सियरा लिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनामा कैयौँ को मृत्यु

Crowds looking at flames

तस्बिर स्रोत, President Julius Maada Bio/ Twitter

Published

एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग सियरा लिओनको राजधानी फ्रीटाउनमा जुझेर विस्फोट हुँदा कम्तीमा ८४ जनाको मृत्यु भएको छ।

आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधनमा सल्किएको थियो।

स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि नराम्ररी डढेका शवहरू देखिन्छ।

राष्ट्रपति जुलियस मादा बायोले 'दुखान्तकारी आगलागी र मानिसको ज्यान गएका कारण आफूलाई गहिरो दुख लागेको' बताएका छन्।

जलेका कारहरू

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, आफ्ना सवारी साधनमा फसेका कारण कैयौँले ज्यान गुमाउन पुगेका थिए

ट्वीट गर्दै राष्ट्रपतिले पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने बताएका छन्।

फ्रीटाउनका मेयर वाइभोन अकि सवेरले 'त्रासदीपूर्ण' तस्बिर देखेको भन्दै १०० भन्दा बढीको ज्यान गएको बताए।

शवगृहमा ९० भन्दा बढी शवहरू पुगेको र फ्रीटाउन वरिपरिका स्वास्थ्यकेन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ।

विस्फोट सहरको वेलिंगटन क्षेत्रको व्यस्त चोइथ्राम सुपर मार्केट बाहिरको एक चोकमा शुक्रवार करिब दश बजे भएको बताइएको छ।

एक रिपोर्टका अनुसार मानिसहरूले भरिएको बस पूर्ण रूपमा जलेको छ। जसका कारण घटनास्थल वरपरका पसलहरू समेत आगोको ज्वालाका कारण प्रभावित छन्।

सियरा लिओनको राष्ट्रिय प्रकोप व्यवस्थापन संस्थाका प्रमुख ब्रिमा बुरेह सेसेले स्थानीय सञ्चार माध्यमसँग "भयानक दुर्घटना" भएको बताइन्।

एक लाखभन्दा बढी मानिस बसोबास गर्ने यस बन्दरगाह सहरमा, पछिल्ला वर्षहरूमा निकै गम्भीर प्रकोपहरूको सामना गरेको छ।

नक्सामा सियरा लिओन।

गत मार्चमा सोही सहरको एउटा बस्तीमा भीषण आगलागी हुँदा ८० जना भन्दा बढी व्यक्ति घाइते भएका थिए। घटना लगत्तै करिब ५ हजार मानिस विस्थापित हुनु परेको थियो।

त्यस्तै सन् २०१७ मा भारी वर्षापछि आएको बाढीमा परेर एक हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो। बाढीले पछि सहर प्रभावित पारेको थियो जसका कारण ३ हजार मानिस घरविहीन भएका थिए।