'मिनी संसद्‌'मा सत्तापक्षकै सांसदहरू दुई कित्तामा

संसदीय समिति

तस्बिर स्रोत, Nepal Photo Library

    • Author, शरद केसी
    • Role, बीबीसी न्यूज नेपाली
  • Published
  • पढ्ने समय: ३ मिनेट

'मिनी संसद्' भनिने सङ्घीय संसद्को एउटा समितिमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच वादप्रतिवाद भएको छ।

प्रहरीमा पोसाक खरिदमा भ्रष्टाचार भएको भन्ने उजुरीबारे छलफल गर्न आयोजित सार्वजनिक लेखा समितिको बैठकमा उनीहरू विभाजित भएका हुन्।

उक्त बैठकमा गृह मन्त्रालयका सचिव तथा सशस्त्र र नेपाल प्रहरीका प्रमुखहरू पनि सहभागी थिए।

आमन्त्रित गरिए पनि गृहमन्त्री सुधन गुरुङ उपस्थित थिएनन्।

रास्वपाकै सांसदले उजुरीलाई गम्भीर रूपमा लिनुपर्ने र आरोप लागेका उच्च अधिकारीहरू छानबिनको टुङ्गो नलाग्दासम्म जिम्मेवारीबाट अलग हुनुपर्ने भनी राखेको धारणाले विवाद निम्त्याएको हो।

रास्वपा सांसद खगेन्द्र सुनारले गृहसचिव र प्रहरीप्रमुखहरूमाथि आरोप लागेकाले जिम्मेवारीबाट अलग हुन सुझाव दिए।

"नैतिकता छ भने तपाईँहरूले छोड्नुपर्छ, कानुनी राज्य छ भने तत्काल बर्खास्त गरिनुपर्छ, अहिल्यै," अहिलेका गृहमन्त्रीले आफूमाथि आरोप लागेपछि राजीनामा दिएको उल्लेख गर्दै उनले भने, "तत्काल छानबिन समिति गठन गर्नुपर्‍यो, आरोपितहरूलाई जिम्मेवारीबाट बाहिर राखेर छानबिन गरिनुपर्छ।"

उजुरीमा ठेकेदार चयन प्रक्रियादेखिनै अनियमितता गरिएकोलगायतका विषयमा "निकै सूक्ष्म अध्ययन गरेर र जानेर" विवरणहरू उल्लेख गरिएको सांसद सुनारले ठम्याइ सुनाए।

"सुन्तलामा भिटामिन पाइन्छ, अण्डामा भिटामिन पाइन्छ, जुत्ता र मोजा खाँदा पाइने भिटामिन के हो?" उनले आरोप लगाए, "एउटा गरिबको छोरा सिपाही भएर आएको छ, उसको जुत्ता खाइदिने, मोजा खाइदिने, कट्टु खाइदिने, उसका लुगा खाइदिने, यस्ता कुराहरू बारम्बार आइरहेका छन्, (छानबिनको निम्ति) समिति बन्नुपर्छ।"

उनले समितिका सभापतिलाई बर्दी लगाएर छानबिन नहुने कुरा लेखेर दिन आग्रह पनि गरेका छन्।

दुई भूतपूर्व प्रहरी अधिकृतको प्रतिवाद

प्रहरी महानिरीक्षक दानबहादुर कार्की

तस्बिर स्रोत, RSS

रास्वपाका दुई जना अन्य सांसदले नाम नलिएरै आफ्नै दलका सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका थिए।

रास्वपा सांसद विक्रम थापाले आमन्त्रित गृहसचिव र प्रहरीप्रमुखको मर्यादाको ख्याल गर्नुपर्ने भन्दै त्यसअनुसारको व्यवहार गर्नुपर्ने धारणा राखेका छन्।

भ्रष्टाचार गर्नेलाई सजाय हुनुपर्ने तर समितिमा उजुरीकै आधारमा दोषीजस्तो व्यवहार गर्न नहुने उनको भनाइ छ।

"तपाईँहरू अहिल्यै दोषी हो, राजीनामा दिनूस् भन्ने खालको… हामी जो माननीय छौँ, यसको पनि गरिमा रहँदैन जस्तो लाग्छ," सांसद थापाले भने, "कसैको इज्जत, सम्मान र मर्यादा गिराएर होइन.. छानबिन गरौँ, उहाँहरू दोषी हो भने कानुनले नै दण्ड दिन्छ।"

उनीजस्तै अर्का अवकाशप्राप्त प्रहरी अधिकृत गोविन्द पन्थीले पनि सांसद सुनारको अभिव्यक्तिलक्षित असन्तुष्टि जनाए।

उनले उजुरीका कतिपय विषय "अविश्वसनीय" रहेको बताए। सुशासनका निम्ति कतिपय उजुरीहरू फलदायी पनि हुने बताउँदै उनले भने, "तर सुरक्षा निकायको संवेदनशील विषयमा समितिमा प्रारम्भिक चरणमै सुरक्षा निकायका प्रमुखहरूलाई बोलाई तँ नै अपराधी होस्, राजीनामा हुनुपर्छ, निलम्बन गरौँ भन्ने कुरा दुःखद लाग्छ।"

उनले उजुरी र आरोपहरूबारे प्रारम्भिक छानबिन गरेर मात्रै आरोपितहरूलाई बोलाएर उनीहरूको जवाफ लिनुपर्ने बताए।

अन्य सांसदहरूले केके भने?

