‘मैले राजा चार्ल्स तृतीयको राज्याभिषेक किन हेर्ने छैन’

- Author, जेमी मोरल्यान्ड र याज्मिना गार्सीआ
- Role, बीबीसी न्यूज
- Published
मे ६ तारिखमा हुने ब्रिटेनका राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह लाखौँ मानिसले हेर्ने अपेक्षा गरिएको छ। कोही भिडमा, कोही पार्टीमा, कोही समारोहमा व्यस्त हुनेछन् भने कोहीले समारोहलाई पन्छाउन आफूले गर्नसक्ने अरू काम गर्नेछन्।
राज्याभिषेक समारोह नहेर्ने बताउने चार जनासँग बीबीसी न्यूजले कुरा गरेको छ।
‘सरकारी रकमको व्यापक दुरुपयोग हो’

तस्बिर स्रोत, Oli Silverwood-Cope
राज्याभिषेक समारोह हेर्ने ओली सिल्भरवूड-कोपको कुनै योजना छैन।
राजसंस्थालाई अब कुनै उपादेयता नरहेको संस्था भन्दै त्यसको अन्त्य हुनुपर्ने उनी बताउँछिन्।
“मेरो विचारमा यो सरकारी रकमको व्यापक दुरुपयोग हो,” दक्षिणपश्चिमी इङ्ग्ल्यान्डको स्ट्राउडकी यी ५१ वर्षीयाले बीबीसीसँग भनिन्।
ओलीको विचारमा वंशको आधारमा राष्ट्रप्रमुख हुने व्यवस्था अलोकतान्त्रिक र सम्भ्रान्तवादी हो।
एनएचएसमा कार्यरत मिडवाइफ उनका अनुसार करदाताले तिरेको रकमको राम्रो काममा सदुपयोग हुनसक्थ्यो।
“सन् २०१० यता हाम्रो तलबमा वृद्धि भएको छैन। राजपरिवारका सदस्यहरूको आफ्नै सम्पत्ति छ। तर अझ यो आर्थिक सङ्कटको बीचमा हामीले यो परेडका लागि पैसा तिर्नुपरेको छ,” उनले भनिन्।
राज्याभिषेक समारोह हेर्नुको साटो उनी अस्पतालमा शिशु हेरचाहमा हुनेछिन्।
‘बरु म आनन्दले पल्टेर डोनट खान्छु’

तस्बिर स्रोत, Tarek Ahmed
राज्याभिषेक समारोह घण्टौँसम्म हेरिरहन आफूलाई पटक्क मन नरहेको तारिक अहमद भन्छन्।
“बरु म पल्टेर डोनट खान्छु,” दक्षिणी इङ्ग्ल्यान्डको केन्टका यी मार्केटिङ एक्जिक्युटिभले बीबीसीसँग भने।
राजपरिवारलाई आफूले समर्थन गर्ने गरेको वा नगरेको कुराबारे खुट्ट्याइनसकेको उनी बताउँछन्।
“यदि उनीहरू देशलाई सम्पन्न, खुशी बनाउँछन् भने त्यसको अर्थ एनएचएस र शिक्षा लगायतका लागि थप पैसा हुन्छ। तर यदि त्यस्तो हुँदैन भने म राजपरिवारको पक्षमा छैन। यसको उत्तर मसँग छैन,” उनी भन्छन्।
बीबीसीको पानोरामा कार्यक्रमले गराएको युगभ नामक सर्वेक्षणले राजसंस्था राख्ने पक्षमा धेरै समर्थन भएको देखायो। निर्वाचित राष्ट्रप्रमुखको साटो राजसंस्थालाई निरन्तरता दिनुपर्ने पक्षमा ५८ प्रतिशत मानिस रहेको त्यसले देखाएको थियो भने केवल २६ प्रतिशतले मात्र निर्वाचित राष्ट्रप्रमुखको समर्थन गरेका थिए।
राज्याभिषेक समारोह हेर्नुको सट्टा परिवारका सदस्यहरूसँग अवतार चलचित्र हेरेर बस्ने तारिकको योजना छ।
‘चार्ल्स राजा हुन योग्य छन् जस्तो मलाई लाग्दैन’

तस्बिर स्रोत, Joana Firmino
जोआना फर्मिनोका अनुसार राजा चार्ल्स उनलाई मन पर्दैन र उनी राज्याभिषेक समारोह हेर्न चाहँदिनन्।
“मलाई लाग्दैन कि उनी एउटा आदर्श बन्न सक्नेछन्,” केन्टस्थित २१ वर्षीया वेट्रेसले भनिन्।
जोआना महारानी एलिजाबेथ द्वितीयाकी ठूलो प्रशंसक थिइन् र महारानीको निधनको खबरले उनी “एकदमै स्तब्ध” भएकी थिइन्।
आफ्नी प्रथम श्रीमती प्रिन्सेस अफ वेल्स डायनासँगको समस्याग्रस्त सम्बन्धको कारण देखाउँदै जोआनाले राजा चार्ल्सले “सही निर्णय गर्न नसक्ने” चिन्ता व्यक्त गरिन्।
उनको विचारमा बरु चार्ल्सका छोरा विलियम “राम्रा राजा” बन्न सक्छन्।
“मैले आफ्नो समय खेर फाल्ने छैन। बरु म समुद्री तटमा गएर आनन्द लिनेछु,” उनले थपिन्।
‘म युरोभिजनमा व्यस्त रहनेछु’

तस्बिर स्रोत, Luke Dudley
ल्युक डड्ली ‘युरोभिजन सङ्ग कन्टेस्ट’ मा स्पटलाइट अपरेटरका रूपमा कार्यरत छन्।
एकपछि अर्को रिहर्सलको अर्थ उनी राज्याभिषेक समारोह हेर्न पाउने छैनन्।
“हाम्रो कार्यतालिकाअनुसार एकदमै चापाचाप छ र सोहीअनुसार हामीले काम गरिरहेका छौँ,” उनले भने।
उत्तरी इङ्ग्ल्यान्डको म्यानचेस्टरका २१ वर्षीय यी युवक लाइटिङ शाखामा कार्यरत छन् जो मञ्चमा कलाकार तथा प्रस्तोताहरूलाई चाहिने प्रकाश मिलाउने काम गर्छन्।

तस्बिर स्रोत, Reuters

तस्बिर स्रोत, BBC News




















