टी२० शृङ्खला: अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको जित

तस्बिर स्रोत, CAN
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको द्विपक्षीय टी२० शृङ्खलाको अन्तिम खेलमा नेपाल छ विकेटले विजयी भएको छ।
शनिवार दिउँसो टस जितेर ब्याटिङ रोजेको पाहुना टोलीले दिएको १७३ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा पुरा गर्यो।
निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा वेस्ट इन्डिजले १७२ जोडेको थियो।
पाँच खेलको यस शृङ्खलाको पहिलो र अन्तिम खेलमा नेपाल विजयी भए पनि बाँकी तीन खेलमा पराजित भएको थियो। गत अप्रिल २७ बाट सुरु भएको शृङ्खलामा नेपाल ३-२ ले पछि पर्यो।
आशिफ र अनिलको अर्धशतक

तस्बिर स्रोत, CAN
नेपालको जितमा अनिल साह र आसिफ शेखले अर्धशतकको योगदान गरे।
१७३ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा ओर्लिएको नेपालका सुरुवाती ब्याटर कुशल भुर्तेल दोस्रो ओभरमा नै आउट हुन पुगे।
जम्मा ९ बल खोलेका उनले ३ चौकाको मद्दतले १३ रन जोडे। ओबेड मकोइको बलमा हेडेन वाल्सले उनको क्याच लिए।
त्यसपछि आएका अनिल साह र अर्का ओपनर आशिफ शेखले उत्कृष्ट साझेदारी गरे जुन जितका लागि निर्णायक बन्न पुग्यो।
कुल ३२ बलमा अर्ध शतक पुरा गरेका शेखले त्यसबेला सम्म ५ छक्का प्रहार गरिसकेका थिए। जम्मा ५१ रन जोडेका उनलाई मकोइले चौधौँ ओभरमा क्याच आउट गराएका थिए।
अनिल साहले सोहौँ ओभरमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरे। ४५ बल खेल्ने क्रममा ५८ रन बनाएका साहलाई मकोइले दयालमार्फत क्याच आउट गराएका थिए।
अनिल आउट भएपछि क्रिजमा आएका दिपेन्द्र सिंह ऐरी धेरै समय टिक्न सकेनन्। कुल ६ बल खेलेर ५ रन जोडेका ऐरी बाउन्ड्री प्रहार गर्ने प्रयासमा क्याच आउट भए।
१९ औँ ओभरमा मात्रै १८ रन जोडेका कुशल मल्लले नेपाली टोलीका लागि १८ बल खेल्दै ३७ रन जोडे। आक्रामक ब्याटिङ गर्दै उनले ३ छक्का र ३ चौका प्रहार गरेपछि नेपाली टोलीले एक ओभर बाँकी छँदै लक्ष्य पूरा गर्यो।
सागर र सोमपालको ३-३ विकेट

तस्बिर स्रोत, CAN
वेस्ट इन्डिजलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिए।
ढकालले दोस्रो ओभरको चौथो बलमा ११ रन जोडेका खदिम एलनलाई क्याच गराए। उनैले आठौँ ओभरमा वेस्ट इन्डिजका थप दुई विकेट लिएपछि पाहुना टोली दबावमा पर्यो।
आठौँ ओभरको पहिलो बलमा जोनसन चार्ल्सको प्रहारलाई ढकाल आफैँले क्याच गरे। तेस्रो बलमा लामो प्रहार गर्ने क्रममा मार्क डेल क्याप्टेन रोहित पौडेलबाट क्याच भए। त्यसबेलासम्म वेस्ट इन्डिजले ६० रन जोडेको थियो।
त्यसपछि क्रिजमा आएका पाहुना टोलीका क्याप्टेन रोस्टोन चेजले टोलीका लागि २४ बलमा ३३ रन जोडे। उनी १४औँ ओभरमा बलिङ गर्न आएका नेपालमा डेथ ओभर स्पेसलिस्ट अविनाश बोहराको बलमा सन्दीप जोराबाट क्याच भए।
क्याप्टेन रोस्टोन चेजसँग साझेदारी गरेका एलिक एथान्जले वेस्ट इन्डिजका लागि अविजित रहेर टोलीका लागि सर्वाधिक ४२ रन जोडे।
नेपालका तीव्र गतीका बलर सोमपाल कामीले टोलीका लागि अन्तिम तीन विकेट लिए। उनले १७औँ ओभरमा २३ रन बनाएका म्याथ्यू फोर्डलाई बाउन्ड्री नजिकै कुशल भुर्तेलबाट क्याच गराए। पुनः १९औँ ओभरको बलिङमा आएका कामीले दोस्रो बलमा फाबिअन एलेन र पाँचौँ बलमा गुडकेस मोटीको विकेट लिए।
सोमपालले सबैभन्दा कम रन खर्चिँदै चार ओभर बलिङ गर्दा तीन विकेट लिए। उनको ओभरमा वेस्ट इन्डिजको टोलीले १६ रन मात्रै जोड्यो।

तस्बिर स्रोत, CAN
पाँच खेलको शृङ्खला पाहुना टोली वेस्ट इन्डिज 'ए'ले यसअघि नै जितिसकेको छ। शृङ्खलाको उत्कृष्ट खेलाडीको अवार्ड नेपालका कप्तान रोहित पौडेलले पाए। पाँचमध्ये चार खेल खेलेका उनले २६५ रन जोडेका थिए।
नेपाली क्रिकेट अधिकारीहरूले यो खेललाई आगामी जुनमा हुने टी २० विश्वकपको पूर्वतयारीका रूपमा हेरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।




















