विश्वकप क्रिकेटको फाइनलमा पुगेका भारत र अस्ट्रेलिया कस्तो स्थितिमा छन्

आइतवार भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेल हुने छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आइतवार भारत र अस्ट्रेलियाबीच विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल खेल हुने छ
    • Author, अभिजीत श्रीवास्तव
    • Role, बीबीसी संवाददाता
  • Published

विश्वकप क्रिकेट २०२३ मा कोलकाताको ईडन गार्डनमा खेलिएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलियाले तय गरेको यात्रा क्रिकेटमा एउटा भव्य पुनरागमनको घटना हो।

उक्त सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकी टोलीलाई मिचेल स्टार्क र जोस ह्याजलवुडले सुरुमै विचलित बनाइदिए। डेभिड मिलरले शतक बनाए। तर दक्षिण अफ्रिकी टोली २११ रनमै सीमित भएको थियो।

उक्त खेलको सबैभन्दा निर्णायक मोड जम्मा २४ रन जोडेको अवस्थामा दक्षिण अफ्रिकाको टोलीका शीर्ष चार ब्याटर आउट हुनु थियो। त्यसपछि दक्षिण अफ्रिकाको टोली पूर्ण रूपमा फिक्का साबित हुनपुग्यो।

एकातिरबाट डेभिड मिलरले इनिङ्सलाई सम्हालेको भए पनि दक्षिण अफ्रिकाले निकै कठिनतापूर्वक उक्त योगफल बनाएको थियो।

डेभिड वार्नर र ट्रेभिस हेडले तीव्र गतिमा रन बनाएको देख्दा अस्ट्रेलियाले खेल सहजै जित्ने ठानिएको थियो।

अस्ट्रेलिया

तस्बिर स्रोत, Getty Images

तर उनीहरूको साझेदारी भङ्ग भएपछि अस्ट्रेलियाले एकपछि अर्को गर्दै सात विकेट गुमायो।

दक्षिण अफ्रिकी स्पिनरहरूले अस्ट्रेलियालाई सजिलो गरी रन बनाउन दिएनन्। एक-एक रन जोड्न पनि अस्ट्रेलियाले निकै मेहनत गर्नुपरेको थियो।

अस्ट्रेलियाले यो विश्वकपमा सुरुका दुई खेल हारेको थियो। पहिलो खेलमा भारतसँग पराजित भएको अस्ट्रेलियालाई दोस्रो खेलमा दक्षिण अफ्रिकाले १३४ रनले हरायो।

तर त्यसपछि अस्ट्रेलियाले एउटा पनि खेलमा पराजित भएको छैन र लगातार आठ खेल जित्दै विश्वकपको फाइनलमा पुगेको छ।

अस्ट्रेलिया

तस्बिर स्रोत, Getty Images

कप्तान के भन्छन्?

खेलपछि अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले भने, “डगआउटमा बस्दा सजिलो होला जस्तो लागेको थियो तर केही घण्टा एकदमै चिन्ताजनक थिए। एकदमै ठूलो प्रयासबाट यो प्रतिस्पर्धा भव्य रह्यो। हामीले पिचमा राम्रोसँग स्पिन हुन्छ भन्ठानेका थियौँ।"

"ट्रेभिस हेड विकेट लिन सक्षम छन्। पूरै प्रतियोगितामा भिन्नाभिन्नै बलरहरूले योगदान दिइरहेका छन्।"

कमिन्सले आफूले भारतविरुद्ध फाइनल खेल्ने प्रतीक्षामा रहेको बताए।

“टोलीको लागि राम्रो कुरा यो हो कि हाम्रा केही खेलाडीहरूले पहिला पनि विश्वकपको फाइनल खेलिसकेका छन्। सन् २०१५ विश्वकपको फाइनल स्मरणीय थियो। अब अझै एउटा विश्वकप फाइनल, त्यो पनि भारत खेल्न हामी आतुर छौँ।"

दक्षिण अफ्रिकी टोलीका कप्तानले अस्ट्रेलियालाई बधाई दिँदै भने, “हामीले जुन तरिकाले सुरु गर्‍यौँ त्यो म्याचको निर्णायक बिन्दु थियो। उनीहरूको सबल आक्रमणले हाम्रो माथिल्लो क्रमलाई ध्वस्त बनाइदियो। हामीलाई पूर्ण रूपमा दबावमा राख्यो।”

‘प्लेअर अफ द म्याच’ घोषित ट्रेभिस हेडले भारतसँग हुने फाइनलमा भेट हुने भएपछि भने, “उनीहरूको आक्रमण गजबको छ।”

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र अस्ट्रेलिया

दक्षिण अफ्रिका

तस्बिर स्रोत, GETTY IMAGES

  • अस्ट्रेलियाको टोली विश्वकपको सेमिफाइनलमा कहिल्यै पनि दक्षिण अफ्रिकाबाट पराजित भएको छैन
  • सन् १९९९ को विश्वकप सेमिफाइनलमा खेलिएको म्याच बराबरी भएको थियो भने २००७ र २०२३ मा अस्ट्रेलियाले जितेको थियो
  • दक्षिण अफ्रिकाको टोली पाँच पटक एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुगे पनि एक पटक पनि फाइनलमा पुग्न सकेको छैन
  • विश्वकपको नकआउट चरणमा शतक बनाउने पहिलो दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर बनेका छन्। उनले सन् २०१५ को विश्वकपमा न्यूजील्यान्डविरुद्ध फाफ डुप्लेसीले बनाएको ८२ रनको कीर्तिमान भङ्ग गरेका थिए

