विश्वकप छनोट क्रिकेटमा अमेरिकालाई हराउँदै नेपालले पायो महत्त्वपूर्ण अङ्क

तस्बिर स्रोत, ICC
आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो महत्त्वपूर्ण खेलमा नेपालले चिरप्रतिद्वन्द्वी संयुक्त राज्य अमेरिकालाई छ विकेटले पराजित गरेको छ।
नेपाली बलरहरूले कसिलो बलिङ गर्दै अमेरिकालाई २०७ रनमा सीमित तुल्याएका थिए। जबाफमा भीम सार्कीको अर्धशतकसहितको मद्दतले नेपालले ४३ औँ ओभरमा निर्धारित लक्ष्य हासिल गरेको थियो।
पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको नेपालले यो जितसँगै महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अमेरिकालाई एक ओभरको खेल बाँकी हुँदै २ सय ७ रनमा सीमित पार्यो। दोस्रो इनिङ्समा नेपालले ४३ औँ ओभरमा २११ रन बनायो।
ब्याटर भीम सार्कीले अविजित ७७ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले विजयी चौका प्रहार गरे। उनी ३९ रनमा अविजित रहे।
योसँगै सुपर सिक्समा पुग्ने सम्भावना नेपालले कायमै राखेको छ। अब नेपालले आफ्ना बाँकी खेल वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग खेल्नेछ।
भीम सार्कीको निर्णायक योगदान

तस्बिर स्रोत, ICC
दुई सय आठ रनको मध्यम लक्ष्य पछ्याउन आएको नेपालको जित भने सहज हुन सकेन।
ओपनर आसिफ शेख पाँचौ ओभरमा १२ रनमा आउट भएपछि अर्का ओपनर कुशल भुर्तेलले खेल सम्हालेका थिए।
तर १७ औँ ओभरमा भुर्तेल पनि ३९ रन बनाएर आउट हुन पुगे। ५४ बल खेलेर ४ चौका र १ छक्का प्रहार गरेका उनी स्पिनर केन्जिगेको बलमा लामो प्रहार गर्न खोज्दा 'टप एज' लागेर 'कट एन्ड बोल्ड’ हुन पुगेका थिए।
त्यसपछि कप्तान रोहित पौडेल पनि लामो समय टिक्न सकेनन्। उनी २७ औँ ओभरमा व्यक्तिगत १६ रन बनाएर तेस्रो खेलाडीका रूपमा आउट हुँदा टोलीको स्कोर ११२ पुगेको थियो।
तर नेपाली इनिङ्सलाई भीम सार्कीले मज्जाले सम्हाले। उनले धैर्यपूर्ण ब्याटिङ गर्दै अर्ध शतक पूरा गरेका थिए जबकि नौ रन बनाएर खेलिरहँदा उनले जीवनदान पाएका थिए। स्टिभन टेलरले उनको सजिलो क्याच फुत्काउन पुगेका थिए।
कप्तान पौडेल आउट भएपछि आएका युवा कुशल मल्ल धेरै बेर टिक्न सकेनन्। एक चौका र एक छक्कासहित उनी १३ रन बनाएर आउट भए।
त्यसपछि दीपेन्द्रसिंह ऐरीले सार्कीसँग मिलेर नेपाललाई सहज जित तिर डोर्याउने काम गरे।
करण चम्किएपछि.....

तस्बिर स्रोत, ICC
औँलामा चोट लागेका कारण सोमपाल कामी टोलीबाट बाहिरिएपछि तीव्र गतिको बलिङको जिम्मा करण केसीको काँधमा आएको थियो।
त्यसलाई उनले ४ विकेट लिँदै सफलतापूर्वक निर्वाह गरे।
केसीले अमेरिकाका राम्रो मानिएका खेलाडी स्टिभन टेलरलाई आउट गर्दे विकेट लिने क्रम सुरु गरेका थिए।
१.५ ओभरमा उनले टेलरलाई एलबीडब्लूको धरापमा पारेका थिए। लगत्तैको अर्को बलमा सतेजा मुकामालालाई आरिफ शेखबाट क्याच आउट गराउँदै केसी ह्याट्रिक नजिक पुगेका थिए।
उनको तेस्रो विकेट ७.५ ओभरमा आयो। त्यति बेला केसीले विपक्षी कप्तान आरन जन्सलाई कुशल भुर्तेलबाट क्याच गराएका थिए।
सोही ओभरको दोस्रो बलमा भुर्तेलले नै जन्सको विकेट 'ड्रप' गर्न पुगेका थिए, जसलाई उनले तत्काल सच्चाउने मौका पाए।
केसीको चौथो विकेट ९.२ ओभरमा नश्तुज केन्जिजको रूपमा आएको थियो।
पहिलो 'पावर प्ले'लाई भरपुर उपयोग गरेका केसीले ९ ओभरमा ३ मेडन सहित ३३ रन खर्चेर ४ विकेट लिएका थिए।
महँगो क्याच

तस्बिर स्रोत, ICC
तर पहिलो पावर प्ले पछि अमेरिकालाई सुशान्त मोदानी र गजानन्द सिंहले सम्हालेका थिए।
अघिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध शतक प्रहार गरेका सिंह (२६ रन) लाई दीपेन्द्र सिंह ऐरीले आउट गरे भने मोदानी (४२ रन) लाई ललित नारायण राजवंशीले बोल्ड गरे।
तर अमेरिकालाई उकास्ने काम शायन जहाङ्गिरले गरे।
उनले करिअरको पहिलो शतक प्रहार गरेपछि अमेरिकाको स्कोरबोर्ड २ सय नाघेको थियो। उनले ७९ बल खेलेर १० चौका र ३ छक्का प्रहार गरेका थिए।
उनै जहाङ्गिरले २५ रन बनाएर खेलिरहँदा जीवनदान पाएका थिए। सन्दीप लामिछानेको बलमा ३२.३ ओभरमा उनको क्याच भीम सार्कीले छोडेका थिए, जुन नेपालको लागि महँगो बन्न पुग्यो।
लामिछाने लगातार दुई खेलमा विकेटविहीन हुन पुगे। उनले १० ओभर बलिङ गर्दा ५८ रन दिएर महँगो खेलाडी साबित भए। गुलशन झाले ३, ऐरीले २ तथा राजवंशीले १ विकेट लिए।




















