नेपाली क्रिकेट खेलाडीहरूले विश्वकप क्रिकेटको फाइनल खेलबाट के सिके?

विश्वकप क्रिकेट

तस्बिर स्रोत, Reuters

    • Author, निरञ्जन राजवंशी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published

अविजित विश्वकप यात्राको अन्तिममा भएको एक मात्र हारले उपाधि गुमाउन पुगेको भारत र लाखौँ घरेलु दर्शकहरूलाई शान्त बनाएर विश्वकप जित्ने अस्ट्रेलियाली कप्तानको भनाइका बीच चलेको विश्वकप क्रिकेट २०२३ को फाइनलमा धेरै थोक भयो।

अस्ट्रेलियाको जितको खुसीभन्दा भारतले घरेलु मैदानमा भोगेको हारको दुख धेरै थियो।

त्यो दुख भारतीय समर्थकहरूले मैदान भित्र र बाहिर पोखेको देखिएको थियो।

विश्वकप क्रिकेटको अति रोमाञ्चक तर एकपक्षीयरूपमा टुङ्गिएको उक्त फाइनलको चर्चा अझै सेलाएको छैन।

विश्वभरिका क्रिकेट प्रेमीहरूले हेरेको उक्त फाइनल हजारौँ नेपालीहरूका लागि पनि खास थियो।

अविनाश बोहोरा र रोहित पौडेल

कतिपय नेपाली समर्थकहरू भारतको 'पक्का फ्यान' थिए भने कतिपय भारत विरोधीहरू पनि देखिएका थिए।  

राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूले भने अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालाको उक्त फाइनललाई विशेष रूपले हेरिरहेका थिए।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल भन्छन्, "दबावमा कसरी खेल्नुपर्छ भन्ने कुरा अस्ट्रेलियाले सिकायो। उनीहरूको ब्याटिङको गहिराई विशेष थियो।"

अस्ट्रेलिया नै बलियो

फाइनल खेल दुवै टोलीको लागि दबावपूर्ण हुने गर्छ।

कप्तान पौडेलका अनुसार भारतले सोचेजस्तो ब्याटिङ गर्न सकेन।

अनि अस्ट्रेलियाले अनुमान गरेभन्दा बलियो रूपमा प्रस्तुत भयो।

उनले १३७ रन बनाएका अस्ट्रेलियाका ट्रेभिस हेडको प्रशंसा गर्दै भने, "महत्त्वपूर्ण खेलमा प्रदर्शन गर्नु सधैँ विशेष हुने गर्छ। "

भर्खरै मात्र काठमाण्डूको मूलपानी क्रिकेट मैदानमा भएको टी २० विश्वकप छनोटको मुख्य खेलमा कप्तान पौडेलले ३४ रनको अविजित पारी खेलेर नेपाललाई विश्वकपमा छनोट गराएका थिए।

रोहित पौडेल
तस्बिरको क्याप्शन, टी २० विश्वकप छनोटको मुख्य खेलमा कप्तान रोहित पौडेलले ३४ रनको अविजित पारी खेलेर नेपाललाई विश्वकपमा छनोट गराएका थिए

राष्ट्रिय टोलीका अर्का सदस्य अविनाश बोहोरालाई भारतीय कप्तान रोहित शर्मा आउट भएको मन परेको छैन।

उनी भन्छन्, "उनको बाउन्ड्री आइसकेको थियो। ग्लेन म्याक्सवेल फसाउनलाई ल्याएको हो भन्ने उनले बुझेकै थिए होलान, त्यस्तो बेला अर्को ठूलो शट हान्न जरुरी नै थिएन। एक दुई रन बटुल्नुपर्थ्यो।"

के. एल. राहुल र विराट कोहलीको साझेदारीमा बाउन्ड्री नआउनुले पनि अस्ट्रेलियालाई फाइदा भएको बोहोरा बताउँछन्। अनि भारतको एक्स्ट्रा रन पनि बढी भयो।

'लो स्कोरिङ म्याच' मा सुरु को २/३ ओभरमा धेरै रन गएपछि भारतको जित्ने चान्स नै भएन।  

अविनाश बोहोरा

अविनाश अस्ट्रेलियाको खेल योजनाबाट कायल छन्।

उनी भन्छन्, "प्याट कमिन्सको प्लान, रन रोक्नको लागि गरेको मेहनत गजबको थियो। सबैले योजना अनुसार खेले।"

डेथ ओवर बलिङ स्पेशलिस्टको रूपमा नेपाली क्रिकेटमा परिचित बोहोरा थप्छन्, "म अनुभव गर्न सक्छु, जब आफ्ना साथीहरूले फिल्डिङमा राम्रो गर्छन् नी, तब बलरको आत्मबल निकै बलियो हुन्छ। अस्ट्रेलियाले फिल्डिङबाट २०/३० रन जोगायो। विश्वकप फाइनलबाट सिक्नुपर्ने पाटो त्यो पनि हो।"

रन कम भयो

नीरा राजोपाध्याय
तस्बिरको क्याप्शन, नीरा राजोपाध्याय

राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्व कप्तान नीरा राजोपाध्याय विश्वकप फाइनल चलिरहँदा हङकङमा थिइन्।

हङकङमा भएको महिला टी २० शृङ्खलामा सहायक प्रशिक्षकका रूपमा त्यहाँ पुगेकी नीराले व्यस्तताका बीच पनि विश्वकप फाइनल हेर्न भने छुटाइनन्।

उनका अनुसार जसरी भारतले सेमिफाइनलसम्म खेल्दै आएको थियो, त्यो हिसाबमा फाइनलमा २४० रन च्याम्पियन बन्नका लागि पर्याप्त स्कोर थिएन।

उनी भन्छिन्, "तर अस्ट्रेलियाले अझ राम्रो खेलेको हो। खेलाडीहरूको मनोबल पनि उच्च थियो। बडि ल्याङवेज हेर्दा पनि अस्ट्रेलिया हाबी देखिएको थियो।"

उनका अनुसार सायद घरेलु दर्शकका अगाडि जित्नुपर्ने दबाब भारतीय खेलाडी माथि परेको हुनसक्छ।

राष्ट्रिय महिला टोलीकी बलिङ अलराउन्डर कविता कुँवर अस्ट्रेलियाकी फ्यान हुन्।

अहिले चोटका कारण हङकङ शृङ्खला गुमाएकी उनले अछाम घरमा बसेर विश्वकप फाइनलको मज्जा लिइन्।

"जस्तोसुकै परिस्थितिमा पनि आरामसँग विना दबाव खेल्नु पर्दो रहेछ भन्ने कुरा अस्ट्रेलियाका खेलाडीहरूले सिकाए," उनी भन्छिन्।

अस्ट्रेलियाका ओपनरहरूले सुरु मै खेल जिताउने गरी ब्याटिङ गरेको ठान्ने कुँवर भन्छिन्, "हामी ठूला खेलमा कहिलेकाहीँ दबावमा आउछौँ। त्यसले प्रदर्शनमा असर पर्ने गर्छ। तर अस्ट्रेलियाका खेलाडीहरूले लाखौँ भारतीय दर्शकका बीच कति मज्जाले खेल्यो। हेर्दा मज्जा लाग्यो।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।