अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख डलर बराबरको नोक्सानी पुर्‍याउने व्यक्ति पाकिस्तानमा पक्राउ

यूएस पोस्टल सर्भिस
Published
पढ्ने समय: २ मिनेट

संयुक्त राज्य अमेरिकाको पोस्टल सर्भिस अर्थात्‌ हुलाक सेवालाई १२ करोड ६० लाख डलर बराबरको नोक्सानी पुर्‍याउने गरी नक्कली कारोबार सञ्चालन गरेको आरोपमा पाकिस्तानको साइबर अपराधसम्बन्धी निकायले एक व्यक्तिलाई पक्राउ गरेको छ।

सन् २०२३ देखि अमेरिकामा ठगी गर्ने एउटा वेबसाइटमार्फत्‌ नक्कली स्ट्याम्पहरू विक्री गरेको फहीम अकरममाथि आरोप छ। गत महिना फ्लोरिडास्थित एउटा सङ्घीय ग्र्यान्ड जुरीले उनीविरुद्ध आरोपपत्र दर्ता गरेको थियो।

विगत केही वर्षयता अमेरिकाका हजारौँ ग्राहकलाई ५० लाखभन्दा बढी नक्कली 'शिपिङ लेबल' बेचेको उनीमाथि आरोप छ। अधिकारीहरूले उक्त वेबसाइट बन्द गराइसकेका छन्।

अमेरिकी हुलाक निरीक्षण सेवाले यसै महिनाको शुरूतिर अकरमको गिरफ्तारीमा सघाउन जानकारी दिने व्यक्तिलाई एक लाख डलरसम्मको पुरस्कार दिने घोषणा गरेको थियो।

आरोप केके छन्?

फ्लोरिडाको दक्षिणी जिल्लाका लागि अमेरिकी महान्यायाधिवक्ताको कार्यालयका अनुसार पाकिस्तानको खानेवालका ३३ वर्षीय ती पुरुषले लेबल्सब्याङ्क डट कम नामक वेबसाइट सञ्चालन गर्दै आएका थिए।

अकरमले प्याकेजको तौल, आकार वा गन्तव्यलाई ध्यान नदिई निश्चित दरमा नक्कली अमेरिकी हुलाक लेबलहरू बेचेका अभियोजनकर्ताहरूको आरोप छ।

आरोपपत्रमा उल्लेख गरिएअनुसार ती नक्कली लेबलहरू प्रयोग गरेर सेवाग्राहीहरूले आफ्ना पार्सलहरू निकै कम शुल्कमा पठाउन सक्थे।

त्यसका कारणले गर्दा अमेरिकी हुलाक सेवालाई ढुवानी खर्चका अतिरिक्त राजस्वमा पनि ठूलो नोक्सानी पुगेको बताइएको छ।

कार्यालयले एउटा विज्ञप्तिमार्फत्‌ जनाएअनुसार ५,२०० जनाभन्दा बढी व्यक्तिले ५१ लाखभन्दा बढी नक्कली 'शिपिङ लेबल' खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

अकरममाथि अमेरिकालाई ठगी गर्ने षड्यन्त्र गरेको, नक्कली हुलाक टिकटहरू उत्पादन तथा विक्री गरेको, नक्कली हुलाक टिकट लेबलहरू उत्पादन तथा विक्री गरेको र 'वायर फ्रड' अर्थात्‌ विद्युतीय माध्यमबाट गरिने ठगी गरेको लगायतका अभियोगहरू लगाइएको छ।

उक्त कार्यालयका अनुसार अकरम दोषी ठहर भएमा षड्यन्त्र र नक्कली हुलाक टिकटसम्बन्धी अभियोगहरूका लागि उनलाई बढीमा पाँच वर्षसम्मको जेल सजाय हुन सक्छ।

त्यसैगरी विद्युतीय माध्यमबाट गरिने ठगीसम्बन्धी प्रत्येक अभियोगमा २० वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।