नेपाल नामिबियासँग लगातार दोस्रो पटक पराजित

क्रिकेट

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, टस जितेर नामिबियाले पहिले नेपाललाई ब्याटिङ् गर्न पठाएको थियो
Published

कीर्तिपुर क्रिकेट मैदानमा टस हार्नुको पीडा प्रत्येक टोलीले बेहोरिरहेको छ।

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधवार नेपालले नामिबियासँग फेरि एकपटक पहिले टस र लगत्तै खेलमा पराजय बेहोर्‍यो।

नामिबियासँगको हारको प्रकृति पनि उस्तै थियो।

अघिल्लो हप्ता नेपालले पहिले ब्याटिङ गरेर १३२ रन बनाएको थियो भने बुधवार अलि बढी १६८ रन बनाउन सक्यो।

५० ओभरको खेलमा यति मध्यम स्कोर जोगाउन मुस्किल हुने गरेको पाइन्छ।

नेपाली बलरहरूले दोस्रो इनिङ्समा विपक्षीलाई रोक्न भरपुर प्रयास गरेका थिए।

तर सफल हुन सकेनन्।

१६८ रनमा समेटिएको नेपाल विरुद्ध नामिबियाले ४० ओभरमा लक्ष्य पूरा गर्दै २ विकेटको जित हात पार्‍यो।

यो नतीजासँगै नामिबियाले नेपाल विरुद्धको खेलबाट ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

नेपालले सुरुका दुई खेलाडीलाई फटाफट पवेलियनको बाटो देखाइदिएपछि आरम्भमा नेपालको पक्षमा केही आशा देखिएको थियो।

तर सामान्य लक्ष्यलाई पूरा गर्ने क्रममा नामिवियाका कप्तान जेरार्ड एरास्मुसले ५२ रनको महत्त्वपूर्ण रन तथा मिचेल भान लिङ्गेनले ३१ रन बनाएपछि नेपाल खेलमा फर्कन सकेन।

त्यस्तै जोनाथन स्मिथले केही समय धरमराएको नामिबियाको टोलीलाई थाम्दै खेललाई सहज जिततिर डोर्‍याउन सफल भए।

उनले अविजित ३४ रन बनाए।

ब्याटिङ सङ्घर्ष

कीर्तिपुरको बिहानी पिचमा ब्याटरहरूलाई रन जोड्न मुस्किल हुने गरेकोले टस जित्ने कप्तानले सुरुमै विपक्षीलाई ब्याटिङ गर्न निम्त्याउँदै आएका छन्।

पछिल्लो तीन खेलमा खेलाइएको पिचमा नभइ बुधवार नयाँ पिचमा खेलाइएको थियो।

बुधवार पहिलो ब्याटिङ पाएका नेपाली ब्याटरको स्थिति पनि सङ्घर्ष मै बित्यो।

फलस्वरूप टोली ३७.१ ओभरमा १६८ रनमा अलआउट हुन पुग्यो।

ओपनर आशिफ शेखले विपक्षी बलरविरुद्ध भिड्दै अर्ध शतकीय पारी खेले, तर आशा गरिएका थुप्रै खेलाडीहरू भने खुल्न सकेनन्।

ओपनर कुशल भुर्तेल सातौँ ओभरमा १८ रन बनाएर आउट भएपछि लगातार ब्याटर आउट हुने क्रम सुरु भएको थियो।

उनी आउट भए लगत्तै २ बल खेलेर अनिल शाह पनि पवेलियन फर्किए। अनिलले खाता खोल्न सकेनन्।

अनिलले जस्तै देव खनाल पनि खाता खोल्न असफल भए।  

क्रिकेट

तस्बिर स्रोत, CAN

तस्बिरको क्याप्शन, पहिले ब्याटिङ् गर्दा नेपालले मध्यम स्तरको १६८ रनमात्र बनाएको थियो

आसिफले धैर्यपूर्वक खेल्दै ५८ रनको अर्धशतकीय पारी खेले। उनले कुशल मल्लसँग चौथो विकेटका लागि ५७ रनको साझेदारी पनि गरे।

आसिफ २० औँ ओभरमा आउट भएका थिए।

त्यति बेला टोलीको स्कोर जम्मा १०० रन पुगेको थियो।

उनले ६४ बल खेलेर ८ चौका र १ छक्का प्रहार गरे।

९ बल खेलेका कप्तान रोहित पौडेलले पनि खाता खोल्न सकेनन्।

कुशल मल्लले ३६ रन र भीम सार्कीले २६ रन बनाएर नेपालको इनिङ्स अघि बढाएका थिए।

नेपालका भरोसायोग्य खेलाडीका रूपमा चिनिएका दीपेन्द्र सिंह ऐरी पनि चल्न सकेनन्। १८ बलको सामना गरेका उनले ६ रन मात्र बनाए। कुनै चौका र छक्का प्रहार गर्न सकेनन्।

सोमपाल कामीले ४ रन र करण केसीले १२ रन बनाउन सके। ललित नारायण राजवंशीले खाता खोल्न सकेनन्।  

नामिबियाबाट जान निकोल लोफ़्टी इटोन र बेर्नार्ड स्कोल्जले समान ४-४ विकेट लिए ।

पछिल्ला खेलहरूमा प्रभावकारी नदेखिएका गुलशन झा लाई प्रशिक्षक मोन्टी देशाईले बेन्चमा राख्दै बुधवारको खेलमा करण केसीलाई टिममा समावेश गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।