कार्यस्थलमा खुसी रहन चाहनुहुन्छ? पाँच मिनेट हिँड्न जानुहोस्

- Author, मिशेल रोबर्ट्स
- Role, डिजिटल हेल्थ एडिटर
- Published
- पढ्ने समय: ३ मिनेट
इमेलको जबाफ पठाउने कार्य होस् वा टीम्समा कल लिने होस्, अहिलेको कार्यस्थल भनेको कुर्सीमा बसेर नै गर्न काम हुने गर्छ।
तर यसरी बसिरहने बानी हाम्रो स्वास्थ्यका लागि हानिकारक छ। एकै ठाउँमा बसिरहँदा तौल बढ्ने समस्या हुन्छ वा मुटुरोग र टाइप २ मधुमेहको खतरा पनि बढ्ने विज्ञहरू बताउँछन्।
त्यसो भए उत्पादनमूलक काममा बसेका बेला कति पटक उठेर यताउता गर्ने त? सही सन्तुलन के हो भन्ने चाहिँ त्यति स्पष्ट छैन।
कामको बीचमा हरेक घण्टा पाँच मिनेट विश्राम लिनु असाध्यै राम्रो हुने र स्वस्थ रहने उपाय भएको निष्कर्षसहितको एउटा अध्ययन अमेरिकाको कोलम्बिया विश्वविद्यालयले हालै 'ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिन'मा छापेको छ।
सिर्जनशील, 'मूड' सुधार र सचेत
प्रमुख अनुसन्धानकर्ता कीथ डियाजले बीबीसी न्यूजलाई बताए्अनुसार अहिलेका धेरैजसो वयस्कहरूले आफू जागा रहने समयको तीनचौथाइ समय एक ठाउँमा बसेर बिताउने गरेका छन्।
उनले भने: "थोरै समय बस र धेरै समय यताउता हलचल गर भन्नु सही हो। तर कति हलचल गर्ने भन्नेबारे थाहा पाउन आवश्यक छ।"
"राम्रो समाचार के हो भने हरेक घण्टा पाँच मिनेटको मात्र ब्रेक लिएर यताउता हिँड्ने हो भने त्यसले मूड राम्रो बनाउँछ र थकान पनि कम गर्छ। अनि मानिसहरूले त्यस्तो गर्न सम्भव ठान्छन्," डियाज भन्छन्।
अध्ययनमा ११ हजारभन्दा बढी अमेरिकी कर्मचारी सहभागी थिए। उनीहरूमध्ये धेरैजसो कार्यालयमा काम गर्थे र दिनमा ८ देखि ९ घण्टा काम गर्थे।
पहिलो हप्ता उनीहरूले आफ्नो सधैँको दिनचर्याबारे लेखेका थिए। दैनिक रूपमा उनीहरूको 'मूड' थकान र काममा उनीहरूको सहभागिताबारे लेखे।
त्यसपछिका दुई हप्ता उनीहरूले हरेक आधा घण्टामा वा हरेक घण्टामा वा हरेक दुई घण्टामा हिँड्ने ब्रेक लिए र त्यस्तै खाले सर्भे फर्महरू भरे।
हरेक आधा घण्टामा लिइने विश्रामले 'मूड' राम्रो बनाएको र थकान कम गरेको पाइयो, तर त्यसले उनीहरूको दैनिक कामको नतिजामा केही असर गर्यो। हरेक दुई घण्टामा लिइने ब्रेक कत्ति पनि नहिँड्नुभन्दा राम्रो थियो।
अनुसन्धानकर्ताहरूले हरेक घण्टा लिइने विश्राम चाहिँ सबैभन्दा गर्न सम्भव तथा काममा पनि सहयोगी तथा 'मूड' सुधार र सचेत रहनका लागि पनि उपयोगी पाए।
"हरेक घण्टा उठेर हिँड्ने बानी बसाल्न सजिलो छैन," डियाज भन्छन्। किनभने कैयौँ कर्मचारीले कामका बेला जुरुक्क उठेर हिँड्दा उनका हाकिम र सहकर्मीले के सोच्लान् भन्ने चिन्ता हुने गरेको बताए।
"वास्तवमा यताउता हलचल गर्ने ब्रेकले कामलाई बढ्ता प्रभावकारी बनाउन सक्छ," डियाज भन्छन्। "त्यसले उनीहरूको कार्यक्षमतामा सुधार ल्याउन सक्छ। उनीहरू बढी सचेत रहन सक्छन् र स्मरणशक्ति पनि राम्रो बन्न सक्छ। यसले मानिसहरूलाई आराम महसुस हुन सक्छ र उनीहरू ताजापन महसुस गर्न सक्छन्।"
हिँड्नमा खर्च लाग्दैन, काम गर्न रोक्न पनि पर्दैन। किनभने कति बैठक त अफिसको बाहिर वा अफिस वरिपरि हिँड्दै गर्न सकिन्छ वा फोन पनि हिँड्दै गर्न सकिन्छ।
'द ब्रिटिश हार्ट फाउन्डेशन'मा कार्यरत मुटु रोगसम्बन्धी वरिष्ठ नर्स एमिली म्याकग्र्याथले यो अध्ययनको परिणामलाई स्वागत गर्दै भनिन्, "हाम्रो दैनिक काममा केही यताउता हिँड्ने चालचलन जति मात्रामा थपे पनि सम्पूर्ण स्वास्थ्यमा राम्रो प्रभाव पार्न सक्छ।"
"तर अध्ययन व्यक्तिहरूले आफैँ रिपोर्ट गरेको भनाइमा आधारित र असाध्यै छोटो समयका लागि गरिएको भएर यस्तो चालचलनको स्वास्थ्यमा पर्ने असरबारे अलि लामो समय लगाएर अध्ययन गरेर हेर्नुपर्छ," उनी बताउँछिन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















