतज्ञता व्यक्त गरेका थिए।

बीबीसीका भिटाली सेभचेन्को भन्छन्, “श्रद्धाञ्जलि दिन चिहानस्थलबाहिर उपस्थित मानिसहरूले सरकारविरुद्ध केही आलोचनात्मक नाराबाजी गरे। नभाल्नीको नाम लिँदै हामी तपाईँलाई बिर्सनेछैनौँ र रुस स्वतन्त्र हुनेछ भन्ने खालका नारा उनीहरूले लगाए।”

नभाल्नी पत्नीको भावुक सन्देश

नभाल्नीकी श्रीमती युलिया र दुई सन्तानहरू अहिले विदेशमा बस्छन् र उनीहरूले क्रेम्लिनबाट दमन हुन सक्ने सम्भावनालाई ध्यान दिएर अन्तिम संस्कार समारोहमा भाग लिइरहेका छैनन्।

तर इन्स्टाग्राममा एउटा भावुक सन्देश लेख्दै २६ वर्षसम्म पूर्ण खुसी दिएकोमा युलियाले आफ्ना श्रीमान्‌लाई धन्यवाद दिइन्।

“मलाई तिमीबिना कसरी बाँच्ने थाहा छैन, तर म कोसिस गर्नेछु ताकि त्यहाँ माथि बसेर तिमी खुसी र गौरवान्वित होऊ। एक दिन हाम्रो भेट हुनेछ।”

नभाल्नीको शव गाड्नुअघि गिर्जाघरनजिकै भएको समारोहमा अमेरिकी राजदूतसहित केही विदेशी कूटनीतिज्ञहरू उपस्थित भएको देखिएका थिए।

गिर्जाघरमा आयोजना गरिएको एउटा श्रद्धाञ्जलि सभापछि उनको शवलाई बोरिसअफ्स्कया चिहानस्थलमा गाडिएको थियो।  

राजनीतिक रूपले प्रेरित अभियोगहरूले थुनामा राखिएका विपक्षी नेता नभाल्नीको आर्टिक जेलमा निधन भएको थियो।

हिँड्न नसिकिएपछि एक्कासि नभाल्नीको मृत्यु भएको रुसी अधिकारीहरूले बताइरहँदा उनकी श्रीमतीले आफ्ना पतिलाई राष्ट्रपति पुटिनको आदेशमा मारिएको आरोप लगाएकी छन्।

उनको मृत्युको कारणबारे एकदमै कम मात्रै जानकारी सार्वजनिक गरिएको छ र रुसी अधिकारीहरूले सुरुमा उनको शव उनकी आमा ल्युडमिलालाई दिन अस्वीकार गरेका थिए।

नभाल्नीका मातापिता उक्त समारोहमा सहभागी भएका थिए

तस्बिर स्रोत, Alexei Navalny/YouTube

तस्बिरको क्याप्शन, नभाल्नीका मातापिता उक्त समारोहमा सहभागी भएका थिए

मङ्गलवार नभाल्नीका प्रवक्ताले उनको टोलीले अन्तिम संस्कार समारोहका लागि स्थान प्राप्त गर्न सङ्घर्ष गरिरहेको बताएकी थिइन्।

कतिपय त्यस्ता समारोह स्थलले आफूहरू पूर्ण रूपमा भरिभराउ रहेको जनाएका थिए भने कतिले कसको अन्तिम संस्कार समारोह हो भन्ने थाहा पाएपछि स्थान दिन अस्वीकार गरेका जनाइएको थियो। 

रुसी अदालतले नभाल्नी र उनको संस्था दुवैलाई उग्रवादी सङ्गठनका रूपमा लिने गर्छ। त्यसमा आबद्ध भएको खण्डमा जोकोही गम्भीर समस्यामा पर्नसक्ने ठानिन्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।