रास्वपाकै अर्का सांसद प्रेमलाल चौधरीले पनि छानबिन समिति बनाउन आग्रह गरेका छन्। तर समितिले नै दोषी ठहर गर्न नहुने बताउँदै उनले भने, "उहाँहरूलाई सीधै आरोप लगाउन मिल्दैन, (दोषी) प्रमाणित गर्ने हाम्रो निकाय होइन, उजुरी आइसकेपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरौँ र छिटो टुङ्ग्याऔँ।"

रास्वपाकै अर्का सांसद रुकेश रञ्जितले पनि आरोप प्रमाणित गर्ने निकाय आफूहरू नभएको बताए। "निष्कर्षमा पुग्न थप अनुसन्धान आवश्यक देख्छु, गहन अध्ययन गरेर मात्रै निर्क्योलमा पुग्दा राम्रो हुन्छ," उनको भनाइ छ।

रास्वपाकै अर्का सांसद गणेश धिमालले बैठकमा सहभागी उच्च अधिकारीहरूलाई आरोपित गर्ने उद्देश्य नरहेको बताए।

"तर हिजोका दिनमा केकसरी चल्थ्यो, अबका दिन त्यसरी चल्दैन, एक रुपैयाँ पनि भ्रष्टाचार गर्न पाइँदैन, उपसमिति बनाएर हुन्छ कि लेखा परीक्षण गरेर अगाडि बढ्नुपर्छ," उनले बताए।

रास्वपाकै अर्का सांसद मनीष झाले उजुरीकर्ताको एउटा उद्देश्य छानबिन होस् भन्ने र अर्को कतै व्यक्तिगत पनि हो कि भन्ने आशङ्का उत्पन्न भएको बुझाइ सुनाए।

"नागरिकले तिरेको एक एक रुपैयाँको प्रयोग सही तरिकाले भइरहेको छ कि छैन भन्ने जाँच गर्ने हाम्रो कर्तव्य हो, निष्कर्षमा पुग्न थप अनुसन्धान सिफारिस गरियोस्," सांसद झाको माग छ।

अन्तिममा सांसद सुनारको आक्रोश

सांसद सुनार

तस्बिर स्रोत, Khagendra Sunar/FB

आफूलक्षित जवाफ सुनेपछि अन्त्यमा सांसद खगेन्द्र सुनारले "एक मिनेट" भन्दै समय लिएर आफ्नो असन्तुष्टि जनाए।

"एक जनाले बोलेको विषयमा सबै माननीयले दोहरी फर्काइरहने हो भने, सभापतिले रूलिङ गर्ने हो," उनले भने, "एउटा सांसदले अर्को सांसदलाई भन्ने होइन, आरोपितको प्रवक्ता भएर बोल्ने होइन।"

भ्रष्टाचारजस्तो आरोपमा समितिमा छलफल भइरहेको बताउँदै उनले पीडितका विरुद्धमा छलफल भएको टिप्पणी गरे। उनले पीडितको पक्षमा कुरा गर्दा एउटा सांसदले अर्को सांसदलाई अपमान गर्ने ढङ्गबाट छलफल भएको बताए।

"पहिले के थियौँ, हामी कहाँबाट आयौँ, कसरी आयौँ, त्यो पहिलेको कुरा हो," उनले भने, "छलफलको विषय ध्यान पुर्‍याएर ल्याउनुपर्‍यो, ल्याइसकेपछि छलफल तितो हुन्छ, मुख मिठो बनाएर छलफल गर्न पाइँदैन, सुनपानी हाल्ने काम हुँदैन।"

उनले समितिका सभापतिलाई छलफललाई व्यवस्थित गर्न भन्दै अन्यथा आफू समितिमा नबस्ने बताउँदै बैठकबाट निस्किए।

तत्कालै नेकपाका सांसद वर्षमान पुनले आरोप लगाएर जान नहुने भन्दै सांसद सुनारलाई लक्षित गरे, "माननीयज्यू बस्नुपर्छ, आरोपित गरेर भाग्न पाइँदैन।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।