भारतलाई तेस्रो पटक विश्वकप जित्ने अवसर

भारतले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि तेस्रो पटक जित्ने अवसर पाएको छ।

भारतीय टोलीले महेन्द्र सिंह धोनीको कप्तानीमा १२ वर्षअघि श्रीलङ्कालाई हराएर अन्तिम पटक विश्वकप उपाधि जितेको थियो।

पहिलो पटक उक्त प्रतिष्ठित उपाधि भारतले कपिल देवको नेतृत्वमा सन् १९८३ मा जितेको थियो। तर अस्ट्रेलियाको चुनौतीसमक्ष उपाधि हात पार्नु त्यति सहज भने हुने छैन।

भारतका कप्तान रोहित शर्मा

तस्बिर स्रोत, Getty Images

अस्ट्रेलियाले सेमिफाइनलमा दक्षिण अफ्रिकासँग आफूले लीग चरणको खेलमा १३४ रनले भोगेको पराजयको प्रतिशोध लियो।

यो प्रतियोगिताको पहिलो खेलमा अस्ट्रेलिया भारतबाट पराजित भएको थियो।

अब एक पटक फेरि यी दुई चिर प्रतिद्वन्द्वीहरू आइतवार फाइनलमा भिड्ने छन्।

अस्ट्रेलियासँग फाइनलमा हारिसकेको इतिहास

आठ पटक विश्वकपको फाइनलमा पुगेको अस्ट्रेलियाले पाँच पटक यो उपाधि हात पारेको छ।

यसपालि भारत चौथो पटक विश्वकपको फाइनलमा पुगेको छ। भारतले दुई पटकविश्वकप जितेको छ भने एक पटक उपविजेतामा चित्त बुझाउनुपरेको थियो। सन् २००३ को विश्वकपमा अस्ट्रेलियाले नै भारतलाई पराजित गरेको थियो।

त्यस बेला अस्ट्रेलियाले भारतलाई १२५ रनले हराएर विश्वकप हात पारेको थियो।

बिहीवार अस्ट्रेलियाले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्दा सामाजिक सञ्जाल एक्समा ‘2003 WC” ट्रेन्ड गर्न थालेको थियो।

कतिपय प्रयोगकर्ताले लेखेका छन्, “फाइनलमा अस्ट्रेलियालाई हराएर हामीले २००३ को फाइनलको हिसाब बराबर गर्ने छौँ।”

सन् २००३ को विश्वकप फाइनल अस्ट्रेलियाले जितेको थियो

तस्बिर स्रोत, GETTY IMAGES

तस्बिरको क्याप्शन, सन् २००३ को विश्वकप फाइनल अस्ट्रेलियाले जितेको थियो

एकदिवसीय खेलमा भारत अस्ट्रेलियाबीच कडा प्रतिस्पर्धा

एकदिवसीय खेलमा अस्ट्रेलियाविरुद्ध भारतको प्रदर्शन त्यति उत्साहवर्धक छैन।

दुवै टोली १५० पटक एकदिवसीय खेलमा भिडिसकेका छन् र अस्ट्रेलिया ८३ वटा जितसहित अगाडि छ। भारतले ५७ वटा खेल जितेको छ।

विश्वकपमा दुवै टोलीको १३ पटक भेट भएको छ। त्यहाँ पनि अस्ट्रेलिया ८-५ ले अगाडि छ।

भारतीय मैदानमा दुवै टोलीबीच कडा टक्कर हुने गरेको छ।

भारतमा खेलिएका ७१ वटा एकदिवसीय खेलमा दुवै टोलीले बराबर ३३ वटा खेल जितेका छन्।

यो वर्ष भएका सातवटा खेल हेर्ने हो भने चार खेल जितेर भारत केही अगाडि छ।

यो विश्वकपको कुरा गर्ने हो भने भारतको शीर्ष र मध्यक्रम निकै सबल सुदृढ देखिन्छ।

भारत र अस्ट्रेलिया एकअर्काका चिर प्रतिद्वन्द्वी हुन्

तस्बिर स्रोत, Getty Images

विराट कोहलीले यो विश्वकपमा सर्वाधिक ७११ रन बनाएका छन्। रोहित शर्माले ५५० रन र श्रेयस अय्यरले ५२६ रन बनाएका छन्।

अर्कोतर्फ अस्ट्रेलियाको तर्फबाट सर्वाधिक रन बनाएका डेभिड वार्नरले ५२८ रन बनाएका छन्। त्यसबाहेक ग्लेन म्याक्सवेल र मिशेल मार्शले दुई-दुई पटक शतक बनाए।

जम्मा छ म्याच खेलेका भारतका मोहम्मद शमीले २३ विकेट लिएका छन्। उनीभन्दा ठिकपछाडि अस्ट्रेलियाका स्पिनर एडम जाम्पा छन्।

जसप्रीत बुमराहले १८ विकेट, रवीन्द्र जडेजाले १६, कुलदीप यादवले १५ र मोहम्मद सिराजले १३ विकेट लिइसकेका छन्। अस्ट्रेलियाका जोस ह्यजल्वुडले १४ र मिचेल स्टार्कले १३ विकेट लिइसकेका छन्। उनीहरू जस्तोसुकै परिस्थितिमा विकेट लिन सक्छन्।

क्रिकेट समर्थकहरूले यो विश्वकप फाइनलमा कडा प्रतिस्पर्धा हुने आकलन गरिरहेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।